काठमाडौं । न्यू बिजनेश एजले शुक्रवार (आज) आयोजना गरेको न्यूबिज समिट एण्ड अवार्ड्सअन्तर्गत प्यानल डिस्कसन सकिएको छ ।
‘टुवार्ड्स स्टार्टअप नेशन’ थिममा भएको प्यानल डिस्कसनमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतम, आर एण्ड डी इन्नोभेटिभ सोलुसन प्रालिकी फाउन्डर सुनिता न्हेमाफुकी, उपायका को–फाउन्डर राहुल मल्ल ठकुरी वक्ताका रूपमा सहभागी भए । यसको सहजीकरण भिकासा टेकका को–फाउन्डर एवं हेड अफ अपरेशन अस्मोद कार्कीले गरे ।
प्यानल डिस्कसन अघि सस्तो डिलका प्रबन्ध निर्देशक अमन थापाले स्टार्टअप बिजनेश गर्दा आफूले भोगेका केही अनुभव सुनाए । ‘आत्मविश्वासका साथ उद्यममा लाग्नुपर्छ, अनेक समस्या आए पनि,’ उनले भने ।
त्यसपछि सहजकर्ता कार्कीले सुनितालाई प्रश्न गरे– स्टार्टअप युनिकर्न हुनका लागि लगानी, कोषको कुरा कसरी हुन्छ ? कृषिको घट्दो छ, सेवाको बढ्दो छ, यसमा कृषि क्षेत्रमा कसरी ल्याउन सकिन्छ ?
सुनिताले जवाफ दिइन्– कृषिमा लाग्ने गरीब हुन्छन्, लगानी हुँदैन, उद्यम पनि हुँदैन भन्ने भाष्य अहिले पनि समाजमा छ । विश्वमा कृषिपछि उद्योग र सेवा छ । तर, नेपालमा कृषिबाट एकैपटक ५ नम्बरमा अर्गानिक उत्पादन पर्छ । अर्गानिकका लागि नेपाल प्रमुख पर्छ । कृषिका उत्पादनलाई उद्योगसँग जोड्नुपर्छ । कृषिलाई उद्योगसँग जोड्नका लागि कृषिमा लागेको हो । उद्योगसँग जोड्नका लागि कसैले पैरबी गर्नुपर्छ भन्ने हो । खाद्य उद्योगको महत्त्व बढेको छ । कृषिमा लाग्नेहरूलाई सहयोग गर्न हामी छौं । उद्यमी जन्माउनका लागि काम गरिरहेका छौं ।
कार्कीले राहुललाई सोधे– नेपालजस्तो ठाउँमा सडकको अवस्था, प्रविधिमा कसरी काम गरेको छ ?
उनले जवाफ दिए– ४ वर्ष भयो शुरु भएको । सन् २०१८ को अन्तिमतिर प्रविधिको उपयोग, स्मार्टफोन, इन्टरनेटको प्रयोग बढ्दो थियो । नेपालमा लजिष्टिकबाहेक अन्यमा प्रविधिको उपयोग राम्रो थियो । ई–कमर्शबाट फुड अन्य सर्भिस थियो । शुरु गर्नुभन्दा पहिला निकै अनुसन्धान तथा अध्ययन गरिएको थियो । ढुवानी गाडीहरूलाई बुक गरेर शुरु गरिएको व्यवसाय हो ।
कार्कीले गौतमलाई प्रश्न गरे– व्यापार तथा निर्यात प्रवर्द्धन गर्न सरकारी निकायसमेत छ, मान्छे पठाउने भएको छ, सरकारले मान्छे मात्रै पठाउने हो ?
