महिला उद्यमीका अनुभव आदानप्रदान

वीरगन्जमा सम्पन्न एकदिने युवा महिला उद्यमी सम्मेलनले महिला युवा उद्यमीहरु उत्साहित भएका छन् ।वीरगन्ज पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसर लगायत विविध पक्षमा बेग्लाबेग्लै सत्रमा छलफल भएका थिए । छलफलबाट सहभागीहरुले धेरै विषयमा जानकारी प्राप्त […]

सम्बन्धित सामग्री

महिला उद्यमशीलता प्रर्वद्धन गर्न चितवनमा भदौ २२ देखि तीज विशेष एक्स्पो

चितवन । महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्न चितवनमा तीज विशेष उद्यमशिल एक्स्पो हुने भएको छ ।चितवन उद्योग संघ, युवा उद्यमी मञ्च र महिला सिर्जनशील केन्द्रले तीजको अवसर पारेर भदौ २२ देखि २४ सम्म एक्स्पो गर्न लागेका हुन् ।  महिला उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न र बजारमा पहुँच पु¥याउन तथा पर्वलाई समेत उद्यमशीलतामा जोड्न सकिने सन्देश दिन एक्स्पो गर्न लागिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।  एक्स्पोमा विभिन्न क्षेत्रमा रहेर उद्यमशीलतामा काम गरिरहेका महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुको प्रदर्शनी तथा प्रवद्र्धनसँगै तीज पर्वको गरिमा झल्कने गरी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएका छन् । यस्तै, महोत्सवमा विभिन्न क्षेत्रका सफल उद्यमीबीच अन्तरक्रिया र सेमिनार आयोजना गरिनेछ ।  उद्यमशील महिलाहरूलाई एकै छानामुनि जमघट गराएर अनुभव साटासाटमार्फत दिगो उद्यमशीलतालाई टेवा पु¥याउन सहयोगी हुने गरी एक्स्पोको आयोजना गर्न लागिएको कँडेलको भनाइ छ ।  महोत्सवमा ‘उद्यमशिलतामा महिलाको सहभागिता, अवसर र चुनौती’ शीर्षकमा उद्यमी महिलाहरूको समूहगत तीज गीत प्रतियोगितासमेत आयोजना गरिने संघले जनाएको छ । एक्स्पोमा हस्तकलाका सामानहरू, तीज विशेष सामग्री, स्वदेशी लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादन, गिफ्ट आइटम र गरगहना (ज्वेलरी), खाद्यान्नका परिकार, मेहन्दी, सौन्दर्य सामग्री र त्यसका सेवा, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामग्री, भोकेशनल तालिम केन्द्र तथा कलेज, बैक तथा वित्तीय संस्था, इन्सुरेन्स लगायतका स्टल रहने छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस एक्स्पोमा १० हजारभन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाखभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।  एक्स्पोबाट बचत भएको रकमबाट महिला उद्यमीहरूको शीप विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कँडेलले जानकारी दिए ।

महिला उद्यमी महासंघको लोगो अनावरण

