फिफाले पनि लगायो रुसमाथि प्रतिबन्ध, विश्वकप छनौट खेल नै प्रभावित हुने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुस माथि विभिन्न प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेपछि फिफाले रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा अध्यक्ष र ६ वटा महादेशको फुटबल संघका अध्यक्ष सम्मिलित फिफा काउन्सिलको बैठकले रुस माथि प्रतिबन्ध लगाएको हो । जस अनुसार अब अर्को निर्णय नभएसम्म रुसमा कुनै पनि अन्तराष्ट्रिय फुटबल खेल संचालन गर्न पाउने छैन । रुस आफै सम्मिलित खेल पनि तेस्रो मुलुक (न्युट्रल भेन्यु) मा गर्नु पर्ने छ र दर्शक राख्न पाईने छैन । साथै रुसले रुसको नामबाट कुनै पनि फुटबल प्रतियोगिता खेल्न पाउने छैन । खेल्नु परेमा उसले फुटबल युनियन अफ रसियाको नामबाट खेल्नु पर्ने छ र त्यस खेलमा रुसको राष्ट्रिय गान र राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने छैन । यस संगै रुसको विश्वकप छनौट खेल प्रभावित हुने भएको छ । सन् २०२२ मा हुने कतार विश्वकपको छनौटमा रुस र पोल्याण्डबीच प्रतिस्पर्धा हुनु पर्ने तालिका छ । तर पोल्याण्डले रुससँग प्रतियोगिता नखेल्ने घोषणा गरेको छ । फिफाले यसबारे जानकारी लिएको र छलफलपछि उचित निर्णय लिने जनाएको छ । चेक रिपब्लिक र स्विडेनले पनि रुस सँग कुनै पनि फुटबल नखेल्ने घोषणा गरेका छन् ।