केरामा खपटे र आलुमा ढडुवा रोग

म्याग्दी । म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलुखेतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोट सुक्न थालेका छन् । जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट, खबराका साथै मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका हुन् । त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका किसान जितबहादुर कार्कीले बताए । यता, केरा गाउँको रूपमा परिचय बनाएको बेनी–२ खबरा र बगरफाँट गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । स्थानीयवासी चन्द्रबहादुर कार्कीले केराखेतीलाई आफूले मुख्य आम्दानीको स्रोत बनाएको बताए । उनले करिब ८ रोपनी खेतमा केराखेती गरेका छन् । बगरफाँटका किसान वेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा संकटमा परेको बताए । यहाँको सिंगो गाउँका किसान केरा खेतीमा संलग्न छन् । शुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ ।      आफ्ना करिब १० रोपनी धान फल्ने खेतमा केराखेती गरेको दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए । हजारी जातको केराखेतीबाट वार्षिक तीन लाख आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले जानकारी दिए । ‘झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ,’ उनले भने । उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कदै आएको किसान थापाले जानकारी दिए । रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आएका खबराका अर्का किसान शोभित शर्माले बताए । ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन शुरू गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,’ उनले भने । रासस