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले आफ्नो २०औं वार्षिकोत्सवको लोगो अनावरण गरेको छ । गत बुधवार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष शान्ति चड्डा, अध्यक्ष नीरु रायमाझी खत्रीसहित सदस्यहरूको उपस्थितिमा २०औं वार्षिकोत्सवको डिजिटल तथा भौतिक लोगो अनावरण गरिएको हो । सार्वजनिक गरिएको लोगो संस्थाका सबै कार्यक्रममा वर्षभरि प्रयोग गरिने बताइएको छ । संस्थाले २ दशकमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धिको स्मरण गर्दै यस वर्षभर विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी महासंघले दिएको छ । महिला उद्यमीलाई सशक्तीकरण गर्न र महिलाको स्वामित्वमा रहेका उद्यमका लागि स्वस्थ इकोसिस्टम विकासमा महासंघ दुई दशकदेखि सक्रिय रहँदै आएको छ । सोहीअनुसार महासंघले यस वर्ष आफ्ना सदस्यहरूसँग भेटघाट, अनुभव आदानप्रदान र नेटवर्क विस्तार, उद्यमी महिलाले उत्पादन गरेका वस्तु र सेवाको प्रदर्शन तथा व्यवसाय प्रवर्द्धनका कार्यक्रम गर्नेछ । यसैगरी सातौं अन्तरराष्ट्रिय व्यापार प्रदर्शनी आयोजना गरिनेछ । उक्त कार्यक्रममार्फत महिला उद्यमीका लागि आफ्ना उत्पादन र सेवा प्रदर्शन, विक्री, व्यवसाय वृद्धि र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य राखिएका छन् । महिला उद्यमशीलता, व्यावसायिक रणनीति, उद्योगको प्रवृत्ति र नीतिसँग सम्बन्धित विषयहरूमा प्यानेल डिस्कशनको कार्यक्रम समेत गरिने महासंघले बताएको छ । यसैगरी विगत दुई दशकमा महासंघ र यसका सदस्यहरूको उपलब्धिको सफलताका कथा ‘हाइलाइट’ गर्नेगरी  स्मारिका प्रकाशन गर्ने योजना रहेको बताइएको छ । महासंघले विशिष्ट रूपमा काम गरिरहेको महिला उद्यमी र महासंघमा महत्त्वपूर्ण योगदान दिने उद्यमीलाई सम्मान कार्यक्रम समेत आयोजना गर्नेछ । २०औं वार्षिकोत्सवको अवसरमा विशेष रूपमा डिजाइन गरिएका झोला, सिरामिक कप, टी शर्ट र टोपीहरू सार्वजनिक गरिने महासंघले बताएको छ । यसैगरी सामाजिक तथा आर्थिक सशक्तीकरण प्रवर्द्धन गर्ने र चेतना जगाउने कार्यक्रम तय गरिएको छ । महासंघले आयोजना गर्ने अन्य कार्यक्रम तथा गतिविधिमा व्यवसाय विकास केन्द्र सेवा, महासंघका च्याप्टर विस्तार तथा सुदृढीकरण र स्थानीय सरकारसँगको समन्वयमा ट्राफिक जंक्शनको सौन्दर्यकरण लगायतका योजना रहेका छन् ।

उद्योग संगठन मोरङका कार्यसमितिका पदाधिकारी र सदस्यको दुई वर्षको अनुभव

राजकुमार गोल्छा  उपाध्यक्ष विगतको अनुभवमा यो कार्यकाल सबैभन्दा राम्रो भएको छ । अध्यक्ष सुयश प्याकुरेलको कार्य योजना भिन्न र सबै क्षेत्रलाई समेट्ने खालको थियो । संगठनमा दुई वर्षसम्म कसैको पनि मन दुख्ने काम भएन । सबैले सबैलाई सम्मान गरे । सबैले जिम्मेवारी इमानदारीका साथ अनुशासित तवरबाट निर्वाह गरे । स्टार्टअप इनोभेशन, बिजनेश क्लिनिक लगायतका नयाँ काम समेत भए । संस्थाले ऐतिहासिक रूपमा विराट एक्स्पो आयोजना गर्‍यो । संगठनले उद्योगी व्यवसायीको हितमा काम गर्छ भन्ने अनुभूति हुने किसिमबाट दुई वर्षको काम भएका छन् ।  