पर्वत । कुनै समय वनमा खेर गइरहेको नागबेली झार विक्री गरी मनग्ये आम्दानी गरेका यहाँको विकट गाउँका बासिन्दा अहिले निराश छन् । सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने झार विक्री हुन छाडेपछि स्थानीय निराश बनेका हुन् ।
जिल्लाको जलजला गाउँपालिका–९ बनौ, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र वडा नं ४ क्याङमा यो झार प्रशस्त मात्रामा पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विभिन्न देशले आयात गर्न थालेपछि उत्साहित बनेका उपभोक्ता पछिल्लो दुई वर्षयता विदेशी कम्पनीहरू सम्पर्कमा नआएपछि निराश बनेका छन् ।
उपयोगिता बुझ्दै गएपछि केही वर्ष सामुदायिक वनसँग आबद्ध उपभोक्ताहरूले सामूहिक रूपमा नागबेली संकलन गरी विक्री वितरण गरे पनि हिजोआज विक्री हुन छाडेको छ । अहिले लाखौं मूल्यको यो झार वनमै कुहिएर जान थालेको मोदी गाउँपालिका–४ का अगुवा कृषक नरसिंह पुनले बताए ।
स्थानीय स्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाललगायत नाममा परिचित यस झारलाई विगतका समयमा विवाह व्रतबन्धलगायत कार्यहरूमा गेट सजाउने कामबाहेक अन्य काममा उपयोग हुन पाएको थिएन । त्यही झारको कोसाबाट विभिन्न शृंगारका सामग्रीहरू बन्ने थाहा पाएपछि स्थानीयले चार वर्षसम्म राम्रो आम्दानी लिन सफल भएका थिए । स्थानीय कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार अहिले विक्री हुन छाडेपछि संकलन गर्न पनि छाडिएको छ ।
मोदी–४ क्याङका तीन ओटा सामुदायिक वन समूहले छुट्टाछुट्टै समूहमा नागबेली कोसा संकलन गर्ने गरेका थिए । यसरी संकलन गरिएको कोसा घाममा सुकाएर प्रशोधन गरी पाउडर बनाएर विक्री गरिने पुनले बताए ।
पुनका अनुसार पाँच वर्षअघि लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट २०० किलो र छहेरे तथा कमेरा पाखा वन समूहबाट १५० किलो पाउडर उत्पादन गरी विक्री गरिएको थियो । चिसापानी वन समूह लेस्पारले भने कोसा नै विक्री गरेको थियो । यसरी विक्री गर्दा प्रतिकिलो रू. ७०० देखि ८०० सम्म रकम आम्दानी हुने गरेको थियो ।
विभिन्न देशमा निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने मसिनो पाउडरबाट कण्डम, ग्लोभ्स तथा ब्युटीपार्लरका सामग्री उत्पादन हुने भएकाले माग बढ्दै गएको थियो । जलजला–९ बनौका वडाअध्यक्ष गौबहादुर पुनले नागबेली झारको विक्री केही वर्षसम्म राम्रो भए पनि अहिले भने माग नआएको बताए ।
डिभिजन वन कार्यालय पर्वतका अनुसार पर्वतमा रहेको नागबेली झारबाट १० टनभन्दा बढी पाउडर उत्पादन गर्न सकिन्छ । नागबेली झारको कोसा संकलनका लागि सामुदायिक वन उपभोक्ता महासंघमार्फत डिभिजन वन कार्यालयबाट वन समूहले निकासीका लागि अनुमति लिनुपर्ने प्रावधान थियो । रासस