दुई अर्ब लगानी गरेर अस्पताल विस्तार गर्दै नर्भिक

काठमाडौं । काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पताल एण्ड मेडिकल कलेज लिमिटेडले अस्पताल विस्तारमा थप २ अर्ब रुपैयाँ लगानी गरेको छ । रेटिङ् कम्पनी केयर रेटिङ्स नेपालका अनुसार अस्पतालले हाल १५० शय्या मात्र भएको अस्पताललाई २ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेर २०० शय्याको अस्पताल बनाउँदै छ ।  उक्त परियोजना १ अर्ब ९० करोड रुपैयाँ कर्जाबाट र ४८ करोड रुपैयाँ इक्विटीबाट लगानी गरेर वित्तीय वर्ष २०२५ मा सम्पन्न गर्ने अस्पतालको योजना छ । केयर रेटिङ्सका अनुसार सन् २०२३ जुलाईसम्ममा उक्त परियोजनाको १२ प्रतिशत काम सम्पन्न भइसकेको छ ।  कम्पनीको हाल २ अर्ब ८३ करोड रुपैयाँको दीर्घकालीन कर्जा र १० करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जा छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि ट्रिपल बी र अल्पकालीन कर्जाको लागि ए थ्री प्लस रेटिङ दिएको छ ।  अस्पतालले वित्तीय वर्ष सन् २०२० मा १ अर्ब २५ करोड रुपैयाँ, सन् २०२१ मा १ अर्ब ३६ करोड रुपैयाँ र सन् २०२२ मा १ अर्ब ८१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । वित्तीय वर्ष २०२२ मा कम्पनीको आम्दानीको सबैभन्दा बढी हिस्सा प्याथोलोजी सेवाहरूबाट करीब २४ प्रतिशत भएको छ । दोस्रोमा शय्या र कोठा शूल्कबाट १४ प्रतिशत र तेस्रोमा अल्ट्रासाउन्ड सेवाहरूबाट १२ प्रतिशत आम्दानी भएको केयर रेटिङ्सले जनाएको छ । सन् १९९३ मा स्थापित यस अस्पतालमा चौधरी ग्रुपको लगानी छ । अस्पतालमा वसन्त कुमार चौधरीको ४२ प्रतिशत शेयर हिस्सा छ । अस्पतालमा हाल १५० डाक्टर र ८५० मेडिकल कर्मचारी कार्यरत छन् ।