नन्दकिशोर राठी उपाध्यक्ष  मुख्य कुरा उद्योगीहरूको संस्था हो भन्ने अनुभूति भएको छ । उद्योगमै गएर समस्या बुझेर त्यसको समाधानका लागि संगठनबाट जुन काम भएको छ, अन्यमा यस्तो भएको जस्तो लागेको छैन । स्टार्टअप, स्व. महेन्द्र गोल्छाको स्मृतिमा विश्वविद्यालयसँग सहकार्य लगायत काम निकै राम्रा भएका छन् । मुलुकको अर्थ व्यवस्थाका कारण उद्योगी व्यवसायी निरुत्साहित भएको बेला उनीहरूको माग लिएर सरकारसमक्ष पहल कदमी गर्ने र उद्योगीको मनोबल माथि उठाउने काम भएका छन् । औद्योगिक वातावरण निर्माण र विद्युत् समस्या समाधानमा लाग्नुपर्ने आवश्यकता छ । उद्योगहरूको उत्पादन ५० प्रतिशतबाट शतप्रतिशतमा पुर्‍याउन अब आउने कार्यसमितिले काम गर्नुपर्नेछ । आयात घटेको कारण राजस्व प्रभावित भएको छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन, उद्योगीको समस्यामा सहजीकरण गर्न र पुराना कार्यक्रमलाई निरन्तरता दिन यसपटक वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्दै छु । साथीहरूको अनुरोधपछि अध्यक्षमा दाबी छाडिदिएको हुँ । नयाँ र युवा साथीलाई पनि समेटेर लिएर जानुपर्छ भन्ने मेरो मान्यता हो ।  भोला दुलाल  उपाध्यक्ष दुई वर्षको कार्यकाल स्मरणीय बन्यो । ‘डायनामिक लिडर’ सुयश प्याकुरेलसँग काम गर्ने अवसर विशेष रह्यो । सबैले सबैसँग सौहार्दपूर्ण व्यवहार गरे । उद्योगीका समस्या समाधानका लागि अध्यक्षले निर्वाह गरेको नेतृत्वदायी भूमिका सधैं स्मरणीय रहनेछ । एउटा टिमलाई व्यावसायिक हिसाबले कसरी सञ्चालन गर्ने भन्ने राम्रो ज्ञान भएको कारण अध्यक्षज्यूले शुरू गरेका हरेक कामले सफलता पाए । त्यसमा कार्यसमितिका साथीहरू र कर्मचारीहरूको समेत महत्त्वपूर्ण सहयोग रह्यो । विशेषगरी मैले विराट एक्स्पोको संयोजकको जिम्मेवारी पाएर त्यसलाई सफल बनाउन सकेँ । त्यसमा मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । अध्यक्षमा मेरो दाबी भए पनि म कसैको चित्त दुखाउँदिनँ । साथीहरूको चाहना भयो भने म कार्यसमितिमा दोहोरिन चाहन्छु ।  विपिन काबरा  कोषाध्यक्ष  कार्यकाल धेरै राम्रो बित्यो । धेरै नयाँ काम गर्न पाइयो । बिजनेश क्लिनिक, स्टार्टअप र विराट एक्स्पो, इकोनोमिक समिट लगायतका कार्यले उद्योगीलाई पनि निकै ऊर्जा दिने काम गरे । सरकारसँग उद्योगीका समस्याबारे लबिङ गर्ने काम भयो । उद्योगीका समस्या के के छन् भनेर हरेक उद्योगमा गएर बुझ्ने काम भयो । समस्या समाधानमा उत्कृष्ट काम भएका छन् । स्टार्टअपका लागि राम्रो काम भएको छ । उनीहरूको योजनालाई साकार पार्ने काम भएका छन् । दुई ब्याचबाट आठजना अहिले स्वरोजगार बनेका छन् । सकारात्मक सोचाइ, संगठनका सदस्यलाई एक ढिक्कामा राख्ने खुबी र अहिले पनि काम गर्न सक्ने टिमलाई नेतृत्व हस्तान्तरण गर्ने सोचले अध्यक्षज्यूको नेतृत्व