जेठ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारमा आएको २१५ ओटा कम्पनीहरुमध्ये २० ओटा हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ ।
यो दिन हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै उक्त समूहको परिसूचक ४ दशमलव ५७ प्रतिशतले वृद्धि भएको हो ।
पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण हाइड्रोपावर कम्पनीका शेयरमा परेको छ । सोही कारण बिहीवार अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्य उच्च दरले वृद्धि भएको हो ।
यस दिन २० ओटा कम्पनीहरुमध्ये खानी खोला हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएको छ । खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २५३,नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य रू. ४६२ र युनाइटेड मोदी हाइड्रोको रू. ३३० पुगेको छ ।
त्यसैगरी अरुण काबेली पावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत,रिडी हाइड्रोपावरको ९ दशमलव ९७ प्रतिशत,जोशी हाइड्रोपावरको ९ दशमलव ९५ प्रतिशत,अपि पावरको ९ दशमलव ९४ प्रतिशत,दिब्यश्वरी हाइड्रोपावरको ९ दशमलव ९१ प्रतिशत, राधी विद्युत कम्पनीको ९ दशमलव ९ प्रतिशतका दरले वृद्धि भएको छ ।
यसैगरी शिवश्री हाइड्रोपावरको ९ दशमलव ८९ प्रतिशत,हिमाल दोलखा हाइड्रोपावरको ९ दशमलव ८७ प्रतिशत,सानिमा माई हाइड्रोपावरको ९ दशमलव ८६ प्रतिशत,पञ्चकन्या माई हाइड्रोपावरको ९ दशमलव ८३ प्रतिशत,नेशनल हाइड्रोपावरको ९ दशमलव ८१ प्रतिशत,बुटवल पावर कम्पनीको ९ दशमलव ८१ प्रतिशत,युनियन हाइड्रोपावरको ९ दशमलव ७८ प्रतिशत,घलेम्दी हाइड्रोपावरको ९ दशमलव ७१ प्रतिशतका दरले वृद्धि भएको छ ।
त्यसैगरी युनिभर्सल पावरको ९ दशमलव ६७ प्रतिशत,आँखुखोला जलविद्युत कम्पनीको ९ दशमलव ६६ प्रतिशत र माउण्टेन हाइड्रो नेपालको शेयर मूल्य ९ दशमलव २ प्रतिशतका दरले वृद्धि भएको छ ।
पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्यमा उच्च दरमा वृद्धि भएको छ । शेयर मूल्यमा वृद्धि भएसँगै सर्वाधिक शेयर कारोबार गर्नेमा पनि हाइड्रोपावर कम्पनीहरु रहेका छन् ।
यो दिन सबैभन्दा बढी अपि पावर कम्पनीको रू. ४३ करोड २८ लाख ३४ हजार बरावरको शेयर खरीदविक्री भएकोछ । दोस्रोमा अरुण काबेली, तेस्रोमा चिलिमे हाइड्रोपावर र चौथोमा युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
बजार बुलिश ट्रेण्डमा रहेको बेला अल्पकालिन लगानीकर्ताहरुले कम शेयर मूल्य भएका हाइड्रोपावर कम्पनीहरुको शेयर ठूलो परिमाणमा उठाएर निश्चित प्रतिशत प्रतिफल पाएपछि बेच्ने गरेको एक लगानीकर्ताले बताए ।
ती लगानीकर्ताले कम्पनीको आधारभुत पक्षभन्दा पनि केहिदिन यताको बजारको ट्रेण्ड हेरेर लगानी गरेको बताए ।