विश्वव्यापी अर्थसंकट : रुस - युक्रेन द्वन्द्वले उपभोक्ता प्रभावित, बढ्यो मूल्य अस्थिरता

चैत १९, लण्डन  । रुस–युक्रेन द्वन्द्वले गत महीना वस्तुको मूल्य अकासिएको छ । यसले विश्वव्यापी रुपमा उपभोक्ताहरूलाई ऊर्जादेखि खानासम्मका विभिन्न वस्तुहरूको लागि बढी तिर्नुपरेको छ।  तेल आपूर्ति अभावको डरले मूल्य अस्थिरता बढाएको छ। वैश्विक बेन्चमार्क ब्रेन्ट क्रूड प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि आरामसँग पुगेको छ जसले तेलको मूल्य यूरोपभर नयाँ उचाइमा पुर्‍याएको छ।            बेलायतमा पेट्रोल र डिजेलको मूल्यले ‘लगभग दैनिक’ रेकर्ड तोडेको छ । ब्रिटिश अटोमोटिभका नीति प्रमुख निकोलस लाइसका अनुसार ए ९२ पाउन्ड ९१२(डलर) भन्दा बढी र डिजेल गाडी लगभग १०० पाउन्डमा भरिन्छ ।      ग्रीसमा एटिकाको ग्यास स्टेसन ओनर्स एशोसिएशनका अध्यक्ष मारिया जाग्काले इन्धनको मूल्यको अवस्था कठिन रहेको बताए । ‘यस क्षेत्र, ग्यास स्टेसन मालिकहरू र उपभोक्ताका लागि चीजहरू गाह्रो छन्। इन्धन अब एक प्रकारको विलासिता उत्पादन हो र हामी यो एक सामाजिक वस्तु हो भनेर बिर्सन्छौँ। मानिसहरूलाई काममा जान यो आवश्यक छ’,  जाग्काले भने ।            डेनमार्कले पनि राम्रो प्रदर्शन गर्न सकेन । स्थानीय ग्यास स्टेसनका सग्राहक ड्यारियस कोलोड्जिएस्कीका अनुसार गत वर्षको अक्टोबर वा नोभेम्बरमा आफ्नो सानो कार अधिकतममा भर्न करीब ४०० डेनिस क्रोन (६० डलर) खर्च भएको थियो, तर मार्चमा मूल्य बढेर पूरा ट्याङ्क भर्न करीब ५१० क्रोन तिर्नुपरेको छ । ‘म भन्न चाहन्छु कि यो धेरै उच्च छ’, कोलोड्जिएस्कीले भने, ’मलाई लाग्छ मूल्यहरू यति उच्च माथि हुनु यो थोरै पागलपन नै हो ।’            तेलको मूल्य बढेसँगै उपभोक्ताले आफ्नो खर्च कटौती गर्ने निर्णय गरेका छन् । ‘पेट्रोल स्टेसनमा गएर दैनिकरूपमा मूल्य बढ्दै गएको देख्दा मलाई ठूलो आश्चर्य लाग्यो’ , डेनमार्कका पेन्सनर निगेल बर्नार्डले भने, ’ यसको मतलब यो हो कि जब तपाईं अन्य चीजहरूका लागि किनमेल गर्नुहुन्छ, तपाईं धेरै किन्न चाहनुहुन्न किनभने तपाईं यस तरिकाले पैसा गुमाउँदै हुनुहुन्छ। त्यसैले यो समस्या हो।’           यूरोपबाहिर प्रभाव            धेरैले युक्रेन सङ्कटसँगको निकटता र रुसको ऊर्जामा निर्भरताका कारण यूरोपले स्पिलओभरको असर लिने धारणा राखेका थिए। द्वन्द्वको विकास र विश्वव्यापी बजारमा धक्का लाग्दा विश्वव्यापी उपभोक्ताहरूले पीडा महसुस गरिरहेका छन्।            