म्याग्दीका लेकाली क्षेत्रमा धान रोप्ने चटारो

म्याग्दी । तीव्ररूपमा फैलिएको कोरोना सङ्क्रमण र यसलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरंजा, गौश्वारा, सिम लगाएतका सिंचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो साताको सुरुवातदेखि नै रोपाइँ शुरु भएको हो ।   म्याग्दीको शहरी क्षेत्र भन्दा बढी ग्रामिण क्षेत्रहरु अहिले कोरोना सङ्क्रमणको चपेटामा  परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषकले नाक,मुखमा मास्क र खल्तीमा सेनिटाइजर सहित धान रोप्न व्यस्त भएका हुन् । निषेधाज्ञामा सहरबजारसँगै ग्रामिण क्षेत्र  समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवाहलो र गोरुको विकल्पमा ट्याक्टरले जोतेर हिल्याइरहेको छ । जेठ महिनाको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाई गरिरहेका छन् । कोरोनाको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिए । हरेक बर्ष यस क्षेत्रमा सबैभन्दा अगाडी असारे धान रोपाई हुने गरेको छ ।  जिल्लाभर यो बर्ष गतबर्ष भन्दा अगाडी नै धान रोपाई हुने अनुमान गरिएको छ ।  यता म्याग्दीमा हाल ४ सय ९६ जना सक्रिय कोरोना संक्रमति छन् भने कोरोनाका बिरामीमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना हुनेको संख्या समेत धेरै भएपनि निषेधाज्ञा (लकडाउन) मा आफ्नो खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन् । कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । कोरोनसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइदैन भने मास्क र सेनिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) लम्बाएको छ ।