क्षमता र उदारता दर्शाएको छ । तीनओटै संगठनले एकीकृत ढंगले उद्योगीका समस्या समाधानका लागि सरकारसमक्ष पहलसमेत गरे । अहिलेको टिमले बनाएको ‘रोडम्याप’मा हिँड्न अब आउने नयाँ टिमलाई सजिलो हुनेछ । समाजले पनि उद्योग संगठनबाट भएका कामको मूल्यांकन गरिरहेको छ । प्रतिक्रियालाई सकारात्मक रूपमा लिएर अघि बढ्छौं । नेतृत्वमा सक्षम मानिस आउनुपर्छ । पदका लागि मात्र भन्दा पनि नयाँ काम गर्ने सोचका साथ आउनुपर्छ । सुबोध कोइराला कार्यकारिणी सदस्य  पहिले राजनीतिक गतिविधिमै दिन बितेका थिए भने यो कार्यकालमा उद्योगीका समस्या र तिनको समाधानका लागि सरोकारवालासँग बाहेक राजनीतिक भेटघाट गरिएन । यो नौलो काम थियो । संगठनले चलाएको बिजनेश क्लिनिकले नै धेरै उद्योगीका समस्याको समाधान गरिदिएकाले कार्यसमितिप्रति कुनै गुनासो आएन । किनकि उद्योगमै पुगेर तपाईंलाई के समस्या छ र त्यसको समाधान यो हो भनेर भन्ने अभ्यास हामीले नै पहिलोपटक गरेका हौं, जसलाई बिजनेश क्लिनिक भनियो । डाक्टरको क्लिनिकमा जाँदा तुरुन्त उपचार भएझैं बिजनेश क्लिनिकमा पनि तुरुन्तै उपचार गर्ने काम गरियो । स्वस्तिक जुटमिलमा आएको समस्या बिजनेश क्लिनिकअन्तर्गत नै समाधान गरियो । लामो समय संगठनमा काम गरेकाले मेरो दाबी उपाध्यक्षमा हो । साथीभाइको सहयोग भए दोहोरिन चाहेको हुँ ।  सुरेन्द्र गोल्छा कार्यकारिणी सदस्य तथा स्टार्टअप इनोभेशन संयोजक यो दुई वर्ष उपलब्धिमूलक र उदाहरणीय बनेको छ । पुरातन कार्यपद्धतिबाट माथि उठेर कार्यसमितिले नयाँ शिराबाट काम गर्ने अवसर पायो । उपलब्धिहरू पनि राम्रा भए । निकै उत्साहका साथ काम गरियो । हामीले निकै नयाँ खाले कार्यक्रम गर्‍यौं । स्टार्टअप इनोभेशन कार्यक्रम शुरू गर्दा निकै कठिन भए पनि दोस्रो चरणसम्म आइपुग्दा निकै सजिलो भएको अनुभव छ । यसबाट आठजना स्वरोजगार बनेका छन् । यो राम्रो काम भएको छ । स्टार्टअपमा सहभागीले ज्ञान र सचेतनाको अवसर पाएका छन् । मलाई लाग्छ त्यो ज्ञानको सदुपयोग गर्नेहरू नै भोलि उद्योग संगठनको सदस्यता लिन आउनेछन् । त्योभन्दा खुशीको कुरा के हुन सक्छ ? झापाकी एक महिलाले झोला उद्योग खोलेकी छन् । एक जनाले आइसक्रीमका फर्मा बनाउने काम थालेका छन् । स्टार्टअपले धेरै काम गरेका छन् । स्टार्टअपलाई सरकारले २५ लाख रुपैयाँसम्म दिने भने पनि कार्यविधिको अभावले अहिले त्यो कार्यक्रम त्यत्तिकै छ । कार्यविधिविना नै कसरी कार्यक्रम सफल हुन्छ ? अहिले कुन पदमा उठ्ने भन्ने निर्णय गरेको छैन । अध्यक्ष तय भएपछि घोषणा गर्छु ।  