न देखिन्छ हिमाल, न उड्छ जहाज : प्रदूषणले जनजीवन प्रभावित

बाक्लो तुवाँलो लागेपछि पोखरासहित देशैभरको मौसम बिग्रिएको छ । मौसमकै कारण आइतबार दिउँसो १ बजेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । त्यसपछि मात्रै विमान आवागमन भएको छ । पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहँदा हवाई सेवासमेत अनियमित बनेपछि यात्रु प्रभावित भएका छन् । एक सातादेखिको तुवाँलोका कारण शनिबार पोखरा आउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पूर्वनिर्धारित कार्यक्रम नै रद्द भएको थियो । यो क्रम केही दिनदेखिकै हो । तुवाँलो लाग्न सुरु भएदेखि नै हवाई सेवा प्रभावित हुँदै आएको छ । शुक्रबार पोखराबाट दैनिक ३३ उडान हुनेमा तीन उडान मात्र भएका थिए । शनिबार विमानस्थलबाट उडान नै भएनन् । भिजिबिलिटी कम भएकाले उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।