दिगो विकास लक्ष्य हासिल र वातावरण संरक्षण गर्न यौन शिक्षासम्बन्धी सम्मेलन आयोजना !

काठमाडौं । ‘दिगो विकास लक्ष्य २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै’ भन्ने नाराका साथ बृहत् यौनिकता शिक्षासम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन यही जेठ १० र ११ गते काठमाडौंमा आयोजना हुने भएको छ ।  सन् १९९४ मा सम्पन्न जनसङ्ख्या तथा विकास विषयक अन्तरराष्ट्रिय सम्मेलन, सन् २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव २२५०, महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव २३२५, नेपालको संविधान, राष्ट्रिय युवा नीति, युथभिजन २०२५, विद्यालय शिक्षा क्षेत्र योजना २०२२/२३–२०३१/३२ जस्ता विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीति तथा प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा सम्मेलनले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।  राष्ट्रिय तथा अन्तरराष्ट्रिय करीब ३०० जनाको सहभागिता हुने सो सम्मेलनमा बृहत् यौनिकता शिक्षासम्बन्धी विभिन्न विषयमा कार्यपत्रहरूको प्रस्तुति, फरक–फरक सेसन तथा पोष्टर प्रस्तुत हुने जनाइएको छ । साथै सम्मेलनको अन्त्यमा बृहत् यौनिकता शिक्षामा काठमाडौँ घोषणापत्र जारी गरिने जनाइएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त आयोजना हुने सो सम्मेलनको र संयुक्त राष्ट्रिय जनसङ्ख्या कोष, नेपाल परिवार नियोजन सङ्घलगाायत बृहत् यौनिकता शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोग रहने छ ।  सम्मेलनमा युवाको लागि उमेर–उपयुक्त, वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैङ्गिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, अल्पसङ्ख्यक समुदायको अधिकारको सुनिश्चितता, रुढीवादी प्रथा तथा धारणा, हिंसा, बालविवाह, युवाको विदेश पलायन, किशोर–किशोरी तथा युवामैत्री सेवा तथा वातावरण साथै युवालक्षित विभिन्न राष्ट्रिय नीति तथा त्यसको प्रभावकारी कार्यान्वयनका क्षेत्रमा छलफल हुने नेपाल परिवार नियोजन सङ्घले जनाएको छ ।  युवाकै सहभागितामा यी मुद्दाहरूमा व्यापक छलफल गरी नेपालमा बृहत् यौनिकता शिक्षाको आगामी कार्यदिशा तय गर्ने उद्देश्य राखिएको सङ्घले जनाएको छ । उक्त मुद्दा दिगो विकासका लक्ष्य २०३० र जनसङ्ख्या र विकाससम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (आइसीपिडी) १९९४ का प्रतिबद्धता प्राप्त गर्ने महत्वपूर्ण आधार मानिएको छ ।  