राजन खत्री (इन्द्र) कार्यकारिणी सदस्य  दुई वर्ष सुयशजीको नेतृत्वमा मैले काम गर्ने अवसर पाएँ । सुयशजी आफैमा सृजनशील हुनहुन्छ । उहाँबाट मैले पनि धेरै काम सिक्ने अवसर पाएँ । उद्योगीको नेतृत्व कसरी गर्नुपर्ने रहेछ भन्ने कुरा सिक्ने अवसर पाएँ । दुई वर्ष तिक्तता नभई सौहार्दपूर्ण तरीकाले बित्यो । संगठनले गरेका हरेक गतिविधि उत्कृष्ट छन् । उद्योगीका समस्या समाधानमा भएका काम सराहनीय छन् । स्टार्टअप, बिजनेश क्लिनिक जस्ता राम्रा कार्यक्रम फेरि पनि आवश्यक छ । यो निर्वाचनमा पदाधिकारीमा जाने सोचमा छु । तर मभन्दा वरिष्ठको मन दुखाएर भने म पदमा बस्दिनँ । सबैको सल्लाह र सहमतिमा उम्मेदवारी घोषणा गर्छु । सुशिल रिजाल कार्यकारिणी सदस्य युवाको बाहुल्य बढ्दै गएकाले अबको नेतृत्वले पनि सुयशजीकै पदचाप पछ्याउँदै काम गर्नेछ भन्ने विश्वास छ । ब्याजदर न्यूनीकरण, मिरगञ्ज पुल तथा रेलवे सञ्चालनको विषयमा संगठनले गरेका पहल सकारात्मक छन् । अबको कार्यसमितिले पनि यस्ता विषयको उठान गरेर नीति निर्माण तहसम्म पैरवी गर्नुपर्छ । उद्योगीका समस्या, सरकारको कमजोर पूँजीगत खर्च, घट्दै गएको राजस्व लगायत विषयमा अबको नेतृत्वले पहल कदमी लिनुपर्छ । यस विषयमा दुई वर्षमा निकै काम भएका छन् । पछिल्लो सुझावलाई नयाँ कार्यसमितिले खबरदारी गर्ने हो । कार्यकारिणी सदस्यबाट एक तह माथि जाने सोचमा छु ।  सुदिप घिमिरे  कार्यकारिणी सदस्य  कार्यकाल निकै उपलब्धिमूलक भयो । हरेक कार्यसमिति बेञ्चमार्क भएझैं यो कार्यसमितिले पनि आफ्नो छाप छाडेको छ । आजभन्दा भोलि र भोलिभन्दा पर्सी राम्रो गर्दै जाने नै हो । कार्यकारी सदस्यभन्दा माथि मुख्य पदमा पुग्ने सोच छ । यो कार्यसमितिले साना समस्यादेखि राष्ट्रिय मुद्दालाई प्राथमिकताका साथ उठाएको छ । साथै कार्यान्वयनका लागि पहल गरेको छ । यो नै निकै ठूलो काम हो । किनकि एउटा उद्योगको समस्या समाधान गर्ने फरक विषय हो । तर राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा गरिएको पहल निकै सराहनीय छन् । ती उदाहरणीय पनि हुन् । राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमै आफ्नो पहुँच पुर्‍याएर सोहीअनुरूप आफ्नो कार्ययोजना बनाएर कार्यान्वयन गर्नु पनि ठूलो उपलब्धि हो, जुन दुई वर्षमा संगठनले गरेर देखाएको छ । विराट एक्स्पोको आयोजना पनि ऐतिहासिक नै भएको हो । संघीय राजधानीबाहिर त्यस किसिमको एक्स्पो विरलै हुने गरेका छन् ।  सञ्जय अग्रवाल  कार्यकारिणी सदस्य  उद्योग संगठनको नयाँ सोच अनुसार नै दुई वर्षसम्म कामहरू भएका छन् । सुयशजीले थालनी गरेका कामलाई नयाँ अध्यक्षले अब निरन्तरता दिनुपर्नेछ । त्यसमा नयाँ कामहरू थप्नुपर्छ । सधैं एकै प्रकारको काम गर्दा त्यसले उत्साहित बनाउँदैन । नतीजा पनि प्रभावकारी नआउन सक्छ । उद्योग संगठनले दुई वर्षमा के के काम गर्‍यो भन्ने प्रष्ट छ । किनकि हाम्रो कामको मूल्यांकन बाहिर समाजले पनि गरिरहेको हुन्छ । राम्रो काम गर्न नसकेको भए आलोचना आउँथ्यो तर अहिले सबैले प्रशंसा गरिरहेका छन् । त्यसैले सुयशजीको नेतृत्व सफल भएको छ । म कार्यसमिति दोहोरिने योजनामा छु । संगठनको