दुगुनागढीलाई ‘होमस्टे हब’ बनाउन जुटे युवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको ऐतिहासिक स्थल दुगुनागढी र सो क्षेत्र आसपासलाई ‘होमस्टे हब’को रूपमा विकास गर्न स्थानीय युवा अग्रसर भएका छन् । उनीहरूले सो क्षेत्रमा पर्यटक भित्र्याउन विशेष अभियान नै शुरू गरेका छन् । दुगुनागढी क्षेत्रमा भूकम्पपछि द्वारिका फाउण्डेशनले निर्माण गरेको एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरिएको छ । शेर्पा समुदायको बाहुल्य रहेको एकीकृत बस्तीमा निर्माण गरिएको होमस्टेमा अंग्रेजी नयाँ वर्षको शुरुवातसँगै युवाहरूले शेर्पा समुदायको सांस्कृतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सञ्चालन गरेर आन्तरिक पर्यटकलाई भित्त्याउने अभियान थालेका हुन् । फाउण्डेशनले निर्माण गरेको यर्मासिं एकीकृत बस्ती गत दशैंमा स्थानीयलाई हस्तान्तरण गरिएको थियो । एकै प्रकृतिका ५१ ओटा घर रहेको एकीकृत बस्तीलाई नै स्थानीयले होमस्टेको रूपमा विकास गरेका हुन् । ‘यर्मासिं होमस्टे’ नाम दिइएको सो होमस्टे एकैपटक ५० देखि ६० जनासम्मलाई आवास र खानपान गर्न मिल्नेगरी तयार भइसकेको स्थानीय अगुवा निमा सोनाम शेर्पाले बताए । ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा विकास गराउन अभियान थालिएको स्थानीय आङछिरी शेर्पाले बताए । ‘ओझेलमा परेको ऐतिहासिक किल्ला दुगुनागढी तथा एकीकृत बस्तीमा बनेको होमस्टेलाई देशव्यापी प्रचार गरेर पर्यटक भित्त्याउने अभियानमा लागेका हौं,’ शेर्पाले भने । भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त गढीको संरक्षण गर्न पुरातात्त्विक विभाग तथा नेपाली सेनाको पहल भए पनि तीनओटै तहका सरकारले खासै चासो नदिएको उनको भनाइ छ । ‘गढीको संरक्षण तथा विकास गर्न सरकारललाई अभियान मार्फत घचघचाउन हामी लागिपरिरहेका छौं,’ उनले भने । ऐतिहासिक गढीसँगै जोडिएको एकीकृत बस्ती यर्मासिं होमस्टेलाई देशकै नमूना होमस्टेको रूपमा विकास गर्न लागिएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले बताए । भूकम्पका कारण पुरानो मौलिक सांस्कृतिक संरचना नष्ट भए पनि पुनर्जीवित गर्न लागिएको उनको भनाइ छ । दुगुनागढीमा आउने बाह्य पर्यटकलाई राख्ने उद्देश्यले ३०औं वर्षअघिको होमस्टे अवधारणा जिल्लाकै पुरानो भएको उनले बताए । होमस्टे सञ्चालनमा आएसँगै पर्यटकको आगमन बढ्न थालेको होमस्टे व्यवसायी बताउँछन् । पर्यटकलाई शेर्पा समुदायले दिने सेवा, सत्कार स्मरणयोग्य रहेको सो क्षेत्रको भ्रमण गरेर फर्किका ताप्लेजुङका कृष्ण भुजेलले बताए । पर्यटक होमस्टेमा पुग्नासाथ शेर्पा समुदायले आफ्नो संस्कृति अनुसार सत्कार गर्छन् । पाहुनाले चाहेको अनुसारको परिकार बनाइन्छ । त्यस्तै बेलुका साँझ शेर्पा समुदायले पाहुनाका लागि शेर्पा नाच लगायत सांस्कृतिक मनोरञ्जन प्रदान गर्दछन् । पर्यटकलाई बास, खाना तथा आरामका लागि निर्माण गरिएको होमस्टे लार्चा सुक्खा बन्दरगाहबाट ५ किलोमिटर माथि पर्दछ । तर कच्ची सडक, त्यसमाथि खाल्डाखुल्डी धेरै भएपछि पर्यटकलाई होमस्टेमा ल्याउन कठिनाइ झेल्नुपरेको होमस्टे सञ्चालक पासाङ शेर्पाले बताए । सडकको स्तरोन्नतिमा गाउँपालिकाले चासो नदिएको उनको गुनासो छ । भोटेकोशी गाउँपालिकाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भैरवकुण्ड पुग्न पर्यटकले यार्मासिं होमस्टे, दुगुनागढीको बाटो प्रयोग गर्दछन् । भोटेकोशी गाउँपालिकामा दुगुनागढी, भैरवकुण्ड, लिस्तीमाई, नारानथान, बन्जीजम्प लगायत दर्जनौं पर्यटकीय गन्तव्य रहेको गाउँपालिकाले बताएको छ । पालिकामा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण पालिका लागिपरेको अध्यक्ष राजकुमार पौडेलले बताए ।