पुस २९, रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका नरसिङ पुन आजभोली आफ्नै खेतबारीमा व्यस्त छन् । तरकारी खेतीबाट घरमै राम्रो आम्दानी हुने भएपछि पुनले व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् ।
लुङ्ग्री गाउँपालिकाको समन्वयमा मानवअधिकार सचेतन केन्द्र हुरेक रोल्पाद्वारा सञ्चालित दिगो तथा मर्यादित, सामाजिक, आर्थिक सशक्तिकरण कार्यक्रमले तालिम तथा कृषि सामग्री सहयोग गरेपछि पुन जस्तै यहाँका दर्जनौ स्थानीयहरु व्यावसायिक कृषिमा लागेका हुन् ।
गाउँमै कृषि प्राविधिकबाट प्राङ्गारिक झोल मल बनाउने ज्ञान पाएपछि उनीहरुलाई थप टेवा पुगेको छ । कृषि प्राविधिक गाउँमै आएर प्राङ्गारिक मल र विषादी बनाउन सिकाएपछि तरकारी खेतीमा सहज भएको लुङ्ग्री गाउँपालिका–१ पाङका रणबहादुर विष्टले बताए ।
‘तितेपाती, सिस्नु लगायतका झारपातबाट विषादी बनाउने गरेका छौं’ विष्टले भने ‘यसको प्रयोगले उत्पादनमा पनि वृद्धि भएको छ ।’
विष्टले टनेलमा लगाएको टमाटरखेतीले राम्रो उत्पादन दिएको छ । तरकारी उत्पादन फस्टाउदै गएपछि आम्दानी पनि बढ्न थालेको उनीहरुको भनाइ छ । गत वर्ष मात्रै झण्डै ३ लाख आम्दानी गरेको विष्टले बताए ।
तालिम र प्राविधिक सहयोग पाएपछि रोल्पाका स्थानीयहरु व्यावसायिक कृषिमा लागेका छन् । तालिमबाट सिकेको सीप र अनुदानमा पाएको सामग्रीको प्रयोग गर्दै तरकारी खेतीबाट स्थानीयले आम्दानी समेत गर्न थालेका हुन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा तालिम र अनुदान पाएपछि यहाँका किसानहरु कृषि व्यवसायमा प्रेरित भएका हुन् ।