दुई वर्षको अवधिमा सहयोग गर्ने र अथाह खट्नुहुने चूडामणि भट्टराईलगायत सबै कर्मचारी मित्रलाई धन्यवाद दिन चाहन्छु । यो कार्यसमितिको सफलतामा उहाँहरूको पनि उत्तिकै साथ छ । तारानाथ निरौला कार्यकारिणी सदस्य  दुई वर्षको कार्यकाल स्मरणीय बन्यो । परम्परागतभन्दा फरक ढंगले काम भए । इनोभेटिभ काम शुरू भए । सबैको सौहार्दपूर्ण सहयोग र समन्वय भएको छ । अलि खारिएको व्यावसायिक कार्यकाल भयो । उद्योगी व्यवसायीको हितमा पनि काम भयो । आर्थिक विकासको क्षेत्र र सरकारी निकायसँगको संवाद तथा साझेदारी र खबरदारी दुवै काम भए । सामाजिक विकास क्षेत्रमा योगदान पूर्ण रह्यो । नयाँ कामको थालनी पनि गरियो । एउटा व्यावसायिक संगठनले गर्नुपर्ने कामको दायराभित्र रहेरै कामहरू भएका छन् । विगतको भन्दा ओजपूर्ण कामको थालनी भएको छ । म कार्यसमितिमा दोहोरिन खासै इच्छा गरिरहेको छैन । तर पनि साथीहरूसँग सल्लाह गरेर अघि बढ्छु ।  प्रतिभा रिजाल ओली  कार्यकारिणी सदस्य  महिला उद्यमीको सवालमा दुईवर्षे कार्यकाल निकै महत्त्वपूर्ण रह्यो । पहिलो कुरा उद्योग संगठनमा निर्वाचित भएपछि धेरै कुरा सिक्ने अवसर पाइयो । मुलुकको आर्थिक विकासमा महिलाको योगदान उच्च हुन नसक्नु र धेरै महिला उद्यमभन्दा टाढै रहेकाले उनीहरूलाई उद्यमी कसरी बनाउने र मूलधारमा कसरी ल्याउने भन्ने विषयमा धेरै काम भए । महिला उद्यमीका समस्याको पहिचान गर्ने काम गरियो । उद्यमी महिलाले बैंकबाट पाउने सुविधा किन न्यून छ भन्नेतर्फ पनि बहस र पैरवी भएका छन् । बैंकसम्म महिलाको पहुँच कसरी बढाउने र उनीहरूको उत्पादन बजारसम्म सहजै कसरी पुर्‍याउने भन्ने विषयमा समेत काम गरेका छौं । अध्यक्षज्यूको सोचमा आएको स्टार्टअप कार्यक्रममा महिला सहभागिता बढाउन र उद्यमी महिलालाई मूल धारमा ल्याउन धेरै काम बाँकी छन् । त्यसैले अब आउने कार्यसमितिमा दोहोरिन चाहान्छु । सुनिलकुमार धनावत कार्यकारिणी सदस्य  यो कार्यकाल निकै उपलब्धिपूर्ण रह्यो । मैले ऊर्जा उपसंयोजकको रूपमा काम गर्ने अवसर पाएँ । ऊर्जाको पछिल्लो समस्याबारे सम्बन्धित पक्षसँग कुरा राख्ने र दबाब दिने काम गरियो । त्यसमा केही सुधार पनि भएका छन्, जुन उपलब्धि हुन् । स्टार्टअप इनोभेशनको काम धेरै राम्रो भएका छन् । त्यसबाहेक पनि दुई वर्षसम्म कार्यसमितिले गरेका काम निकै राम्रा र सम्झनलायक छन् । आगामी नेतृत्वले समेत पुराना महत्त्वपूर्ण शुरुआतलाई निरन्तरता दिने र नयाँ कार्यक्रम ल्याउने विश्वास छ । किनकि यो कार्यसमितिले एउटा रोडम्याप नै बनाएको छ । यसले अब आउने कार्यसमितिलाई निकै सहज हुनेछ । केही घरायसी समस्याका कारण आफू यसपटक कार्यसमितिमा नदोहोरिने सोच बनाएको छु ।  