जेठ १५, काठमाडौं । सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/ ०८० को बजेट चालू आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन्।
अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालूतर्फ कुल ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२ दशमलव ८ प्रतिशत बराबर रहने गरी प्रबन्ध गरिएको छ । त्यस्तै स्थानीय र प्रदेश सरकारलाई वित्तीय अनुदान हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बराबरको बजेट प्रबन्ध गरिएको छ ।
सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ बराबर जोहो गर्ने छ । यस्तै वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरकोे आन्तरिक ऋणबाट जोहो गर्नेछ ।
सरकारले चालू आवमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । त्यसमा संघले गर्ने खर्च ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो । त्यस्तै पूँजीगततर्फ ३ खर्ब ७४ अर्ब २६ करोड रुपैयाँ अर्थात् २२ दशमलव ७ प्रतिशत बराबर थियो ।
त्यस्तै वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ बराबर थियो । त्यस्तै प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बराबर उपलब्ध गराइएको थियो ।
सरकारले आगामी बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ । साथै उसले उपलब्ध प्राकृतिक स्रोत साधन, श्रम शक्ति, पूँजी र प्रविधिको एकीकृत परिचालनबाट रोजगारी सृजना र गरिबी निवारण गर्ने लक्ष्य लिइएको बताएको छ।
हेर्नुस् पूर्णपाठ :