कोकाकोला र नेपाली सेनाको हिमाल सफाइ अभियानको प्रगति ५० प्रतिशत

काठमाडौं (अस) । नेपाली सेनाको संयोजनमा सरकारले सुरु गरेको हिमाल सफाइ अभियान २०२१ कार्यक्रमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र अमादब्लामलगायत ६ वटा हिमालयबाट फोहोर संकलनको आधा काम पूरा गरेको छ । यो अभियानमा पेय पदार्थ ब्रान्ड कोकाकोलाको सहभागिता छ । यो टोलीमा अनुभवी शेर्पा सदस्य र नेपाली सेना गरी ११२ जना सदस्य रहेका छन् । २०२१ अप्रिल १३ मा सुरु भएको अभियानअन्तर्गत हालसम्म ६ वटा हिमालयबाट २१,१६७ किलोग्राम फोहोर संकलन गरिएको नेपाली सेनाले जनाएको छ । टोलीले संकलन गरेको फोहोमा खारेज गरिएको अक्सिजन ट्यांक, परित्याग गरिएका टेन्ट, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, आल्मुनियम, इलेक्ट्रानिक फोहोर समावेश छन् । यसबाहेक पहिला दुर्घटना भएको ९एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँबाट पर्वतारोहण गियरसहित दुई मानव अवशेष पनि धौलागिरि टोलीले फेला पारेको छ । मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धान सुरु गरिएको सेनाले बताएको छ । हिमाल सफाइ अभियान २०७८ का मिडिया को–अर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दीपक भण्डारीका अनुसार ६ वटा हिमाल सफा गर्ने उदेश्यले अभियानमा खटाइएको टोलीले स्थानीय सरकारसँगको  समन्वयमा रहेर फोहोर संकलन गरिरहेको छ । अभियानको लक्ष्य भनेको प्रकृति र वातावरण संरक्षण गरेर ६ वटा हिमाल सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु रहेको भण्डारीले जानकारी दिए । फोहोर संकलन सम्पन्न भएपछि संकलित फोहोर थप रिसाइक्लिङका लागि सम्बन्धित कम्पनीलाई हस्तान्तरण गरिने नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले बताए ।

सम्बन्धित सामग्री

हिमालबाट ३५ टन फोहोर संकलन गरिने

यस वर्षको हिमाल सफाइ अभियान सुरु भएको छ । नेपाली सेना र विभिन्न संघसंस्थाको सहकार्यमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान २०२३’ को थालनी भएको हो । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सफाइ अभियानका लागि झण्डा वितरण गरेर हिमाल सफाइ अभियानको सुरुवात गरेका छन् । प्रधान सेनापति शर्माले हिमाल सफा […]