उद्यमी सुहृद घिमिरेद्वारा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गर्न १ करोड राशीको पुरस्कार घोषणा

जेठ १८, काठमाडौं । प्रतिष्ठित उद्यमी सुहृद घिमिरेले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर खटेका स्वास्थ्यकर्मीको सम्मानका लागि १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् । उनले बारबरा फाउन्डेसनमार्फत प्रदान गर्ने गरी उक्त पुरस्कार राशी घोषणा गरेको फाउन्डेसनका अध्यक्ष डा सन्दुक रुइतले जानकारी दिएका छन् । नेपालका लागि किया गाडीको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष घिमिरे बारबरा फाउन्डेसनका कार्यकारिणी सदस्य हुन् ।  घिमिरे र उनकी सुपुत्री अदितीले व्यक्तिगत तथा पारिवारिक जीवन त्यागेर अहोरात्र मानवीय सेवामा खट्ने स्वास्थ्यकर्मीको मानवताप्रतिको समर्पण भावको सम्मानका लागि पुरस्कार राशी प्रदान गर्न लागेको डा रुइतले बताएका छन् ।  बारबरा फाउन्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिलाई विशेष सम्मान गरेको स्मरण गर्दै अध्यक्ष डा रुइतले यस वर्ष स्वास्थ्यकर्मी वा संस्थालाई सम्मान गर्न लागेको बताए ।  फाउन्डेसनले हामी नेपाल समूहका संकटका सारथी युवासँग मिलेर निरन्तर काम गरिरहेको छ । फाउन्डेसनले पुरस्कृत गर्ने अग्रपंक्तिका स्वास्थ्यकर्मी वा संस्था छनोट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा लोचन कार्कीलगायत रहेको एक निर्णायक समिति गठन गरेको छ ।  समितिले देशका सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मीमध्येबाट ५० देखि १०० जनासम्म छनोट गर्ने र उनीहरुलाई दामासाहीले पुरस्कार राशी प्रदान गरिने फाउन्डेसनले बताएको छ ।   

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीलाई सम्मान गर्न १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा

काठमाडौं । बारबरा फाउन्डेसनमार्फत उद्यमी सहिृद घिमिरेले रु १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् । फाउन्डेसनका कार्यकारिणी सदस्य समेत रहेका घिमिरेले सोमबार पुरस्कार घोषणा गर्नुभएको फाउन्डेसनले जनाएको छ । विद्यमान कोभिड १९ महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको  हौसला तथा सम्मान स्वरुप पुर...