रैथानेको हातबाट फुत्किंदै उपत्यकाका घरजग्गा, सयौं रोपनीका मालिकसँग २ मिटर मात्रै जमीन !

माघ १४, काठमाडौं । काठमाडौं उपत्यकाको एउटा सांस्कृतिक शहर हो, कीर्तिपुर । यहाँ भक्तपुर र ललितपुरमा जस्तै नेवार समुदायको बाक्लो बस्ती छ । कीर्तिपुरमै बसेर पुस्तौ पुस्ता व्यतित गरेका रैथाने नेवार समुदायका सयौं व्यक्तिहरुसँग अहिले पुस्तेनी सम्पत्तीबाट आएको एक/डेढ आना जग्गा मात्रै बाँकी छ । २ मिटर पनि चौडाइ नभएको जग्गामा २/३ तला उठाएर नाम मात्रैको घर बनेका छन् । तीन तलामा तीन ओटा कोठा निकाले पनि त्यो सबै जोड्दा एउटा ठूलो कोठा बराबरको क्षेत्रफल मात्रै होला । त्यहि घरमा उनीहरुका २/३ जनासम्म सन्तान पनि हुर्कीरहेका छन् ।  भोलि उक्त घरजग्गा २/३ भाग गर्नुपर्यो भने आधा आना भन्दा कम जग्गा मात्रै भाग पर्ने छ । एक जनालाई त्यहि घर छोडेर बाँकीले नयाँ घर बनाउनुपर्यो भने थप जग्गा किन्नै नसक्ने अवस्था छ । अहिलेकै जसरी घरजग्गाको मूल्य बढीरह्यो भने अवको १० वर्षपछि कसैले पनि जग्गा किनेर घर बनाउन सक्ने अवस्था नरहने यो क्षेत्रका जानकारहरु बताउँछन् । आजभन्दा १० वर्ष अघि कीर्तिपुरका छेउछाउँमा प्रतिआना ७०/७५ हजारदेखि एक लाख रुपैयाँसम्ममा जग्गा किन्न सकिन्थ्यो । बजार क्षेत्र वरपर पनि प्रतिआना २/३ लाख रुपैयाँभन्दा बढी मूल्य थिएन । तर अहिले कीर्तिपुरका कुना काप्चामा जाँदा पनि प्रतिआना २०/२५ लाख रुपैयाँ भन्दा घटीमा जग्गा किन्न पाइदैन । बजार क्षेत्रमा प्रतिआना ५०/६० लाख रुपैयाँ सामान्य भइसक्यो । यसै गरि घरजग्गाको मूल्य बढीरहने हो भने अवको १० वर्षपछि कीर्तिपुरको एउटा कुनामा एक आना जग्गा किन्न पनि एक करोड रुपैयाँ हाराहारी मूल्य पर्न सक्छ ।  १० वर्ष अघि न्युनतम तलव स्केल ८/१० हजार रुपैयाँ हुनेहरुको अहिले १५/२० हजार रुपैयाँ पुगेको छ । आगामी १० वर्षपछि त्यो न्युनतम तलव बढेर ५० हजार रुपैयाँ सम्म पुग्ला । विशेष क्षमता र दक्षता भएका केही व्यक्तिले शुरुमै मासिक एक लाख रुपैयाँ तलव आउने जागिर गर्न पनि सक्लान । तर त्यतिबेला मासिक एक लाख रुपैयाँ नै कमाए पनि आनाको एक करोड रुपैयाँ पर्ने जग्गा किन्न सकिन्छ त ?  यो त कीर्तिपुरको एउटा उदाहरण मात्रै हो । बाक्लो नेवार वस्ती भएका उपत्यकाका अरु ठाउँमा पनि अंशबण्डा गर्दै गर्दै एक आना जग्गामा बस्ने व्यक्तीहरुको संख्या बढ्दै गएको छ । अव भोलिका दिनमा नत एक आना जग्गामा ठूलो घर बनाएर मिलेर बस्ने सम्भावना हुन्छ, नत त्यसलाई बाँडेर आधा आधा गर्दा सानो घर बनाएर बस्ने सम्भावना हुन्छ । नत त्यो एक आना जग्गा बेचेर अर्को ठाउँमा दुई ओटा घर जग्गा जोड्न नै सकिन्छ ।  त्यसपछि के उनीहरुले सुकुम्बासी भयौं भनेर हात उठाउने ? कि आफ्नो धर्म, संस्कृति र इष्ट मित्र छोडेर उपत्यका बाहिरका कुनै गाउँमा गएर बस्ने ? वा आफ्नै इतिहास भएको शहरमा आगन्तुक जस्तै भाडामा बस्ने ? यो समस्या अहिले उपत्यकामा मात्रै देखिएपनि भोलिका दिनमा उपत्यका बाहिरका शहर बजारमा पनि देखिने पक्का पक्की छ ।  मानिसका आवश्यक्ता बढीरहेका छन् । जनसंख्या पनि बढीरहेको छ । तर जग्गाको उपलब्धता भने बाढी पहिरो, बाटो घाटो, विकास निर्माण, उद्योग धन्दालगायतका कारणले घट्दोक्रममा छ । यस्तो अवस्थामा नेपालमा जग्गाको मूल्य किन्नै नसक्ने अवस्थामा पुग्ने देखिन्छ । त्यो बेला यस पछिको पुस्ता यात भाडाको घरमा सीमित हुने छ, यात सुकुम्बासी भएर सडकमा आउने सम्भावना बढ्दै गएको छ । नेपालमा किन जग्गाको भाउ बढ्छ मात्रै ? विश्व बजारमा घरजग्गाको मूल्यमा नियमित उतारचढाव आइरहन्छ । अर्थतन्त्रमा आउने संकुचनले रियलइस्टेट व्यवसायलाई पनि प्रभाव पारिरहेको हुन्छ । सामान्यतया कुनैपनि वस्तुको माग र आपूर्तिले नै त्यसको मूल्य निर्धारण गर्छ । तर नेपाल भने यस्तो विचित्रको देश हो, जहाँ अर्थतन्त्र जे सुकै भएपनि अपवाद बाहेक घरजग्गाको मूल्य घट्दैन र घरजग्गाको माग पनि घट्दैन ।  