कटुवाल प्रथामा प्रविधिको प्रयोग

–डम्मर बुढा मगर/रासस ढोरपाटन (बागलुङ), १९ भदौ । बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो । गाउँलेको भेलाले दुई/दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि […]

सम्बन्धित सामग्री

कृषिको विकासका लागि प्रविधि र उपकरण

नेपालमा पछिल्लो समय कृषिमा व्यावसायिकता शुरू हुन थालेको छ जसको श्रेय थोरबहुत वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई जान्छ । विदेशमा सिकेका शीप र स्वदेशको श्रमले नेपालको कृषिमा केही मात्रामा रूपान्तरण हुन थालेको छ । खासगरी इजरायलको खेतीपाती प्रणालीले नेपालीलाई आकर्षित गरेको छ ।  विश्वमै इजरायलको खेती प्रणाली उच्च प्रविधियुक्त मानिन्छ । कुल जनसंख्याको २ प्रतिशत जनता कृषिमा लागेका छन् र त्यहाँ उत्पादित ९० प्रतिशत कृषि उपज निर्यात हुन्छ । पानीको कमी भए पनि उच्च प्रविधिका कारण यो सम्भव भएको हो । त्यहाँ काम गर्न पुगेका नेपालीले अहिले त्यहाँको कृषि प्रणाली नेपालमा भित्त्याएका छन् । प्रणालीमात्र होइन, कृषियन्त्र र आवश्यक अन्य वस्तुको समेत उत्पादन र विक्री हुन थालेको छ । इजरायलीले प्रविधिको भरपुर उपयोग गरेर कृषिक्षेत्रमा कमभन्दा कम जनसंख्या संलग्न गराई कम लागतमा राम्रो उत्पादन गर्न सकेको कुरा सिकेर नेपालमा यस्तै प्रविधि भित्त्याउने व्यक्तिमध्ये एक हुन् खोजराज कटुवाल । नेपाली कृषि कामदार सहयोगी समिति इजरायल गठन गरी विदेशको शीप स्वदेशमा लगानी अभियान सञ्चालन गरियो ।  त्यही अभियान बोकेर नेपाल आएका कटुवालले एनटीएस इन्डस्ट्रिज नामक कृषि कम्पनी खोलेर विभिन्न कृषि उपकरण उत्पादनको काम गरिरहेका छन् । उनको कम्पनीले ग्रिन हाउस टेक्नोलजी, मल्चिङ प्लास्टिक, पोलिब्याग, थोपा सिँचाइ र कौसीखेतीका लागि आवश्यक सामग्री उत्पादन गरिरहेको छ । नेपालको कृषिलाई आधुनिकीकरण गर्न र व्यावसायिक बनाउन यस्ता सामान निकै उपयोगी हुने देखिन्छ । प्रविधिको प्रयोग हुन थालेपछि विदेश गएका युवाहरू कृषितर्फ आकर्षित भएको पाइन्छ । नेपालका थेरै ठाउँमा व्यावसायिक पशुपालन, खेती र मत्स्यपालनजस्ता कार्यमा वैदेशिक रोजगारीबाट फर्केका युवाको संलग्नता बढ्दो छ । यो नेपालको कृषिका लागि उत्साहको खबर हो ।  कृषिमा युवाहरू आकर्षित हुन नसक्नुको कारण पनि प्रविधिको उपयोग नहुनु हो । त्यसैले कृषिमा प्रविधिको भरपुर उपयोग हुन आवश्यक छ । माटो परीक्षण, मौसम भविष्यवाणी, कृषिबजार जस्ता पक्षमा सूचनाप्रविधिको प्रयोग बढाउनु पहिलो र महत्त्वपूर्ण कार्य हुने देखिन्छ । अहिले धेरैको हातमा स्मार्टफोन पुगिसकेको र त्यसमा इन्टरनेट चलाउनेको संख्या निकै बढेकाले त्यसको उपयोग कृषि कार्यमा गराउन आवश्यक देखिन्छ । यसका लागि सरकारले विभिन्न एपहरू बनाउने र त्यसको अद्यावधिक गरी पर्याप्त जानकारी र तथ्यांक समावेश गर्दै जानुपर्छ । यसो भयो भने कुन मौसममा कुन खेती गर्ने, कस्तो माटोमा के खेती हुन्छ, आफ्नो फसल बजारमा पुग्दा आपूर्तिको अवस्था कस्तो हुन्छ भन्ने जानकारी पाए कृषि पेशामा आकर्षण गर्न सकिन्छ । अहिलेजस्तो कुनै समयमा उच्च मूल्य पाइने र कुनै समय आफ्नो फसल फाल्नुपर्ने अवस्था आउँदैन । त्यसैले सूचना प्रविधिको उपयोग व्यापक बनाउनु आवश्यक देखिन्छ ।  