सम्मेलनले तीन तहको सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ पार्ने, थप लगानी र एकीकृत कार्ययोजनाहरुको निर्माण गरी बृहत् यौनिकता शिक्षालाई संस्थागत गर्न समन्वयात्मक नीति र कार्यक्रमको प्रवर्द्धन गर्ने अपेक्षा लिएको छ । यस सम्मेलनपश्चात् विशेषगरी बृहत् यौनिकता शिक्षा तथा युवामैत्री सेवाको अभावमा विभिन्न समस्यासँग सामना गरिरहेका युवाको आवाजलाई एकीकृत गर्दै उनीहरुको आह्वानलाई सरोकारवालासामु पुर्याउन सहयोग मिल्ने अपेक्षासमेत गरिएको छ ।  किशोर–किशोरी तथा युवालाई विभिन्न यौन तथा प्रजनन स्वास्थ्य समस्या र अपराधबाट बच्न/बचाउन जीवनोपयोगी शिक्षाको रूपमा बृहत् यौनिकता शिक्षाको विस्तार र विद्यालयको पाठ्यक्रममा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयलाई अनिवार्य विषयको रूपमा पुनः कायम गरी सबै युवाको पहुँचमा बृहत् यौनिकता शिक्षाको सुनिश्चिता र शिक्षकलाई बृहत् यौनिकता शिक्षामा तालिम उपलब्ध गराई, पठनपाठनको उचित व्यवस्था गरी सबैका लागि समावेशी तथा समानतामूलक गुणस्तरीय शिक्षाको मागका लागि सहभागी सबै युवाद्वारा सामूहिकरूपमा सरकारसँग आह्वान गरिने सङ्घले जनाएको छ । साथै युवालाई देशमै स्वरोजगार तथा उद्यमीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट निरुत्साहित गर्नका लागि पनि सरकारसँग आह्वान गरिनेछ । हाल सरकारद्वारा बृहत् यौनिकता शिक्षालाई विद्यालय तहका पाठ्यक्रममा एकीकृत गर्दै जाने नीतिअनुरूप कक्षा १ देखि ५, ६ देखि ८, र ९ देखि १२ सम्मका पाठ्यक्रममा कुनै न कुनै विषयवस्तुका रूपमा समावेश गरिएको छ । विद्यालय शिक्षा क्षेत्र योजना २०२२/२३–२०३१/३२ मा पनि बृहत् यौनिकता शिक्षासँग सम्बन्धित लक्ष्यहरू कार्यान्वयन गर्ने उद्देश्य राखिएको जनाइएको छ ।  अध्ययनहरूका अनुसार पनि बृहत् यौनिकता शिक्षाको अभावमा कम उमेरमै विवाह हुने, छिट्टै सन्तान जन्मने, जन्मान्तरको समय न्यून हुने, दीर्घकालीन यौन तथा प्रजनन स्थास्थ्यका समस्या हुने र सुर्ती तथा लागुपदार्थको प्रयोग बढ्ने, असुरक्षित यौन सम्पर्क, अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन, एचआइभीलगायत अन्य यौनजन्य सङ्क्रमण र यौन अपराधजस्ता समस्या हुने आदि कुराको पुष्टि भइसकेको छ भने बृहत् यौनिकता शिक्षा लागू भएका देशहरूमा यी समस्याको न्यूनीकरण भएको अध्ययनले देखाएको छ ।  बृहत् यौनिकता शिक्षालाई विद्यालय पाठ्यक्रममा अझ बृहतरुपमा लागू गर्न सकिएमा सन् २०३० सम्ममा महिला सशक्तीकरण र समानता कायम गर्न, बाल तथा मातृमृत्युदर घटाउन, एचआइभी, मलेरिया र क्षयरोगजस्ता रोगहरूको नियन्त्रण गर्न र दिगो वातावरण संरक्षण गर्नेजस्ता दिगो विकास लक्ष्यमा सकरात्मक प्रभाव पार्ने पनि अध्ययनले पुष्टि गरेको छ । –रासस

