नेपालीहरूको दशैंपछिको दोस्रो महान् चाड तिहार नेपालीको घर आँगनमा आइसकेको छ । ज्योतिको पर्वका रूपमा मनाइदिने ५ दिनसम्म मनाइने तिहार, दीपावली, म्हपूजा, आदि पर्वको मिश्रित रूप हो । क्षेत्रगत र जातिगत रूपमा केही भिन्न स्वरूपमा यो पर्व मनाइए पनि यसले नेपालको सांस्कृतिक विशेषतालाई नै उजागर गर्छ ।
तिहारमा गाउँका धेरै उत्पादनले बजार पाउँछन् । फलफूलमात्र होइन, माटो र माटोबाट बनेका पालाले समेत कुनै न कुनै रूपमा स्थानीय अर्थतन्त्रलाई विस्तार गर्न मद्दत गरेको पाइन्छ ।
तिहार प्रकृतिसँग नजिक हुने पर्व हो । एकप्रकारले वातावरणलाई धन्यवाद दिने पर्व हो । यस पर्वमा मानव जीवनसँग गाँसिएका कुकुर, काग, गाई, गोरु आदिको पूजा गरिन्छ भने गोवर्धन पर्वतको पूजा पनि गरिन्छ । द्वापर युगमा श्रीकृष्णले इन्द्रलाई छाडेर जीवनको प्रत्येक कार्यमा साथ दिने गोवर्धन पर्वतलाई पूजा गर्न लगाएको पौराणिक प्रसंगले पनि तिहार र प्रकृति तथा वातावरणको सम्बन्धलाई नै प्रतीकात्मक रूपमा देखाएको पाइन्छ । यसै पनि चाडपर्व र संस्कृति भनेका मानिसका जीवनशैलीसँग गाँसिएका पक्ष हुन् । मनिसको जीवनमा सकारात्मक ऊर्जा भरिदिने र मानिसका सम्बन्धहरूमा प्रगाढता ल्याउने हुँदा यिनको महत्त्व विशेष छ ।
त्यसो त चाडपर्वले अर्थतन्त्रमा दिने योगदानलाई बिर्सन सकिँदैन । दशैं र तिहार नजिकै भएकाले यी दुई चाडपर्वमा आर्थिक क्रियाकलापले निकै गति लिएको पाइन्छ ।
कोरोनाले सुस्त भएको अर्थतन्त्रलाई गति दिन पनि यो चाडले सहयोग पुर्याएको छ । त्यतिमात्र होइन, तिहारमा गाउँका धेरै उत्पादनले बजार पाउँछन् । फलफूलमात्र होइन, माटो र माटोबाट बनेका पालाले समेत कुनै न कुनै रूपमा स्थानीय अर्थतन्त्रलाई विस्तार गर्न मद्दत गरेको पाइन्छ । साथै, अर्को एउटा दुःखद पक्ष पनि छ । त्यो हो, तिहारमा बालिने झिलिमिली बत्तीका लागि ठूलो रकम विदेशिनु ।
तिहारको सम्बन्ध वातावरणसँग जोडिएकै बेला विश्वको वातावरणका मुद्दामा छलफल गर्न कोप २६ सम्मेलन बेलायतको ग्लोस्गोमा भइरहेको छ जहाँ नेपालले पनि सहभागिता जनाएको छ । विकसित मुुलुकका कारण नेपालले वातावरण प्रदूषणबाट जन्मिने असर बढी भोग्नु परिरहेको छ जुन वातावरण प्रदूषणका लागि नेपाल जिम्मेवार छैन । त्यसैले यस सम्बन्धमा नेपालले स्पष्ट आवाज त उठाएको छ । तर, त्यसको सुनुवाइ विकसित मुलुकले गर्नेमा भने आशंका नै छ ।
तिहारको झिलिमिलीकै समयमा नेपालबाट बिजुली निर्यात हुन थालेको छ । दीपोत्सवको पर्वमा नै यो शुरू भएको छ जसलाई सानो भए पनि निकै सकारात्मक कदम मान्न सकिन्छ । दीपावलीको सेरोफेरोमा यो शुरू भएकाले धार्मिक विश्वासका आधारमा यसलाई शुभसंकेत मान्न पनि सकिन्छ । बिजुली निर्यातलाई कतिपयले ठूलो उपलब्धि मानेका छन् । तर, त्यस्तो ठूलो उपलब्धि भने होइन यद्यपि ऐतिहासिक भने हो । यो सानो प्रगति हो जसले भविष्यमा सम्भावनाको ठूलो ढोका खोल्न सक्छ ।
अहिले भारतले आफूले लगानी गरेको कम्पनीबाट मात्रै बिजुली किनेको छ । हाम्रो कूटनीतिलाई अझ अघि बढाएर अन्य प्रोजेक्टको बिजुली पनि विक्री गर्ने वातावरण बनाइनु पर्छ । चिनियाँ लगानीका बिजुली किन्न मनाउन तत्काल गाह्रो होला तर नेपाली प्रवर्द्धकका बिजुली विक्री गर्ने वातावरण बनाउन नेपालले कूटनीतिक पहल गर्नु आवश्यक छ । विगतका समयमा भन्दा अहिले भारत केही लचिलो बनिरहेको सन्दर्भमा कूटनीतिक सक्रियता र चातुर्य देखाउन सके बढी लाभ लिन सकिन्छ ।
त्यसो त अहिले भारतलाई सस्तोमा बिजुली बेच्यो भनेर प्राधिकरणको आलोचना गर्नेको संख्या पनि कम छैन । महँगोमा किनेर भारतलाई सस्तोमा बेचेको भन्दै त्योभन्दा महँगोमा नेपाली उद्योगहरूलाई बेच्न सकिने तर्क गरिएको पाइन्छ । तर, के बिर्सनु हुँदैन भने नेपालीलाई नदिएर भारतलाई बिजुली बेचेको होइन, खेर गएको बिजुलीमात्र बेचेको हो । वर्षायाममा सस्तोमा बेच्ने र हिउँदमा महँगोमा किन्ने गर्दा पनि समग्रमा मुलुकलाई फाइदा नै हुन्छ ।
जेहोस् उज्यालो पर्वले नेपालीहरूको जीवनमा सुख, शान्ति र ऐश्वर्य ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।