चैत ३०, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको अर्थतन्त्रको आधार भएको बताएका छन् ।
मन्त्रालयमा भेटन पुगेका नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिसँग मन्त्री बडूले यस्तो बताएका हुन् । ‘यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ । रोजगारी सिर्जना गर्दछ’ उनले भने, ‘यो क्षेत्रमा समस्या के के छन्, समाधानका लागि के गर्नुपर्छ सरकार तयार छ ।’
महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले स्वदेशी वस्तु उत्पादन गर्ने उद्योगहरूले विदेशबाट आयात हुने वस्तुहरूसँग प्रतिष्पर्धा गर्न नसकेर उद्योग धराशयीको बाटोमा रहेको मन्त्री बडूलाई सुनाए ।
स्वदेशी वस्तुको प्रवद्र्धन र स्वदेशी उद्योगको विकासका लागि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको माग थियो ।
नेपालमै उपलब्ध हुने कृषि लगायत अन्य औद्योगिक वस्तुको उपयोगलाई प्राथमिकता दिन विदेशबाट आयातमा रोक लगाइदिन अध्यक्ष सिंहले माग गरे ।