विहानैदेखि ठप्प आन्तरिक उडान शुरु
काठमाडौं, मङ्सिर १८ गते । चिसोसँगै बाक्लो हुस्सुका कारण शनिबार विहानैदेखि ठप्प बनेको नेपालको आन्तरिक उडान १० बजेबाट शुरु भएको छ ।
केही काठमाडौंको मौसममा सुधार भएसँगै पोखरा बाहेकका विमानस्थलमा उडान शुरु भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । काठमाडौंमा ८०० मिटर मात्र भिजिवलिटी रहेपछि उडान हुन सकेको थिएन तर हाल १५ सय मिटर भिजिवलिटी पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
उडान शुचारु भएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ट्राफिक जाम शुरु भएको छ । खराव मौसमले अवतरण गर्न होल्डमा रहेका आठ वटा अन्तर्राष्ट्रिय उडानलाई पालो दिदाँ आन्तरिक उडानका लागि तयारी रहेका जहाजले एक घण्टासम्म पालो पर्खनु पर्ने भएको छ । मौसममा सुधार आएसँगै छ वटा अन्तर्राष्ट्रिय जहाज अवतरण भएको र नेपाल एयरलाइन्सको दुई वटा जहाज अवतरण बाँकी रहेको विमानस्थलले जनाएको छ ।
विहिबारदेखि चिसोसँगै हुस्सु र हिमपातका कारण हिमाली जिल्लाका विमानस्थलमा उडान हुन नसकेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार विहानैदेखि मौसममा सुधार नहुदाँ सिमिकोट, डोल्पा, बाजुरा, जोमसोम, रारा, जुम्ला र पुर्वका केही विमानस्थलमा उडान हुन सकेको छैन ।
आन्तरिक वायूसेवाका लागि नौ वटा वायूसेवा कम्पनीले दैनिक करिव ३४० वटासम्म उडान भर्दै आएपनि हाल मौसम खरावीका कारण उडान संख्यामा कमी आएको छ । मौसम पुर्वनुमान महाशाखाका बरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौंमा हावाको गति प्रति सेकेण्ड दुई मिटरसम्म मात्र भएकाले हुस्सु हट्न र हालको मौसममा सुधार आउन केही दिन लाग्ने बताउनुभयो ।