पुस ९, काठमाडौं । सिभिल बैंक लिमिटेडले पुस ३० गते प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।
उक्त दिन कम्पनीले ११ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याकेंट बालुवाटार, काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको मुुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८ अर्ब ६४ करोड ३६ लाख ६० हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तालाई सभाले अन्तिम रुप दिनेछ ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको दिन मंगलवार कम्पनीको शेयरमूल्यमा सामान्य घटबढ भएको छ । लाभांशसँगै कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसमेत सभाले गर्नेछ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।