विकासोन्मुख देशहरूमा मानव संसाधन

विगत दुई दशकदेखि मानव संसाधन व्यवस्थापनको चर्चा र प्रयोग बढ्दो छ । अन्तरराष्ट्रिय मानव संसाधन व्यवस्थापन र रणनीतिक मानव संसाधन व्यवस्थापनसहित नयाँ अनुसन्धान क्षेत्रहरू खोलिएका छन् । औद्योगिक विकास भएका देशहरूमा मानव संसाधन व्यवस्थापनलाई ज्ञानको सम्पत्तिको रूपमा ग्रहण गरिन्छ । तर, विपन्न राष्ट्रहरूमा मानव संसाधन व्यवस्थापनको गतिशीलताको बारेमा जानकारी दुर्लभ नै ठानिन्छ ।  एक देशमा मानव संसाधन व्यवस्थापनका लागि बनाइएका रणनीतिहरू अर्को मुलुकमा  बेकार वा अप्रासांगिक हुन सक्छन् । विकासोन्मुख देशहरूमा शिक्षाविद् र व्यवसायीहरूले मानव संसाधनलाई कसरी  व्यवस्थित गर्न सकिन्छ भनी बुझ्न जरुरी छ । नीति निर्माता र अनुसन्धानकर्ताहरूलाई महत्त्वपूर्ण जानकारी दिएर प्राज्ञिकहरूले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । विकासशील देशहरूमा मानव संसाधनको व्यवस्थापनसँग सम्बन्धित विभिन्न कठिनाइहरूलाई सहज पार्न विद्यार्थीहरूलाई दक्ष बनाउन आवश्यक छ । हाल अधिकांश विकासोन्मुख राष्ट्रहरूमा सामाजिक र सांस्कृतिक मूल्यहरू, धार्मिक विचारहरू आर्थिक शक्तिबाट प्रभावित छन् । भ्रष्टाचार र लालफित्तशाहीलाई बढावा दिने आन्तरिक श्रम बजारहरूको परिणाम स्वरूप संगठनात्मक कार्यसम्पादनमा असर परेको छ । त्यसैले विकासोन्मुख राष्ट्रहरूमा मानव संसाधन प्रणाली अब तर्कसंगत, वस्तुनिष्ठ र व्यवस्थित रोजगार प्रणालीसँग मिल्नुपर्छ । उत्पादकत्वमा योगदान दिएर देशको अर्थतन्त्रमा मानव संसाधनले महत्त्वपूर्ण भूमिका खेल्छ । शिक्षा, तालिम र स्वास्थ्य सेवा सबै मानव पूँजीमा लगानी गर्ने र फिर्ता दिने माध्यम हुन् । मानव संसाधन विकासले मानव पूँजी निर्माण गरेर देशको प्रतिव्यक्ति आय बढाउन सक्छ । ज्ञान हस्तान्तरणले कामदारको उत्पादकत्व बढाउन सक्छ । मानवसंसाधनले कर्मचारी र प्रबन्धकहरूको लागि स्थिरता र खुलापन प्रदान गरेर सकारात्मक संगठनात्मक संस्कृति प्रवर्द्धन गर्न मद्दत गर्दछ । डुन्निङ (२००६) का अनुसार अन्तरराष्ट्रिय व्यापार अनुसन्धानले मुख्यतया संस्था र राष्ट्रको भौतिक सम्पत्तिहरूमा ध्यान केन्द्रित गर्दछ तर  व्यवसाय र राष्ट्रहरूको मानव वातावरणलाई बेवास्ता गरेको पाइन्छ । सिर्जनात्मकताले नवप्रवर्तनको नेतृत्व गर्दछ । मानव सम्पत्ति (अनुभव, शीप, र कर्मचारीहरूको ज्ञान) र ती सम्पत्तिहरू दिइएको ठाउँमा राखिएका सीप र क्षमताहरूलाई मानव वातावरणको रूपमा परिभाषित गरिएको छ ।    सरकार साथै  कम्पनीले कसरी आफ्नो मानव संसाधनको व्यवस्थापन गर्दछ त्यसैमा  यसको सफलता निर्भर हुन्छ । मानवीय वातावरणको पक्षलाई स्वीकार गर्न नसक्ने कम्पनीहरूको अस्तित्वमा नै प्रश्न चिन्न लाग्न सक्छ । मानव संसाधन व्यवस्थापनलाई व्यापारका लागि प्रतिस्पर्धात्मक लाभको रूपमा धेरै अध्ययन गरिएको छ । सरकारी क्षेत्रमा यसको महत्त्वलाई अझै स्वीकार गर्न सकिएको छैन । सरकारी कार्यालयहरूमा हुने बेथितिलाई मानव संसाधनको प्रविष्टिले निकै हदसम्म समाधान गर्न सक्छ । प्रभावकारी स्रोत व्यवस्थापनले प्रतिस्पर्धात्मक फाइदाहरूमा योगदान पुर्‍याउँछ । परिणामस्वरूप संगठनले आफ्नो उद्देश्यमा सफलता प्राप्त गर्छ ।   