गौतमले जवाफ दिए– २/३ ओटा प्याक्टर हुनुपर्छ । इकोसिस्टमको प्रमुख तत्व सरकार हो । अर्काे माइन्डसेट पनि हो । सक्षम जनशक्तिलाई निर्यात गर्ने नीतिमा ग्याप छ । स्टार्टअप नीतिमा काम भइरहेको छ । स्टार्टअप उद्यम कर्जाको काम विभागले पाएको छ । बीउ पुँजीको रूपमा सघाउने गरी कर्जा दिने भनिएको छ । त्यसअनुसार काम भइरहेको छ । बिजनेश एकातिर, आइडिया अर्काेतिर छ । स्टार्टअप इकोसिस्टममा सरकारले काम गरिरहेको छ ।
कार्कीले फेरि गौतमलाई प्रश्न गरे– स्टार्टअप फन्ड बनाउने गरेर २०१६ मा आयो । भारतमा युनिकर्न बन्न साढे सात वर्ष लाग्ने रहेछ, हाम्रो नीति बल्ल कार्यान्वयनमा आयो । यो कार्यविधि किन महत्त्वपूर्ण छ ?
गौतमले भने– परिभाषा सरकारले तयार गरेको छ । सरकारले कर्जा दिने प्रयोजनको कार्यविधि हो । ५० लाख रुपैयाँको कारोबार, स्थिर पुँजी २ करोड रुपैयाँ, इनोभेसनलगायतका प्रावधान तोकिएका थिए । प्रडक्ट तथा सर्भिसले समाजले भोगेका समस्याको समाधान गर्ने पनि हुने । मुल्यांकनको पाटो पनि छन् । १० वर्षदेखि सुनिँदै आएको हो । अर्थ मन्त्रालय, योजना आयोगमा ७०० निवेदन अहिले पनि पेन्डिङ छन् ।
कार्कीले सुनितालाई प्रश्न गरे– कृषिलाई प्रविधिसँग जोड्नु भएको छ ?
सुनिताले भनिन् – काममा लाग्दा अध्ययन पनि शुरु गरौं । अध्ययन नगरेर बजारसँग प्रतिस्पर्धा गर्न सकिन्न । बंगलादेश र भारतबाट प्रभावित भएकी हुँ । भारतमा कसरी कृषिमा प्रविधिको विकास भएको छ भन्ने विषयमा ।
बैंकलाई खोला भएको जग्गा हुँदै हुँदैन । तर, कृषिलाई खोला भएको जग्गा नै चाहिन्छ । कम आम्दानी भएकालाई कृषि पहिलो उद्यम हो । कृषि मासिकबाट काम गरें । किसानलाई पेपरबाट सूचना पुर्याए । कोभिडको बेलामा प्रविधिको प्रयोग छिटो छिटो विस्तार भयो । किसान क्रेडिट कार्ड, क्युआर कोड लागू भयो । एउटा वडामा एक जना उद्यमी जन्माइयो भने किसान क्रेडिट कार्ड लागू गर्न सकियो । बैंकसँग सहकार्य गरे । सफ्टवेयरमा भएका कम्पनीलाई पार्टनर बनाइयो र अहिले सरकारले पनि मान्यता दिँदैछ । कृषिमा आउनका लागि अफ्रिका र भारत भ्रमण गरौं ।
कार्कीले राहुललाई प्रश्न गरे– फण्ड पाउन कत्तिको सजिलो छ ?
राहुलले उत्तर दिए– बन्दाबन्दीअघि बिजनेश रन गरेको १ वर्ष भइसकेको थियो । फण्ड जुटाउनका लागि विभिन्न संस्थाहरूसँग सहकार्य गरिएको थियो । डोल्मासँग सञ्चालनका लागि सहयोग भयो । डोल्मासँग सेक्टर मिल्दा लगानीमा समस्या भएन । लगानी गर्दा कहाँ गर्ने, कसरी गर्ने, फन्ड उठाउँदा उनीहरूको इच्छा कता छ भन्ने कुरा पनि ख्याल गरौं । समूह पनि उत्तिकै महत्त्वपूर्ण हुने र विश्वास गर्ने टिम पनि जरुरी हुन्छ । अन्तरराष्ट्रिय लगानीकर्ताहरूले पनि जोखिम हेरेका हुन्छन्, यसमा पनि गृहकार्य गर्दा लगानी उठाउन अप्ठ्यारो हुँदैन ।
कार्कीले प्रश्न गरे– धेरैजसो युवाहरू बाहिर छन् । एफडीआई ५ करोडबाट घटेर २ करोडमा आयो । एफडीआईको सीमा घटाउने हो ?
