आफ्नै डिजिटल मुद्रा जारी गर्ने योजनामा बेलायत

वैशाख ६, लन्डन (बेलायत) । पछिल्लो समय विश्वभरका कयौं केन्द्रीय बैंकहरु डिजिटल मुद्रा ल्याउने होडमा छन् । यो होडमा बेलायत पनि होमिएको छ । ‘हामीहरुले केन्द्रीय बैंकको सम्भावित डिजिटल मुद्राको सम्भावनाबारे सहकार्य गर्न अर्थमन्त्रालय र बैंक अफ इंगल्याण्ड (बीओई) बीचको एक नयाँ कार्यबल शुरु गर्दैछौं,’ बेलायती अर्थमन्त्री ऋषि सुनाकले सोमवार फिन्टेक उद्योगको सम्मेलनमा भने ।  यस्तो मुद्रा बीओईले जारी गरेको डिजिटल मुद्राको नयाँ स्वरुप हुने र यो घरपरिवार र व्यवसायहरुको प्रयोगका लागि हुने अर्को छुट्टै विज्ञप्तिमा बीओईले भनेको छ । उक्त मुद्राले नगद र बैंक निक्षेपलाई विस्थापित नगरेर यिनीहरुको साथसाथै अस्तित्वमा रहनेसमेत विज्ञप्तिमा भनिएको छ । बेलायत सरकारले बेलायती पाउन्डको डिजिटल संस्करण जारी गर्ने कि नगर्ने भन्नेबारे अहिलेसम्म निर्णय गरिसकेको छैन । यद्यपि यस योजनामा अगाडि बढियो भने बैंकले उद्देश्य, प्रयोगको सन्दर्भ, अवसर र जोखिमहरुको खोजिनीति गर्ने बताइएको छ । बीओईले केन्द्र बैंक डिजटल मुद्राको लागि अर्को बैंकभित्रै छुट्टै एकाईको स्थापना पनि गर्नेछ । एजेन्सी