काठमाडौं । स्प्रिङ सिजनका लागि पर्वतारोहण खुला भएसँगै सगरमाथा आरोहणका लागि ४६६ जना पर्वतारोही सगरमाथाको आधार शिविर पुगेका छन् । अहिले पर्वतारोहणका लागि अभ्यास गरिरहेका आरोहीहरू अबको १ सातापछि आधार शिविरबाट सगरमाथाको चुचुरोतिर प्रस्थान गर्नेछन् ।
पर्यटन विभागका अनुसार मौसम प्रतिकूल नभए अबको ८ दिनपछि ती पर्वतारोहीले आरोहण शुरू गर्नेछन् । त्यसका लागि पर्यटन विभागले सम्पर्क अधिकृत खटाउने, बाटो बनाउने र अन्य सहजीकरणका काम तीव्र पारेको विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिए । अहिले सगरमाथाको आधार शिविरमा उक्त संख्या, ल्होत्सेमा ११० र नुप्त्सेमा ७० जना आरोही पुगेको उनको भनाइ छ ।
मौसम अनुकूल भए आइतवार र सोमवारदेखि आधार शिविरभन्दा माथिका क्याम्पहरूका रुट बनाइने उनको भनाइ छ । ‘अहिले सम्पर्क अधिकृतहरू आधार शिविरमा छन्,’ खतिवडाले भने, ‘यसपटक सगरमाथाको आधार शिविरमा अनुगमन समितिको सम्पर्क कार्यालय स्थापना भएकाले थप सहज हुनेछ ।’ चक्रीय प्रणालीअनुसार सम्पर्क अधिकृतहरू त्यहाँ खटिनेछन् । सरकारले यो सिजनका लागि अनुमति खुला गरेपछि सगरमाथासहितका हिमाल र चुचुरा आरोहण गर्न हालसम्म १ हजार ७९ जनाले अनुमति पाएका छन् ।
हिमाल तथा उचाइअनुसार आरोहणका लागि निश्चित समय तोकिएको हुन्छ । सगरमाथा अनुमति पाएको ७५ दिनभित्र आरोहण गरिसक्नुपर्ने विभागको प्रावधान छ । विभागले हालसम्म २४ ओटा हिमाल तथा चुचुरा आरोहणका लागि अनुमति जारी गरेको छ । अनुमति जारी गरिएका हिमाल तथा चुचुराहरू ६ हजार मीटरभन्दा माथिका छन् । कोरोना महामारीपछि यो सिजनमा सर्वाधिक आरोहीले आरोहण अनुमति लिएको विभागको भनाइ छ ।
विभागले हिमाल आरोहण अनुमति जारी गरेर हालसम्म ७३ करोड ९७ लाख रुपैयाँ शुल्क उठाएको छ । त्यसमध्ये सगरमाथाको मात्रै ६५ करोड ५ लाख रुपैयाँ रहेको छ । यसपछि बढी राजस्व उठ्ने हिमाल ल्होत्से हो । उक्त हिमाल आरोहणका लागि १२६ जना आरोहीलाई अनुमति दिँदा विभागले २ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, मकालु आरोहणका लागि ५८ जनाले अनुमति लिएका छन् । त्यसबाट १ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
विभागको पछिल्लो तथ्यांकअनुसार यो सिजनमा हिमाल आरोहणका लागि ८० देशका पर्वतारोहीले अनुमति लिएका छन् । अनुमति लिनेमा महिला पर्वतारोहीको संख्या २५२ रहेको विभागको तथ्यांक छ । विभागका अनुसार सबैभन्दा धेरै पर्वतारोही अमेरिकी छन् । चीनबाट आउने पर्यटकको संख्यामा उल्लेख्य सुधार देखिएसँगै पर्वतारोहणका लागि अनुमति लिनेको दोस्रो स्थानमा सोही देशका पर्वतारोही छन् । हालसम्म हिमाल
आरोणका लागि महिला र पुरुष गरेर १६३ जना अमेरिकी पर्वतारोहीले अनुमति लिएका छन् । ११३ जना चिनियाँ पर्वतारोहीले त्यस्तो अनुमति लिएको विभागले जानकारी दिएको छ । भारतीय पर्वतारोहीको संख्या ९० छ ।