साढे दुई दशकमा पनि पूरा भएन बागमती करिडोर, शुरु र अन्तिम बिन्दुमा ट्र्याक खुल्न बाँकी

काठमाडौं । निर्माण शुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर (Bagmati Corridor) सडक शुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक (Track) खोल्न बाँकी छ । काठमाडौंको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्याउने सो करिडोर सडक शुरु बिन्दुमा पर्ने गोकर्णबाट सुन्दरीजलसम्म खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । यो खण्डको लम्बाइ झण्डै आठ किमी छ । नदीको क्षेत्र २० मिटर रहेकामा अहिले २०/२० मिटर क्षेत्रमा जग्गा व्यक्तिका नाममा रहेकाले जग्गा किनबेच भइरहेको समितिका सूचना अधिकारी इञ्जिनियर कमल अर्यालले बताए । त्यस ठाउँमा जग्गा प्राप्त गर्न काठमाडौं उपत्यका नयाँ सहर आयोजनाले एक लाख रोपनीमा नयाँ सहर बनाउन लागेको उनले जानकारी दिए । उनले भने, ‘त्यहाँभित्रबाट जग्गा निकालेर सडक बनाउने योजना छ ।' गोकर्णबाट गुहेश्वरीसम्म दुवैतर्फको सडक खुलिसकेको छ । गुहेश्वरी मन्दिरबाट तिलगङ्गासम्म पशुपति क्षेत्र छ । तिलगङ्गाबाट जाँदा गाडी चले पनि सडक कच्ची रहेको इञ्जिनियर अर्यालले बताए । सडक निर्माणमा समस्या नभएको ठाउँमा खुलिसकेको भए पनि अरु निकायले काम गर्छु भनेका ठाउँमा काम हुन नसकेको जनाइएको छ । गोठाटार पुलबाट गुहेश्वरीसम्मको सडक प्रदेश सरकारले निर्माण गर्ने भने पनि बनिसकेको छैन । नदी किनारमा समितिले नै सबै किसिमका काम एकसाथ अघि बढाइरहेको छ । करिडोर सडक निर्माणसँगै नदीको दुवैतर्फ ढल निर्माण, विभिन्न स्थानमा बाँध, किनारमा रहेका मठ, मन्दिरको पुनःनिर्माण, फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढिरहेको बताइएको छ । बागमती करिडोर निर्माणको कार्यक्षेत्र काठमाडौंको बागद्वारबाट कटुवाल दहसम्म छ । जम्मा ४४ किमी यसको लम्बाइ छ । अन्तिम बिन्दुतर्फ जान अहिले ट्र्याक खोलेर मोर्डन इन्डियन स्कुलसम्म पुगिएको उनले बताए । खासगरी काठमाडौं उपत्यकाका मुख्य सडकमा रहेको जाम कम गर्ने उद्देश्यले करिडोर सडक निर्माण शुरु गरिएको थियो । बागद्वारबाट कटुवाद दहसम्म दुवैतर्फ जान नसक्ने गरी नहुँदा लक्ष्य पूरा नहुने इञ्जिनियर अर्यालले बताए । यसलाई निरन्तर जाने गरी बनाउनुपर्ने उनको भनाइ छ । काठमाडौं उपत्यकामा रहेका सानाठूला धेरै खोलामा करिडोर निर्माणको काम अघि बढाइएको छ । कतै समिति त कतै काठमाडौं उपत्यका नगर विकास प्राधिकरण र कतै डिभिजन सडक कार्यालयले करिडोर सडकमा निर्माण गरिरहेका छन् । रासस