स्वावलम्बन लघुवित्तको खाद्यान्न सहयोग

वीरेन्द्रनगर (अस) । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विपन्न परिवारका लागि खाद्यान्नलगायत राहत प्याकेट वितरण गरेको छ । संस्थाको सुर्खेत शाखाले कोरोना भाइरसका कारण रोजगारी गुमाएर छाक टार्न समस्या भएका परिवारलाई राहतस्वरूप खाद्यान्न तथा नगद वितरण गरेको हो । संस्थाले आफ्ना सदस्यलाई चामल, दाल, तेल, नुन, साबुनलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेको छ । शाखा कार्यालय वीरेन्द्रनगरबाट अहिलेसम्म २१ जना सदस्यलाई उक्त राहत वितरण गरिएको संस्थाले बताएको छ । संस्थाले कोभिड संक्रमण भई आइसोलेसनमा बसेकालाई पौस्टिक आहाराका लागि नगद एक हजार पाँच सय सहयोग गर्दै आएको छ । अस्पतालमा उपचार गराउनुपर्ने संक्रमित बिरामीको हकमा अवस्था हेरी जनही १० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइएको सुर्खेत शाखा प्रमुख पवन सुवेदीले जानकारी दिए ।