गौतमले भने– फण्ड स्टार्टअपमा मात्रै नभई अन्यमा पनि छ । लगानी त्यत्तिकै पाइँदैन । सबै स्टोरी सक्सेस हुँदैन ।
सरकारले नीति बनाउँदा निजी क्षेत्रलाई सोधेर र संयुक्तरूपमा बनाइन्छ । एफडीआई घटाउने/बढाउने भनिएको छ, स्टार्टअप र आईडीया भएमा ३०.५० लाख ल्याउने भन्नेमा छलफल छ । २ करोड भनिए पनि रेस्टुरेन्टमा लगानी देखिएको छ ।
कार्यक्रममा सहभागीहरूले पनि प्यानल स्पिकरलाई प्रश्न गरेका थिए । सहभागी सन्तोष देवकोटाले गौतमलाई प्रश्न गरे– नेपाली लगानीको संस्कार कस्तो छ भने बनिबनाउ विषयमा लगानी गर्ने हाबी छन् । नेपाली समाज सुहाउँदो आइडियामा काम भएको छैन, सोच नै छैन । दुर्भाग्य हो । शुरुवाती बिजनेश उद्यम गर्नेलाई सरकारले कसरी सघाएको छ ?
गौतमले जवाफ दिए– सबै स्टार्टअपलाई इकोस्टम संस्कारको आवश्यक छ । यो घरबाट नै शुरु हुनुपर्छ । इकोसिस्टमको ७८ ओटा तत्व छन् । धेरै राम्रा स्टार्टअप पनि छन् । स्टार्टअप भनेर केन्द्रित नभए पनि बिजनेशका लागि नेपालमा नीतिनियम छन् । अब आउने नीति तथा कार्यक्रमले सम्बोधन गर्ने गरी नै नीति मस्यौदा भएको छ ।
अर्का सहभागी कुवेर पाठकले सुनितासमक्ष जिज्ञासा राखे– यो पुस्ताले कुन समयमा कुन खेती गर्ने भन्ने बिर्सिए । ७ वर्षमा धेरै जमिन बाँझो बन्दैछ, अहिलेका युवालाई कृषिमा आकर्षित गर्न सकिँदैन ?
सुनिताले जवाफ दिइन्– इजरायलमा ३ प्रतिशत कृषक छन्, उनीहरूले निर्यात गर्छन् । इन्जिनियर लगायतका पेशामा भएका पनि कृषि संलग्न छन् । कृषिमा दुःख हुन्छ भनेर कृषिमा नलागेको सोच छ यहाँ । यसलाई उद्योगसँग जोड्न आवश्यक छ ।
अर्का सहभागी गोविन्द चापागाईंले गौतमलाई प्रश्न गरे– लगानी छैन भन्ने कुरा आएन । तर, समन्वय भएन भन्ने कुरा हो । माइक्रोफाइनान्सको ४ खर्ब लगानी कृषिमा छ । पैसा दियो तर, परियोजना दिएन भन्ने कुरा अहिले आएको छ, छरिएको पैसालाई कसरी उपयोग गर्ने भन्ने सरकारले के कसरी सघाउँछ ?
गौतमले जवाफ दिए– साना, महिला, लघु उद्यमको २२ अर्ब रुपैयाँ सोधभर्ना भएको छ । निजी क्षेत्रले नै गर्नुपर्छ, सरकारले सघाउँछ ।