विराटनगर । इटहरी र धरान उपमहानरभित्रका बैंक तथा वित्तीय संस्थाहरू सोमवारदेखि बन्द गरिएका छन् । इटहरी उपमहानगरपालिकामा नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले एक साताका लागि बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा इटहरीमा शाखा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो । संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जेठ ३ गतेदेखि ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको बताइएको छ । उक्त अवधिमा एटीएम भने सञ्चालनमा रहने उपमहानगर प्रमुखको सचिवालयका महेश सुवेदीले जानकारी दिए । बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि वित्तीय संस्थाहरूसँग सहयोगको अनुरोध समेत गरेको छ ।
त्यसैगरी धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा सोमवार बसेको बैठकले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लागू गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको सामाजिक महाशाखा प्रमुख गणेश खतिवडाले जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भई हुने सेवा प्रवाह नहुने भएको छ । एटीएम सेवा, मोबाइल बैंकिङ जस्ता सेवा भने सुचारु रहने उनले जानकारी दिए । इटहरी र धरानमा बैंक तथा वित्तीय संस्था सयभन्दा बढी छन् ।