एक अर्बको लगानीमा स्टील उद्योग

नवलपरासीमा झन्डै एक अर्ब लगानीमा स्टील उद्योग स्थापना हुने भएको छ । ६ करोड रुपैयाँ लगानीमा नेपाल स्टील प्रालि नामको उद्योग स्थापना हुन लागेको हो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका लगानीकर्ताको समूहले उद्योग स्थापनाको तयारी गरेको हो । ‘एक वर्षभित्र उद्योग सञ्चालन गर्ने योजनामा छौं,’ कम्पनीका अध्यक्ष गुरुङले भने । उद्योग विभागले नेपाल स्टीललाई उद्योग स्थापनाका लागि चैत ४ गते नै अनुमति प्रदान गरेको छ । नवलपरासीको तिलकपुरमा स्थापना हुने उक्त उद्योगको स्टील उत्पादन क्षमता वार्षिक १ देखि डेढ लाख मेट्रिक टन रहने बताइएको छ । स्टील उद्योगमा मीनबहादुर गुरुङसहित आनन्द नेपाल, तेन्जिङ सोनाम लामा र स्वरूप गुरुङको लगानी रहेको छ । उद्योगको प्लान्टलगायतका उपकरण खरिदका लागि प्रतीतपत्र (एलसी) खोल्ने काम भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए । कात्तिक/मंसिरसम्म उद्योगको भौतिक पूर्वाधार निर्माणको काम पूरा गर्ने योजना रहेको उनले बताए । स्टील उद्योगले फलामे छड तथा फलामसम्बन्धी अन्य उत्पादन गर्ने बताइएको छ ।     वर्ष ५, अंक ४४, २०६७, असार २१– २२