अन्तरराष्ट्रिय बजारमा घरजग्गाको मूल्यमा उतारचढाव आइरहँदा नेपालमा भने किन घरजग्गाको मूल्य बढ्छ मात्रै त ? जग्गाको मूल्य घट्ने त परै जाओस स्थिर हुने संकेत पनि किन देखिदैनन् ? घरजग्गा क्षेत्रका जानकार विनोद सुवेदी नेपालमा न्युन 'रिस्क' र उच्च 'रिटर्न' को व्यवसायका रुपमा घरजग्गा क्षेत्र पहिलो रोजाइमा परेसम्म घरजग्गाको मूल्य घट्ने सम्भावना झन झन कम हुँदै गएको बताउँछन् ।  बरु भोलिको पुस्ताले घरजग्गा किनेर आवासीय सुविधा उपभोग गर्न सक्लान कि नसक्लान भन्ने चिन्ता बढेको उनको भनाइ छ । 'विदेशी मुलुकमा कुनैपनि व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् ।' सुवेदीले भने, 'नेपालमा भने सुरक्षित लगानी र राम्रो नाफा दिन सक्ने लगानीका धेरै क्षेत्र छैनन् । त्यसकारण सबैले लगानी गर्ने निर्विकल्प क्षेत्र घरजग्गा भएसम्म मूल्यमा उतारचढाव आउने सम्भावना देखिदैन ।' सुती सुती पैसा कमाउने क्षेत्र नेपालमा घरजग्गा व्यवसायनै एउटा त्यस्तो व्यवसाय हो जहाँ एक पटक लगानी गरिसकेपछि सुती सुती नाफा खान सकिन्छ । अझ केहि गरि राम्रो ठाउँको जग्गामा लगानी गरेको रहेछ भने त हरेक वर्ष मूल्य दोब्बर भइरहेको हुन्छ । एकपटक जग्गामा पैसा हालीसकेपछि दुखै नगरि हरेक वर्ष सम्पत्ती दोब्बर हुनेभएपछि, उद्योग धन्दा खोलेर, खेतीपाती गरेर, सरकार र नेतालाई घुस/चन्दा दिएर, हजारौ हण्डर र ठक्कर खाएर पैसा कमाउन कोही पनि अघि सर्दैनन् । यसै कारण नेपालमा घरजग्गाको मूल्य अस्वभाविक रुपमा वृद्धि मात्रै भइरहेको उनको भनाई । गैरकानूनी आर्जन लुकाउने क्षेत्र यो कुरा त घाम जत्तीकै छर्लङ्ग छ की मालपोतमा २० लाख रुपैयाँ आनाले किनबेच भएको भनेर कागज गरिएको जग्गा वास्तविकतामा एक करोड रुपैयाँभन्दा बढीमा किनबेच भएको हुन्छ । धेरै भ्रष्टाचार हुने नेपालमा कमाएको पैसा विदेश लैजान पनि नपाइने भएपछि यस्तो पैसाको भारी बिसाउने ठाउँ घरजग्गा व्यवसाय नै भएको छ । जवसम्म गैरकानूनी आर्जन गरेको पैसा घरजग्गामा जान रोकिदैन तव सम्म नेपालमा घरजग्गाको मूल्य नघट्ने विज्ञहरु बताउँछन् । २/४ करोड गैरकानूनी आर्जन गरेका व्यक्तिले चलेको बजार मूल्यमा प्रतिआना २/४ लाख रुपैयाँ बढी हाल्न संकोच मान्दैनन् । तर त्यस्तो कारोबारले त्यो वरपरको सबै जग्गाको मूल्य बढाइदिन्छ । कारोबार भएपिच्छे २/४ लाख रुपैयाँ मात्रै मूल्य बढ्दा पनि ५ वर्षको अन्तरमा त उक्त जग्गाको मूल्य लाखबाट करोड पुगिसकेको हुन्छ । सरकारी कर्मचारी देखि नेता सम्मको धन्दा विगत १० वर्षदेखि घरजग्गाकै काम गरिरहेका जानकारका अनुसार घरजग्गाको मूल्य अचाक्ली बढ्नुमा आफूखुसी प्लटिङ गर्ने जग्गा व्यवसायीका अलवा सरकारी कर्मचारीदेखि नेता सम्मको पनि उत्तिकै हात रहेको छ । तल्लो तहका कर्मचारीदेखि उच्चपदस्थ तहसम्मका कर्मचारीहरुको धन्दा नै घरजग्गामा लगानी गर्ने रहेको उनको भनाइ छ । 'आफ्नो गरिखाने भाँडो फुटाउन कसैले चाँहदैनन् । त्यसैले यो जसरी चलेको छ त्यसै गरि चलिरहन्छ । अहिलेको मूल्य वृद्धि अनुसार मासिक २ लाख रुपैयाँ तलव खाने मान्छेले पनि काठमाडौं वा देशका मुख्य - मुख्य शहर बजारमा घरजग्गा जोड्न नसक्ने अवस्था आइसकेको छ । हाम्रा छोरा/छोरीको पालामा त धेरै जना सुकुम्बासी हुनुपर्ने अवस्था आउँछ', उनले भने ।