अनुसन्धानका अनुसार विभिन्न अन्तरसम्बन्धित एचआरएम अभ्यासहरू लागू गर्नाले कम्पनीलाई बहुआयामिक सफलतातर्फ लग्न सकिन्छ । भर्ती, छनोट, तालिम, कार्यसम्पादन व्यवस्थापन र भुक्तान यसमा समावेश गरिएका केही विधि हुन् । एचपीडब्लुले कर्मचारी प्रतिबद्धता र संगठनको लक्ष्यहरूमा संलग्नता बढाएर समग्र संगठनात्मक कार्यसम्पादनमा चमत्कारपूर्ण  सुधार गर्दछ । एचपीडब्लुले सामान्य मानव संसाधन रणनीतिहरू भन्दा राम्रो परिणाम दिन्छ । मानव संसाधन र संगठनका अन्य व्यावसायिक एकाइहरूलाई छुट्टै संस्थाको रूपमा व्यवहार गर्नुको सट्टा एचपीडब्लुले    एकीकृत व्यापार प्रक्रियाहरू विकास गर्न प्रयास गर्दछ । प्रबन्धकहरू र कर्मचारीहरूलाई एचपीडब्लु       अन्तर्गत समग्र रूपमा संगठनको लागि पारस्परिक रूपमा  लाभदायक तरिकामा सहयोग गर्न प्रोत्साहित गरिन्छ । कर्मचारीको  मनोबल र उत्प्रेरणामा यसको ठूलो भूमिका हुन्छ भन्ने अध्ययनले देखाएको छ ।   भूमण्डलीकरणले जनसांख्यिकी विविधतालाई विस्तार गरेको छ । नागरिक सेवाले यो बढ्दो विविधतालाई प्रतिनिधित्व गर्न सक्दैन । विभिन्न कर्पोरेशनहरूले  आफूले सेवा गर्ने वातावरणमा भएका परिवर्तनहरू पार गर्ने सन्दर्भमा के हासिल गर्न चाहन्छ भन्ने कुरामा निर्भर गर्दै आन्तरिक र बाह्य दुवै भर्ती दृष्टिकोणहरू प्रयोग गर्न सक्छ । संगठनले काम गर्ने वातावरण स्थिर नभएको कारण भर्तीलाई व्यवसायको निरन्तर मागहरूसँग मिल्ने गरी अद्यावधिक गरिनुपर्छ । यद्यपि यसले एक कम्पनीको लागि काम गर्दछ अर्कोको लागि नगर्न पनि सक्छ । कम्पनीहरू, विशेष गरी सार्वजनिक क्षेत्रले भर्ती रणनीति विकास र कार्यान्वयन गर्दा उनीहरूको सञ्चालन वातावरण र वाञ्छित अन्तिम लक्ष्यहरू सावधानीपूर्वक जाँच गर्नुपर्छ । सिंगापुर एउटा यस्तो देश हो जसको सार्वजनिक क्षेत्र बलियो छ । उच्च वर्गका मानिसहरूलाई भर्ती गर्ने, प्राप्त गर्ने र राख्ने क्षमताले यसलाई सार्वजनिक क्षेत्रहरूमा प्रतिस्पर्धात्मक लाभ दिएको छ । मानव संसाधनको उचित व्यवस्थापनबाट कसरी देशले लाभ लिन सक्छ भन्ने उदाहरण सिंगाापुरबाट लिन सकिन्छ । विविध भर्ती रणनीतिहरूद्वारा सार्वजनिक क्षेत्रमा शीर्ष व्यक्तिहरूलाई आकर्षित गर्नु सिंगापुरको क्षमता हो । एच्पीडब्लुको उचित महत्त्वलाई बुझी त्यसै अनुसार देशको मानवीय संसाधनलाई व्यवस्थापन गर्न सकेको कारण आज त्यो देश सबैको लागि उदाहरणीय बन्न सम्भव भएको हो । भर्ती प्रकृया निःसन्देह मानव संसाधन प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण पक्षहरू मध्ये एक हो । सही व्यक्तिहरू नभईकन कुनै पनि कुरा प्राप्त हुँदैन ।  अर्थात्, यदि व्यक्तिको छनोट राम्रो छैन भने रोजगारीका लागि उपयुक्त मानव संसाधन नीतिहरू जतिसुकै राम्ररी बनाइएका भए पनि वा रणनीति जति राम्रोसँग राखिएको भए पनि खास फरक पार्दैन । स्वीकार्य र योग्य कर्मचारीहरूलाई भर्ना गर्न सके भने व्यक्तिहरूले योजना, मस्यौदा र नीतिहरू लागू गर्न र सफल बनाउन वा आवश्यकता अनुसार लाभप्राप्त गर्न सक्छन् ।   भर्ती रणनीतिहरू कुनै पनि सफल व्यवसायका आधार हुन् । सही समयमा कामको लागि सही व्यक्तिहरू पाउनु एउटा कम्पनी या सार्वजनिक संस्थानको ठूलो विशेषता हो । सफल सरकारहरूले सक्षम र संलग्न कर्मचारीहरूलाई आकर्षित गर्ने भर्ती रणनीतिहरू अपनाउँछन् । सरकारी नीति र तिनको कार्यान्वयनले मुलुकलाई आर्थिक कमजोरीबाट आर्थिक शक्ति  बनाउन प्रेरित गर्छ ।   लेखक विभिन्न कलेजमा अर्थशास्त्र अध्यापन गर्दछन् ।