नबिल बैंक–मुक्तिनाथ विकास बैंक व्यापारिक सम्झौता

काठमाडौं । नबिल बकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत प्रतीतपत्र, स्थानीय बैंक प्रत्याभूतिलगायत सुविधा उपभोग गर्न सक्नेछन् । सहकार्यबाट मुक्तिनाथ विकास बैंकका ग्राहकले आधुनिक बैंकिङ सुविधा उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । सम्झौतापछि दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबार अगाडि बढाउने लक्ष्य राखिएको छ ।   ‘बैंकले सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्नेछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने । व्यापार सम्झौताअन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुँदा नबिल बैंक उत्साहित रहेको र दुवै बैंकका ग्राहकलाई बैंकिङ सेवा सुविधा उपलब्ध गराउन सहज हुने उनले विश्वास व्यक्त गरे । नबिल बैंकसँग भएको सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकले आगामी दिनमा प्रतीतपत्र, बैंक जमानत, डिमाण्ड ड्राफ्टलगायत वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरण मुक्तिनाथ विकास बैंकका शाखाबाट प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकलाई समग्र बैंकिङ सेवा लिन सुविधा हुने मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेलले जानकारी दिए ।