काठमाडौं (अस) विसं १९९४ कात्तिक ३० गते स्थापना भएको मुलुककै जेठो बैंक नेपाल बैंकले बुधबार ८५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा बैंकको भूगोलपार्कस्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, कर्मचारी तथा ग्राहक गरी १०४ जनाले रक्तदान गरे । नेपाल बैंकको आयोजना तथा लायन्स क्लब अफ काठमाडौंको सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । बैंकले देशका विभिन्न भागमा आर्थिक, सांस्कृतिक, सामाजिक, सरसफाइ, शैक्षिक, स्वास्थ्य, वित्तीय साक्षरतालगायत विभिन्न सामुदायिक हित संरक्षणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्ने र सामाजिक कार्यमा संलग्न संस्थालाई आर्थिक तथा अन्य सहयोग गर्दै आएको छ ।
बैंकले वार्षिकोत्सव अवसरमा प्रादेशिक कार्यालय प्रदेश १ अन्तर्गत सुनसरीको इटहरी उपमहानगर–१४ स्थित पार्वती माध्यमिमक विद्यालयलाई १० थान सिलिङ पंखा र २ थान स्टिल दराज वितरण गरेको छ । यस्तै, मोरङको सुन्दर हरैचामा अवस्थित रणकाली मन्दिर दर्शनमा आउने भक्तजनको सुविधाका लागि १०० थान प्लास्टिक कुर्र्सी, प्रादेशिक कार्यालय प्रदेश २ अन्तर्गत वीरगञ्ज महानगरमा अवस्थित मानवसेवा आश्रममा आश्रितका लागि जाडोमा लगाउन मिल्ने ७५ थान ट्रयाक सुट र खाद्य सामग्री वितरण गरेको छ ।
बैंकले पर्साको लक्ष्मी गाउँपलिकामा रहेको दलित बस्तीका २५३ परिवारलाई जाडोका कपडा कम्बल वितरण गर्नुका साथै प्रादेशिक कार्यालय गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगर–१७ बिरौटा र वडा–२५ हेम्जामा रहेको मानवसेवा आश्रममा बस्ने आश्रितका लागि न्याना कपडा वितरण गरेको छ । बैंकले प्रादेशिक कार्यालय लुम्बिनी प्रदेशअन्तर्गत बुटवल उपमहानगरमा रहेको मानवसेवा आश्रममा आश्रितका लागि खाद्यान्न सामग्री वितरण, प्रादेशिक कार्यालय सुदूरपश्चिम प्रदेशअन्तर्गत धनगढी उपमहानगरस्थित दृष्टि धनगढीलाई लोबेड, बेडिङ र बालबालिकका लागि न्यानो कपडा वितरण गरेको जनाएको छ ।
यस्तै, धनगढीस्थित माानवसेवा आश्रम धनगढीका आश्रितलाई खाद्य सामग्री वितरण, कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित बालआश्रममा रहेका आश्रित बालबालिकालाई न्याना कपडा वितरण गरिएको बैंकले बताएको छ । कार्यक्रममा बैंकमा २० वर्षभन्दा बढी सेवा गरेका विभिन्न कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत श्री कृष्णबहादुर अधिकारीले प्रशंसापत्र वितरण गरेका थिए ।