लक्ष्मी चौधरी
अहिले विश्व कोरोना भाइरसको संक्रमणको चपेटामा परेको छ । करिव एक वर्ष पहिला चीनको वुहानबाट फैलेको यो भाइरसले नेपाललाई पनि गम्भीर असर पारेको छ । हाम्रो देशमा पनि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा यो भाइरसले ठुलो असर पारेको छ । खासमा गरिखाने वर्गमा यसको ठुलो असर परेको छ । दिनभरि काम गरेर ल्याएको ज्यालाबाट परिवारको छाक टार्ने मजदुरवर्गमा यो भाइरसले नराम्रो प्रभाव पारेको देखिन्छ । कोरोनाका कारण रोगले मात्रै होइन, रोजगारी गुमाएर खान लाउन नपाउँदा पनि कैयौंको अकालमा ज्यान गएको समाचार आएका छन् ।
अहिले जनजीवन सामान्य बन्दै गएको छ । मान्छेले यसलाई सामान्यरुपमा लिन थालेका छन् । तर जनजीवन सामान्य बने पनि हाम्रो समाजको मानसिकताका कारण मानिसलाई रोगले भन्दा ठुलो पीडा दिइरहेको छ । कोरोना संक्रमित बिरामीले स्याहार वा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेका कैयौं समाचारहरु आउने गरेको छ । त्यो सँगै कोरोनाको आशंकामा कुनै पनि रोग लागेका बिरामीले उचित स्याहार वा उपचार नपाउने अवस्था छ । मानिसहरु नजिक जान डर मान्ने र कोरोनाकै बारेमा मात्रै सोधपुछ गरिरहने समाजको हेराइ र व्यवहारले मानिस अझै कमजोर बन्दो रहेछ ।
यद्यपी समाजका हरेक व्यक्ति उस्तै हुन्छन् भन्ने होइन, कैयौंबाट हौसला पनि प्राप्त हुन्छ, सहयोग पनि पाईन्छ । हरेक जिच आफूले चाहे अनुसार नहुन नि सक्छ । कोरोनाकै सन्त्रासबीच म आफै पनि बिरामी परेँ । यो अवधिमा एउटा बिरामी व्यक्तिले भोग्ने पीडा मैले पनि प्रत्यक्ष भोगेको छु । अहिले स्वास्थ्यलाभ गरिरहेको अवस्थामा आफ्नो अनुभव साट्न खोजेको छु ।
म र मेरा श्रीमान (विद्यानाथ अधिकारी) हामी दुवैजना केही दिनदेखि बिरामी पर्यौं । कोरोनासँग मिल्दोजुल्दो लक्षणले दुवै जनालाई गाल्यो । उहाँलाई करिब एक सातादेखि नै अलि सञ्चो थिएन । तैपनि अफिस जाने आउने गरिनै रहनुभयो । बाइकमा राति हिँड्नुपर्दा छातीमा चिसो पसेको पनि हुनसक्छ । तर, सँगै काम गर्ने दुई जना साथीहरुलाई संक्रमण पुष्टि भएछ । तैपनि उहाँ अफिस गइरहनुभएको थियो तर, अलि गाह्रै ...