कोरोना महामारीका कारण भक्तपुरमा लाखौँको तरकारी नष्ट

असार ७, भक्तपुर । कोरोना महामारीका जारी गरिएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी विक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो ।  किसानले तरकारी विक्री गर्न नपाएपछि गाई भैसीँलाई खुवाउनु परेको र बाँकी धेरै तरकारीमाथि नै ट्रयाक्टरले जोतेर धान रोपाइँ गर्नुपरेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरीले पाँच रोपनी जग्गामा लगाएको काउली र बन्दा खेतमै कुहाउनु परेको बताए । गत वर्ष पनि यही पीडा भोगेको उनले यस वर्ष पनि गाईलाई खुवाएर बाँकी भएको तरकारी खेतमै कुहाएर मल बनाउनु परेको बताए । गाउँका किसानले निषेधाज्ञाका कारण भक्तपुर बजारसम्म बिक्रीका लागि तरकारी ल्याउन सकेनन् भने पहिला तरकारी लिँदै आएका व्यापारीले समेत तरकारी विक्री हुँदैन नल्याउनु भनेपछि खेतमै कुहाउनु परेको हो । ‘पाँच रोपनी जग्गामा काउली र बन्दा लगाएका थियौँ, बजार बन्द भएकाले हामीले गाउँबाट तरकारी बजार लान सकेनौँ, पहिला तरकारी दिँदै आएको व्यापारीले पनि नल्याउनु भन्यो’, गिरीले भने, ‘कतिपय काउली, बन्दा र फर्सी गाईलाई खुवायौँ, बाँकी भएको खेतमै कुहाएर धान रौप्यौँ तरकारी विक्री नहुँदा यस वर्ष रू. तीन लाख नोक्सान भयो ।’ तरकारीबाट गत वर्षको लकडाउनले रू. दुई लाख नोक्सान भएको र यस वर्ष मल र ज्यालाको पैसा पनि उठाउन नसकेको उनको गुनासो छ ।  स्थानीयवासी समिता गिरीको गुनासो पनि उस्तै छ । जग्गा भाडामा लिएर तीन रोपनीमा लगाएको तरकारी फलेपछि विक्री गर्न नपाएको उनी बताउँछिन् । उनी केही तरकारी विक्री गर्न थालेको बेलामा निषेधाज्ञा हुँदा तरकारी विक्री नहुँदा जग्गाको भाडा तिर्ने पैसा पनि नउठेको बताउँछिन् । स्थानीयवासीको घरघरमा काउली, बन्दा, फर्सी, बोडी फलाउने भएकाले गाउँमा पनि विक्री नहुने र कतिपय सित्तैमा बाँडेको उनको गुनासो छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजुराम कार्कीको गुनासो पनि उस्तै छ । उनको गत वर्षको लकडाउनमा रू. तीन लाख नोक्सान भएको थियो । यो वर्ष रू. चार लाख नोक्सान भएको छ । तरकारी विक्री नहुँदा खेतमै कुहिएको गुनासो गर्दै उनले कोरोनाले गर्दा किसान मारमा परेको बताए । भक्तपुर नगरपालिका, सूर्यविनायकको सिपाडोल, नंखेल, चित्तपोल, चाँगुनारायणको ताथली, सुडाल, वागेश्वरीलगायतका क्षेत्रमा फलाइएको तरकारीले बजार नपाउँदा किसान मारमा परेका हुन् । नगरपालिकाले नोक्सानमा परेका किसानको पहिचान गरी बीउ र मलमा मात्रै राहतको व्यवस्था गर्न सके पनि किसानलाई सहज हुने उनीहरुको भनाइ छ । रासस