काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष निर्माण उद्योग असहज अवस्थामा रहेको अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको हो ।
सार्वजनिक खरीद ऐन बमोजिम पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेशन पेश्की नपाउँदा राज्यको आपूर्ति क्रममै समस्या आई समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको अध्यक्ष सिंहले बताए । निर्माण व्यवसायीको ६० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी नभएकोतर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण गराउँदै उनले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । मूल्यवृद्धिले साना निर्माण व्यवसायी बढी मारमा परेको भन्दै उनले महासंघको हालै सम्पन्न २४औं साधारणसभाबाट पारित घोषणापत्र बारे मन्त्री महतलाई जानकारी गराएका थिए ।