असार ११, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोभिड र प्राकृतिक प्रकोपले पूर्वाधार निर्माणमा धेरै असर पुर्याएको बताएका छन् ।
शुक्रवार शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र कृषि तथा पशुपछी मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोभिडका कारण विकासे मन्त्रालयहरूले लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकेको बताए।
विगतमा निर्माण भएका सडक, पुललगायतका धेरै पूर्वाधार बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको उनले बताए । उनका अनुसार कतिपय ठाउँ सडक सञ्जालबाट सम्पर्कबिहिन नै बनेका छन् । सरकारले निषेधाज्ञा पूरै नहटेसम्म नयाँ ठेक्कामा नजाने निर्णय गरेको उनले बताए ।
भौतिक रूपमा अहिले पाँच जनाले सबै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आएको मन्त्री नेम्वाङले बताए । गत ८ गते सर्बोच्च अदालतले २० जना मन्त्रीलाई फिर्ता गरेपछि पाँच जनाले नै एकभन्दा बढी मन्त्रालयको नेतृत्व गर्नुपर्ने अवस्था आएको उनले बताए।
गत पुस ५ मा विघटन भएको संसद् सर्बोच्च अदालतले पुनःस्थापना गरे पनि त्यसले बहुमतको सरकार दिन नसकेको उनले बताए ।
कोभिडले मानव स्वास्थ्य र आर्थिक क्षेत्र दुवैमा धेरै असर पु¥याएको मन्त्री नेम्वाङले बताए । सरकारले अहिले सडक, रेल, सिंचाइगायतका पूर्वाधार निर्माणको क्षेत्रमा अघि बढाइरहेको पनि उनले बताए ।
‘स्मार्ट सिटी’ अघि बढाउन आवश्यक
मन्त्री नेम्वाङले काठमाडौं उपत्यका र उपत्यका बाहिरका ‘स्मार्ट सिटी’ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले काठमाडौं उपत्यकामा ललितपुर एक ठाउँमा बाहेक अरु तीन ठाउँमा कार्यान्वयन गर्न सकिने देखिएको बताउनुभयो ।
उनले निजी बैङ्कले समेत ‘स्मार्ट सिटी’ कार्यान्वयनमा सहकार्य गर्न चासो देखाइरहेको बताए ।
यसैवीच उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाएको बताएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म एकीन जानकारी आउन नसेको बताए।
मेलम्चीको दोस्रो खण्डको निर्माणमा सुरुङको प्रक्रियामा लामो समय अल्झन नहुनेमा उनको जोड थियो । रासस