नेप्सेको ओरालो यात्रा कायमै : एकै दिन ४१ अंक घटेर २३४३.८७ विन्दुमा झर्‍यो परिसूचक

वैशाख ५, काठमाडौं । नेप्सेको ओरालो यात्रा कायमै रहिरहेको छ । सोमवार पनि परिसूचक ४१ दशमलव ७७ अंक घटेर २ हजार ३४३ दशमलव ७ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२९ धितोपत्रको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयरको ३१ हजार २५ पटकमा रू। १ अर्ब ५३ करोड बराबरको शेयर खरीद विक्री भएको छ ।  लामो समयदेखि घटिरहेको बजारमा वैशाख लागेसँगै विस्तारै बढ्ने आशामा लगानीकर्ताहरु थिए । तर बजार लगानीकर्ताको अपेक्षा विपरित दिनदिनै घट्दै गएको छ । वित्तीय प्रणालीमा तरलता अभाव नै रहेको छ यसोत ब्याजदर पनि बढ्दो मात्रामा रहेको छ । यी कारणले गर्दा पनि बजार बढ्न नसकेको हो । यसोत बजार घट्दै जाँदा कम्पनीहरुको शेयरमूल्य निकै नै सस्तिएको छ । यही अवसरमा विस्तारै बजारमा खरीदकर्ता आउने अनुमान पनि लगाउन सकिन्छ । शेयर बजार भनेकै घटबढ भइरहन्छ । लगानीकर्ताले आफ्नो लगानी रणनीति अनुरुप लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।  सोमवार कारोबारमा आएका २२९ धितोपत्रमध्ये नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ७३७ दशमलव ७० पुगेको छ । त्यसैगरी दोस्रोमा दिव्यश्वरी हाइड्रोपावर शेयरमूल्य ७ दशमलव ९८ प्रतिशत बढेर रू. २७२ पुगेको छ ।  त्यसैगरी सबैभन्दा बढी शेयरमूल्य घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कम्पनीको रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ३३ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५० मा झरेको छ । त्यसैगरी दोस्रोमा हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ७ दशमलव ५७ प्रतिशत घटेर रू. ३३६ दशमलव ९० कायम भएको छ ।  त्यसैगरी सोमवार सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । कम्पनीको रू. ४ करोड ९६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य एक वर्ष यताकै न्यून विन्दुमा आएकाले पनि सर्वाधिक शेयर किनबेच भएको हो ।