नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा एकसाताको अवधिमा तीन जना सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरेर बच्चा निकालिएको छ । नेपालगञ्ज मेडिकल कलेजले बुधवार एक विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार संक्रमित भै जटिल अवस्थामा पुगेका तीन जना महिलाको कोहलपुरमा सफल शल्यक्रिया गरेर बच्चा जन्माईएएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहनिर्देशक डा नितेश कनोडियाले पछिल्लो पटक भूमी–४ रुकुमकी ३२ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत बच्चा (छोरी) निकालिएको बताउनुभयो ।
उहाँका अनुसार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि ती महिला बैशाख २० गते राती ९ बजेतिर अस्पताल भर्ना भएकी थिइन् ।
ती महिलाको अवस्था जटिल हुन थालेपछि शल्यक्रियामार्फत बच्चा निकालिएको शल्यक्रियामा संलग्न स्त्री रोग बिशेषज्ञ डा कविता सिन्हाले बताउनुभयो । उहाँका अनुसार बच्चाको तौल २ दशमलव ७ किलो छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा सिन्हाले बताउनुभयो ।