सम्बन्धित सामग्री

कोशीको बजेट लगानी वृद्धिमा केन्द्रित हुने

विराटनगर । कोशी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । अर्थमन्त्रीको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधवार विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।  मुख्यमन्त्री कार्कीले आगामी बजेट सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सृजना गर्न केन्द्रित हुने बताए । उनले तीनै तहको सरकारको समन्वयमा प्रदेशले महत्वपूर्ण र समन्वयकारी भूमिका समेत निर्वाह गर्ने नीति लिने बताए ।   कृषि, उद्योग र पर्यटन क्षेत्रको प्रवद्र्धन, पूर्वाधार विकास, स्वास्थ्य सेवा, सामाजिक विकास, सहकारी र गरीबी निवारण, वन, वातावरण संरक्षण र विपद् व्यवस्थापन, सार्वजनिक सेवाप्रवाह तथा सुशासन प्रथामिकतामा रहेको उनले जानकारी दिए ।  बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिइने उनले बताए । ‘बजेट विनियोजन गर्दा स्रोतको सीमिततालाई मध्यनजर गर्दै छिटो प्रतिफल दिनसक्ने तयारी पूरा भएका आयोजना तथा कार्यक्रम छनोट गरिनेछ,’ मुख्यमन्त्री कार्कीले भने । उनले बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनामा पर्याप्त बजेट विनियोजन गरिने, साधारण खर्चमा मितव्ययिता कायम गर्दै वाञ्छित सीमाभित्र राख्ने र प्रदेशको आन्तरिक राजस्व परिचालनलाई प्रभावकारी बनाइने बताए ।   अर्थतन्त्रमा परेको प्रभावको सन्दर्भले प्रदेश पनि अछुतो रहन नसकेको भन्दै मुख्यमन्त्री कार्कीले विकास र समुन्नतिमा अग्रसर हुँदै स्वच्छ र सुखी प्रदेशको अवधारणालाई गति दिइने बताए । उनले भने, ‘साधन स्रोत छरिने तथा आर्थिक वर्षको अन्त्यमा हुने खर्चले पनि प्रभाव परेको छ । औद्योगिक उत्पादन, व्यापार, निर्माण क्षेत्रमा शिथिलता आएकाले आर्थिक वृद्धि न्यून हुने देखिएको छ ।  गरीबी, बेरोजगारी, समाजिक पछौटेपन हटाउँदै सबै क्षेत्रमा विकास महसूस गराउने लक्ष्य सरकारको हुनेछ ।’ मुख्यमन्त्री कार्कीले संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढ बनाउन साधन स्रोतको परिचालनमा जोड दिने, योजनाबद्ध आर्थिक विकासका नवीनतम सम्भावना र अवसरका क्षेत्र पहिचान तथा प्रवद्र्धन गर्दै प्रदेशको समग्र विकास र समृद्धि हासिल गर्न सरकारको जोड रहने बताए । उनले प्रदेशको आन्तरिक आयलाई सुदृढ बनाउन प्रदेश सरकारको राजस्व अधिकार क्षेत्रभित्र पर्ने स्रोतको खोजी गरी दायरा विस्तार गर्ने, अन्तरनिकाय समन्वय एवं सूचना आदानप्रदान गरिने, राजस्व परिचालनलाई थप सुदृढ बनाउन सूचना/प्रविधिमा आधारित राजस्व प्रशासन सञ्चालन गर्ने, संघीय कार्यालय तथा स्थानीय तहवाट संकलन हुने राजस्व परिचालनलाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग गर्ने उल्लेख गर्दै प्रदेशले आफैले संकलन गर्ने तथा बाँडफाँटबाट प्राप्त हुने राजस्व समयमै प्रभावकारी रूपले प्राप्त गर्दै सम्भावित चुहावट नियन्त्रण गर्ने बताए । प्राथमिकता तय गर्दा संविधान, प्रदेशको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्य प्राप्ति सन्दर्भमा प्रदेशबाट गर्नुपर्ने योगदान र सरकारको न्यूनतम साझा कार्यक्रमलाई समेत आधार बनाइएको उनले बताए ।

सुशासन दिगो विकासको अस्त्र

सन् १९५० को दशकबाट सुरु भएको विकास अवधारणा आर्थिक वृद्धि, गरिबी निवारण, असमानत अन्त्य एवम् वातावरण संरक्षण हुँदै अहिले (पाँच वर्ष अघिदेखि) दिगो विकास लक्ष्यको कार्यान्वयन चरणमा छ । योजनाबद्ध विकासको सात दशक भइसक्दा पनि बेरोजगारी, गरिबी र असमानताजस्ता विषय विश्व सुमदायसामु अहिले पनि त्यत्तिकै चुनौतीपूर्ण छन् । यिनका अतिरिक्त पछिल्लो दशकमा जलवायु परिवर्तनले सिर्जना गरेको नकारात्मक असर सामना गरिरहेको विश्वसामु कोभिड–१९ को महामारी नियन्त्रण र यसको असर सामना गर्नुपर्ने थप चुनौती आइलागेको छ । सन् २०१५ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले न्युयोर्कमा दिगो विकास लक्ष्य (२०१