काठमाडौं। नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)ले शुक्रवार काठमाडौंमा १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभालाई इटाली र नेपालबीच बलियो व्यावसायिक सम्बन्ध प्रवर्द्धन गर्ने चेम्बरको प्रयासमा एउटा महत्त्वपूर्ण कदम भएको बताइएको छ ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका साथै अन्य अतिथिको उपस्थिति थियो । कार्यक्रममा एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवाल, एनआईसीसीआईका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मन्त्री शर्माले ‘एनआईसीसीआई डाइरेक्टरी’को अनावरण गरेकी थिइन् । कार्यक्रममा वक्ताहरूले एनआईसीसीआईले विगत वर्षमा हासिल गरेका उपलब्धिबारे छलफल गरेका थिए । उक्त छलफलमा नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई थप वृद्धि गर्ने चेम्बरको प्रयासमा जोड दिइएको थियो । एनआईसीसीआईका अध्यक्ष अग्रवालले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्न संस्थाको अटल प्रतिबद्धता रहने बताए ।