काठमाडौं । राष्ट्रिय जनमोर्चा, काठमाडौंले माघ महिनाभरिका लागि तय गरेको संघर्षको कार्यक्रम आज (शनिबार) उद्घाटन हुँदैछ । आज गोंगबुस्थित बिजीमलबाट कार्यक्रमको उद्घाटन गरिनेछ ।
कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा र विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नुहुनेछ भने रक्रिम सांस्कृतिक अभियानका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभा पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता रक्षाको मागसहित संघर्षका कार्यक्रम तय गरेको हो । घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि मसान्तसम्म राजधानीका मुख्य आठवटा स्थानमा जनसभा गरिनेछ भने नगर र वडास्तरमा कोणसभा, पर्चा वितरण, जनभेटघाट लगायतका कार्यक्रम गरिनेछ ।
६ गते सामाखुशी, १० गते बसुन्धरा, १६ गते नयाँ बसपार्क, १७ गते कलंकी, २४ गते चाबहिल, २७ गते कोटेश्वर र ३० गते जुलुशसहित रत्नपार्कस्थित शान्तिवाटिकामा जनसभा गरी माघ महिनाको संघर्षका कार्यक्रम समापन गरिनेछ ।
राजमोले माघ महिनाभर देशभर संघर्ष तथा संगठन निर्माणको अभियान सुरु गर्दैछ । कतिपय जिल्लामा आजैदेखि कार्यक्रम सुरु हुनेछ ।
आज कैलालीको फूलबारीमा पनि अभियानको उद्घाटन सभा गर्न लागिएको राजमो कैलालीले जनाएको छ ।