नन्दीवाङ खोला लघु जलविद्युतको पुनर्निर्माण सम्पन्न, मल्कवाङमा ५ महीनापछि बल्यो बिजुली

चैत १४, म्याग्दी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।  केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले करीब ४० मिटर पाइपलाइनमा क्षति पुर्‍याएको थियो । धवलागिरि गाउँपालिकाको रू. नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरीद र जडान गरेर पाँच महीनापछि बिजुली बालिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । ‘कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा बिजुली बल्न थालेको छ’, उनले भने, ‘पहिरोले क्षति पुगेको पाइप परिवर्तन गरेर परियोजना सञ्चालन गरिएको हो ।’ ४२ किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नं ६ को बुलका ३५० घरधुरीमा विद्युत् उपलब्ध गराइएको परियोजनाका अध्यक्ष दलमान छन्त्यालले बताए ।  विसं २०७३ मा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा निर्माण गरिएको जलविद्युत् परियोजनामा पाँच महीनाअघि आएको बाढीले क्षति पुर्‍याएपछि बन्द भएको थियो ।  यसैगरी, धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा भदौ २० गते दरखोलामा आएको बाढीले विद्युत् गृह, बाँध र नहर बगाएर बन्द भएपछि पुनर्निर्माण गरिएको छ ।  गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको रू. २२ लाख सहयोगमा उक्त परियोजना मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले बताए ।  खोलाको किनारदेखि केहीमाथि सुरक्षित ठाउँमा विद्युत्गृह निर्माण भएका कारण परियोजनाको उत्पादन ४३ किलोवाटबाट घटेर ३५ किलोवाटमा सीमित भएको छ ।  सो परियोजनाबाट उत्पादीत विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् । सो आयोजनाको मुहानमा २५ मिटर कुलो र विद्युत् गृहको नयाँ भवन निर्माण भएको छ । रासस