अर्को भनेको कृषि उपकरण हो । तर, नेपालमा विदेशी सहयोगमा बनेको कृषि औजार कारखाना ३० वर्षदेखि बन्द छ । यसको पुन:सञ्चालनको जिम्मा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिइए पनि सरकारले पर्याप्त बजेट उपलब्ध गराउन सक्दा बिग्रेका मेशिन मर्मत गरेर केही पुराना कृषि उपकरण निर्माण गर्नभन्दा बढी सफलता प्राप्त भएको छैन । यसबाट बन्ने उपकरणले अहिलेको आवश्यकतालाई पूरा गर्ने देखिँदैन तर पहाडी बनोटका लागि उपयुक्त कृषि औजार बनाउनेतर्फ केन्द्रले महत्त्वपूर्ण काम गर्न सक्छ । त्यसका लागि अनुसन्धान गर्न र औजार निर्माण गर्न सरकारले पर्याप्त सहयोग उपलब्ध गराउनुपर्छ ।  सस्तो र उपयोगी कृषि उपकरण अहिलेको आवश्यकता हो । नेपालमा कृषि जग्गा खण्डीकरण भएकाले ठूला उपकरणको काम छैन । एउटा व्यक्तिले सञ्चालन गर्न सक्ने खनजोत, बीउ छर्ने, गोड्ने, फसल भित्त्याउने उपकरण अहिलेको आवश्यकता हो । त्यस्ता उपकरण सके नेपालमै निर्माण गर्नुपर्छ, नसके विदेशबाट भए पनि आयात गर्नुपर्छ । यस्तो मेशिन आयातमा सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ । अहिले कृषि उपकरणमा अनुदानको व्यवस्था नभएको होइन । त्यसलाई थप सहज बनाइनु पनि उत्तिकै आवश्यक छ ।  कृषि उपकरण विक्रीमात्र होइन, त्यसको प्रयोग गर्न आवश्यक तालीम र सचेतना पनि उत्तिकै आवश्यक पर्छ । त्यस्तै कृषि उपकरण खरीदमा सस्तो ब्याजदरको कर्जा पनि उपलब्ध गराइनुपर्छ । अहिले नेपाल राष्ट्र बैंकले बैंकहरूलाई कृषिमा कर्जा लगानी गर्न अनिवार्य गरेको छ र त्यसमा ब्याजअनुदानसमेत उपलब्ध गराएको छ जसका कारण किसानहरूले सस्तोमा कर्जा लिन पाइरहेका छन् । तर, यस्तो कर्जा पनि टाठाबाठाले मात्र पाएको र त्यो कर्जा कृषि क्षेत्रमा नभएर अन्यत्र प्रयोग भएको समेत पाइन्छ । कृषियन्त्र बेच्ने संस्थामा गएपछि त्यहीँबाट कर्जाका प्रक्रिया पूरा गर्न मिल्ने र सहुलियत ब्याजदरमा कर्जा लिन पाउने व्यवस्था गर्न सकिन्छ । अहिले गाडी किन्नका लागि हायर पर्चेजको काम गर्ने संस्थाहरूले गाडी शोरूमसँग मिलेर कर्जा उपलब्ध गराइरहेका छन् । कृषि उपकरणका लागि यस्तै व्यवस्था गरिनु आवश्यक छ ।  परम्परागत कृषि प्रणालीबाट अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सकिन्न । साथै, त्यसबाट लाभ लिन पनि सकिँदैन । त्यसैले कृषिमा साना यन्त्रको प्रयोग बढाएर यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नेतर्फ अभियान नै चलाउन आवश्यक देखिन्छ ।