काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सिभिल क्यापिटलले बुधवार साँझ सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ९६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले साउन २३ देखि साउन २६ गतेसम्म सर्वसाधारणमा उक्त आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र कुल १३ लाख ६४ हजार ३५३ जना आवेदकहरूले कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ । कुल आवेदकहरूमध्ये १३ लाख ५६ हजार ८३६ जनाको आवेदन मात्र रितपूर्वक प्राप्त भएको हो । रितपूर्वक नभएका ७ हजार ५१७ जनाको आवेदन रद्द भएको जानकारी समेत विक्री प्रबन्धकले गराएको छ ।
रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा भाग्यमानी ९ लाख ६० हजार जना आवेदकले मात्र १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ विक्री गरेको हो ।
सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो ।
कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गरेको हो । यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिएको छ ।
हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी २ अर्ब ८० करोड रुपैयाँ छ । कम्पनीको सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ कायम भएको छ । संस्थापकतर्फ ७० प्रतिशत शेयर कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।
जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम कम्पनीले पनि चालू आर्थिक वर्ष ०८०/८१ भित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । थप १ अर्ब पूँजी कम्पनीले बोनस शेयरमार्फत संकलन गर्ने देखिन्छ ।