२ अर्ब डलर पूँजीकरण भएको रकेट कम्पनी 'भर्जिन अर्बिट' धरासयी, 'बैंकरप्ट्सी' सुरक्षा माग्दै अदालतमा

काठमाडौं । बेलायतका अर्बपति व्यापारी रिचर्ड ब्रान्सनको रकेट कम्पनी 'भर्जिन अर्बिट' धराशयी भएको छ । कम्पनीले अमेरिकामा bankruptcy protection माग्दै अदालतमा आवेदन दिएको छ । जनवरीमा बेलायतमा कम्पनीको एउटा रकेट प्रक्षेपण असफल भएपछि सोबाट बौरिन आवश्यक लगानीको जोहो गर्न नसक्दा कम्पनी अदालती संरक्षणमै जानु पर्ने स्थितिमा पुगेको हो । ब्रान्सनको ७५ प्रतिशत स्वामित्व रहेको कम्पनीले आफ्नो सबै सम्पत्ति बेच्न खोज्दै अमेरिकाको डेलावेयर जिल्लाको bankruptcy court मा अदालती संरक्षणको लागि आवेदन दर्ता गराएको छ । गएको वर्ष सेप्टेम्बर ३० सम्ममा कम्पनीको कूल सूचिकृत सम्पत्ति २४ करोड ३० लाख डलर थियो भने कूल कर्जा १५ करोड ३५ लाख डलर थियो । रकम अभावमा कम्पनीले करीब एक साता अघिदेखि अधिकांश सञ्चालन ठप्पै पारेको थियो । कम्पनीले गएका हप्ता मात्रै झन्डै ८५ प्रतिशत कर्मचारीलाई कामबाट निकालेको थियो । जनवरीमा बेलायतको क्राउनवालबाट एउटा स्याटलाइट प्रक्षेपण गर्ने प्रयास गरेको थियो ।  तर सो रकेट पृथ्वीको अक्षमा पुग्दै नपुगी झर्यो । बेलायतको अन्तरिक्ष अन्वेषणमा कोशे ढुंगा बन्ने अपेक्षा गरिएको सो मिसन असफल मात्रै भएन अन्तरिक्ष यात्रामा आशाको रुपमा हेरिएको कम्पनी नै धराशयी बन्यो । गएको वर्ष नोभेम्बरदेखि मार्चको बीचमा ब्रान्सनको भर्जिन ग्रुपले कम्पनीलाई ५ करोड डलर उपलब्ध गराएका थिए ।  सोमवार बजार बन्द हुँदा खेरि भर्जिन अर्बिटको market cap ६ करोड ५० लाख डलर थियो । यो दुई वर्ष अघिको तुलनामा निकै कम हो । त्यति बेला कम्पनीको बजार पूँजीकरण २ अर्ब डलरभन्दा धेरैको थियो । ब्रान्सनले सन् २०१७ मा भर्जिन ग्यालेक्टिकको एकाईलाई छुट्याएर भर्जिन अर्बिट खोलेका थिए ।  के हो बैंकरेप्सी प्रोटेक्शन ? कुनै कम्पनीले आफ्नो सेवा सञ्चालन गर्न सकेन वा कर्जा चुक्ता गर्न असक्षम भयो भने त्यस्ता व्यवसाय वा कर्जाबाहकले अदालतमा Chapter 7 वा Chapter 11 का लागि आवेदन दिन सक्छन् । अघिल्लोमा व्यवासयको सञ्चालन नै बन्द गरेर ट्रष्टीले सो कम्पनीको सबै सम्पत्ति बेचेर त्यसबाट आएको रकम कर्जादाताहरुलाई चुक्ता गरिदिन्छन् ।  बाँकी रहेको रकम कम्पनी धनीले फिर्ता पाउँछ । chapter 11 मा भने व्यवसायको नियन्त्रण व्यवसायीकै हातमा हुन्छ । यसको निरीक्षण अदालतले गर्छ । यसमा कम्पनीको पुनःसंरचना हुन्छ वा यसलाई च्याप्टर ७ मा लगिन्छ वा कम्पनी खारेज नै हुन्छ ।