श्रीराम सुगर मिल्स र गोर्खाज फाइनान्सको साधारण सभा बिहीवार हुँदै

भदौ २३, काठमाडौं । दुई  अलग - अलग कम्पनीको साधारण सभा  बिहीवार हुने भएको छ ।  श्रीराम सुगर मिल्स र गोर्खाज फाइनान्सले साधारण सभा आयोजना गरेका हुन् । श्रीराम सुगर मिल्स लिमिटेडले २५औं साधारण सभा बिहीवार बिहान ११ बजे अर्पण ब्याँक्वेट नयाँ बानेश्वरमा गर्ने जानकारी दिएको छ । सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सभाले आव २०७६/ ७७ र आव २०७७/ ७८ का लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले भुक्तानी गर्न बाँकी रहेको दायित्वहरुका सम्बन्धमा पनि छलफल गर्ने बताएको छ । सभा कोरोना महामारीलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट हुने छ । त्यसैगरी गोर्खाज फाइनान्स लिमिटेडको स्थगित २६ औं वार्षिक साधारण सभा बिहीवार सभा बिहान ११ बजे होटल क्राउन इम्पेरियल सोल्टीमोडमा हुँदैछ । सभा कारोना महामारीको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट गरिने  कम्पनीले बताएको छ । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै सभाले लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा हेरफेरको लागि नियामक निकायबाट कुनै निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहका तीन जना गरी छ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख २१ गते नै बन्द भइसकेको छ । यस आधारमा वैशाख ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।