फुङ्लिङ । हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उन यसो माथि घरको छानो हेर्छन् । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको कतै कुना खोज्दाखोज्दै उज्यालो हुन्छ ।यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका लिम्बूको घरको बसाइको अवस्था ।
नेपाल अति कम विकसित मूलकबाट विकासशील मुलुकमा उक्लिँदै गरेको तथा विदेशी सहयोग नियोगहरुले दिने आर्थिक रकम कम हुनसक्ने भन्दै नेपाल–अमेरिका टिफा काउन्सिलमा बहस भइरहँदा बास्तविक जनाताको अवस्था कस्तो छ भन्ने यो गतिलो उदाहरण मात्रै हो ।
गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्णपमा बस्दै आएका छन् । मिक्वाखोला –४ साँबाका स्थानीय लिम्बूको परिवार फुस (खर)ले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका हुन् । सरकारले खरको छाना हटाएर जस्ता लगाउने भनेको सुनेको भएपनि यो परिवारलाई सरकारको कार्यक्रम कहाँ कुन अवस्थामा छ भन्नेपनि थाहा छैन् ।
निकै जीर्ण बनेको घर पुनःनिर्माण गर्ने आर्थिक अवस्था नहुँदा लिम्बूको परिवार जोखिमयुक्त घरमा बस्न बाध्य भएको छ । फुसले छाएको छानो धेरै नै पुरानो भएकाले घामपानी र हावाहुरी छेक्न नसक्ने अवस्थाको जीर्ण घरमा लिम्बूको परिवारको बसोबास रहेको छ ।
झट्ट हेर्दा हालको उक्त संरचनामा मानिसको बसोबास नरहेको अर्थात् पहिले नै छाडिसकेको जस्तो देखिने जीर्ण घरमा लिम्बूको परिवारको बास रहेको छ । लिम्बूको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमती छन् । परिवारमा छ जनाको सङ्ख्या रहे पनि अधिकांश समय लिम्बूकी श्रीमती रीता र कान्छी छोरी माया लिम्बू बस्दै आएका छन् ।
दुई दाजु काम वा अन्य सिलसिलामा बाहिरै बस्ने गरेको, दिदी फुपूको घरमा र आफूचाहिँ आमासँगै रहेको १४ वर्षीया माया लिम्बूले बताइन् । बाबु सुरेश गाउँघरतिरै डुलघुम गर्दै घर आउने टुङ्गो नरहने मायाले सुनाइन् । उनले यस वर्ष बर्खा नलाग्दै हावाहुरी र पानी पर्न थालेकाले घर चुहिएर बसिनसक्नु रहेको बताइन् ।
केही ठूलो पानी पर्दा घरभित्र आहाल (पानी जम्ने) हुने र चुल्होमा आगो बाल्नै नमिल्ने अवस्था रहेको छोरी मायाले बताइन् । “कुनै समय ठूलो पानी परेका बेला रातभर नसुती (जाग्राम) बस्ने गरेका छौँ”, उनले भनिन्। गाउँपालिका र वडाका जनप्रतिनिधिले सहयोग गर्ने कुरा के छ ? भन्ने प्रसङ्गमा आफूलाई केही थाहा नभएको उनले बताइन् । उनले घरको एकछेउमा थोरै जस्तापाताले छाएको छाल्की रहेकाले टाउको ओताउने ठाउँ भएको बताइन् ।
यसरी पानी चुहिएर घर जीर्ण भई दयनीय अवस्थासँगै लिम्बूको परिवारमा दैनिकी चलाउनलाई पनि मुस्किल रहेको स्थानीयले बताएका छन् । घरमुली लिम्बूले आफ्नो घरको व्यवस्थापन गर्नेतर्फ खासै चासो नदिएकाले पनि थप संरचना जीर्ण बन्दै गएको छरछिमेक बताउँछन् । स्थानीय छिमेकीले परिवारमा अभिभावकीय भूमिका निभाउने कार्यमा पनि लिम्बूको कमजोरी औँल्याएका छन् ।
लिम्बूको घरको दयनीय अवस्थाबारे आफूलाई हालसम्म कुनै जानकारी नै नगराइएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताइन् । उनले लिम्बूको घर संरचनाको अवस्था हेरेर तत्काल छानो व्यवस्थापनमा सहयोग गर्ने बताइन् ।
साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूले फुसको छाना विस्थापन कार्यक्रमअन्तर्गत लिम्बूको नाम पनि सूचिकृत भएको जानकारी दिनुभयो । वडाका १८ परिवारको सूचीकृत भएका नाममा लिम्बूको नाम रहेको वडाध्यक्ष साँवाले बताइन् । सरकारी अनुदान लिने उद्देश्य राखेर कतिपय परिवारले आफ्नो घरको बेवास्ता गर्ने गरेको पाइएको पनि वडाध्यक्ष साँवाको भनाइ छ ।
उनका अनुसार समयमा आफ्नो घर वा संरचनाको सुरक्षाप्रति घरधनीले बेवास्ता गर्दा छाना चुहिएर घर थप जीर्ण बन्ने गरेको पाइएको छ । ढुङ्गा र माटोले बनेको घरको वाल (गारो) धराप हुने गरेको छ भने छानाका डाँडाभाटा, दलिन, सेप्रीमा प्रयोग गरिएका काठहरु मक्काउने गरेका छन् । रासस