अमेरिकामा खुद्रा पेट्रोल मूल्यहरू मार्चमा रेकर्ड उच्चमा पुग्यो, जुन जुलाई २००८ मा देखिएको ४ दशमलव १६५ डलरप्रति ग्यालनको अघिल्लो उचाइभन्दा माथि पुग्यो। ऊर्जा परामर्श वुड म्याकेन्जीका विश्लेषक एड क्रुक्सका अनुसार अमेरिकी घरायसी बजेटमा ग्यास ठूलो कारक हो।      ऊर्जाको बढ्दो मूल्यहरुको परिणाम तीव्ररुपमा बढ्न सक्छ जसले जीवनयापनको लागत बढ्न सक्छ । किगाली निवासी केली रुवामापेराले दैनिक उत्पादनहरूको मूल्य धेरै पहिले नै बढेको बताए । मध्यपूर्वका धेरै देशहरूले अनाज, तेल र मासुको मूल्य पनि बढेको अनुभव गरेका छन् । विश्वको सबैभन्दा ठूलो गहुँ आयातकर्ता मुलुक इजिप्ट हो । कायरो चेम्बर अफ कमर्सको बेकरी डिभिजन प्रमुख अतिया हम्मादका अनुसार त्यहाँ मार्चमा एक टन पीठोको बजार मूल्य बढेर ११ हजार इजिप्सियन पाउन्ड (६०० डलर) पुगेको छ, जुन एक महीनाअघि ९ हजार पाउन्ड थियो ।            वासिङ्टन–आधारित मध्य पूर्व संस्थानका अतिथि विश्लेषक क्रिस्टियन–डान टाटारुले खाद्यान्नको मूल्य अरब संसारमा सन् २०११ को राजनीतिक उथलपुथलभन्दा पहिलेको स्तरमा पुगेको बताए ।       कुनै द्रुत समाधान छैन            विश्लेषकहरूले रूस विरुद्ध प्रतिबन्धहरू यूरोपको खर्चमा आएको टिप्पणी गरेका छन्। क्रोएसियाली ऊर्जा विशेषज्ञ इगोर ग्रोजडानिकले एक अन्तर्वार्तामा प्रतिबन्धहरू विशेषगरी ऊर्जा उद्योगका लागि ‘समस्याग्रस्त’ रहेको बताएका छन् । यूरोपले आफ्नो भविष्यको ऊर्जा आपूर्तिलाई पुनः डिजाइन गर्दा छोटो अवधिमा रूसी ऊर्जामा आफ्नो निर्भरता घटाउने क्षेत्रका लागि कुनै सजिलो जवाफको अपेक्षा गरिएको छैन।       अमेरिकामा उच्च मूल्यहरू जारी रहने सम्भावना थियो। यस वर्ष अमेरिकी कच्चा तेलको उत्पादन प्रतिदिन ७ लाख ३० हजार ब्यारेलले बढ्ने ऊर्जा परामर्श वुड म्याकेन्जीको भविष्यवाणीलाई ध्यानमा राख्दै एड क्रुक्सले रुसमाथिको प्रतिबन्धको प्रभावमा केन्द्रित रहेको तेल बजारलाई शान्त पार्नको लागि वृद्धिको गति पर्याप्त नभएको बताए ।            रुस–युक्रेन द्वन्द्व चलिरहेको अवस्थामा मूल्यहरू उच्चस्तरमा रहने वा अझै बढ्ने अपेक्षा गरिएको छ।  क्रुक्सले यसले जति लामो समय लिन्छ, स्थिति त्यति नै खराब हुँदै जाने पनि बताएका छन् । उनका अनुसार यो द्वन्द्वबाट तेल उत्पादकहरू समेत प्रभावित भएका छन् किनभने यो विश्वव्यापी समस्या हो, विश्वव्यापी संकट हो। रासस/ सिन्ह्वा