नेता छान्ने भनिएको टेलिभिजन रियालिटि शो ‘द लिडर’ का लागि रजिष्ट्रेसन शुल्कवापत १ हजार रुपैयाँ तिरेका ३०९ जनाले पैसा फिर्ता लिन बाँकी रहेको पाईएको छ ।शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति रबी लामिछानेले शुल्क तिरेर रजिष्ट्रेसन गरेकाहरुको पैसा फिर्ता दिनु आफ्नो नैतिक दायित्व भएको बताएका छन् । उाले आफू उक्त कार्यक्रम सञ्चालक मात्रै भए पनि रजिष्ट्रेशन गर्नेहरुले आफूलाई हेरेर गरेको भन्दै रबीले पैसा फिर्ता गर्न आफूले पहल गर्ने बताएका छन् । उनले यसअघि नै पैसा फिर्ता लैजान चाहनले लैजान सक्ने भन्दै सार्वजनिक रूपमा आह्वान गरिएको तर, सूचना नपाएर कोही आउन नसकेको हुन सक्ने भएकाले पुनः आफूले यसका लागि पहल गर्ने बताए ।कार्यक्रममा जम्मा ११ सय ९२ जनाले मात्रै रजिष्ट्रेसन गरेको दाबी गर्दै रबीले ८८३ जनाले पैसा फिर्ता लगिसकेको जनाएका छन् । बाँकी ३०९ जना रहेको उनको भनाई छ ।रबीले पैसा फिर्ता लिनका लागि ९८४१९५६९०६, ९८४११२५६१७, ९८४७९१०१०५, ९८६११६४९४४, ९८०१११६७१८ गरी ५ वटा मोबाइल नम्बर उपलब्ध पनि गराएका छन् । ‘द लिडर’ कार्यक्रम घोषणा २०७६ मंसिर २६ गते गरिएको थियो ।