पारश लुनिया कार्यकारिणी सदस्य  संगठनमा यो मेरो दोस्रो कार्यकाल हो । उद्योगका समस्याहरू बाहिर ल्याउन संगठनको आवश्यकता पर्छ । त्यसैले उद्योगका धेरै समस्या समाधान गर्न यो कार्यसमितिका सबैले निकै राम्रो काम गर्नुभएको छ । निर्वाचन र नयाँ कार्यसमिति गठन नियमित प्रक्रिया हो । विराटनगरमा उद्योगी व्यवसायीका तीनओटा संगठन छन् । तिनीहरूमा नेतृत्व परिवर्तन हुनु सामान्य हो । तर सबैले उद्योगी र व्यवसायीको हक र हितमै काम गर्ने हो । आफूले पनि दुई वर्ष त्यही काम गरेको छु । कार्यसमितिमा दोहोरिने वा माथिल्लो पदमा जाने बारेमा मैले अहिले नै सोचेको छैन । साथीभाइको सल्लाहमा अघि बढ्छु ।

महिला–युवा उद्यमीले सुनाए अनुभव

नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)उद्यमशीलताको प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना व्यवसायी शारिरीक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न युवा महिला तथा पुरुष उद्यमीका साथै उद्यमी बन्न चाहने विद्यार्थी पनि सहभागी थिए । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।अन्तर्राष्ट्रिय मजदुर […]

उद्यमीका कुरा : टर्निङ प्वाइन्ट बन्यो छोरीलाई बुनिदिएको टप्स

बैशाख ४, काठमाडौं । काठमाडौं, टोखाकी विमला खनाल स्वेटर बुन्न भनेपछि सानैदेखि हुरुक्क हुने । उनको बाल्यकालको फुर्सद स्वेटर बुन्न जान्ने व्यक्ति खोज्ने र सिक्ने गर्दैमा बित्यो भन्दा पनि हुन्छ । सिलाइबुनाइप्रतिको त्यही लगावले उनलाई एक दशककै अवधिमा सफल उद्यमी तथा प्रशिक्षकको रूपमा स्थापित गराएको छ । अहिले उनी हस्तकला उद्यमी तथा प्रशिक्षकको रूपमा परिचित छिन् ।  उद्यम यात्राको कथा सुनाउने क्रममा बिमला भन्छिन्, ‘एसएलसी सकिएपछि उच्चशिक्षासँगै व्यक्तिगत रुचिका काममै ध्यान दिएँ । वाणिज्यशास्त्रमा स्नातक सकेपछि उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन सकिनँ । यहीबीचमा बिहे भयो ।’ बिहेपछि स्वाभाविक रूपमा पारिवारिक जिम्मेवारी थपियो । तैपनि, आफैले केही गर्नुपर्छ भन्ने हुटहुटीले छाडेन । त्यही बेला ५ सय रुपैयाँमा आधा किलो ऊन किनेर छोरीका लागि एउटा टप्स बुनिन् । त्यो टप्स यति राम्रो बन्यो कि त्यसको प्रशंसा नगर्ने कोही भएन । उक्त टप्स छोरीलाई आफ्नै हातले तयार गरिदिएको उपहारमात्रै बनेन, विमलाको जीवनको टर्निङ प्वाइन्ट नै सावित भयो ।  ‘त्यो टप्सको धेरैले प्रशंसा गरे । त्यसले मलाई अझ बढी प्रेरणा मिल्यो, र बुन्ने कामलाई निरन्तरता दिएँ,’ विमला भन्छिन्, ‘यस्ता कामप्रतिको मेरो लगाव, मोह र नतीजा देखेर एकजना दाइले उद्योग दर्ता गरेर व्यावसायिक रूपमै काम गर्न सल्लाह दिनुभयो ।’ त्यसपछि घरेलुबाटै उद्यमशीलताको तालीम लिएर घरैमा चिटिक्क होजियारी उद्योग शुरू गरेको उनले बताइन् । १० वर्षअघि उनले स्थापना गरेको उद्योगले माला, पोते, ऊनी स्वेटर, बच्चाका कपडा, कागजका सामान, पापड, सालको पातको टपरी लगायत सामान तयार गरिरहेको छ । उद्योगबाट उत्पादित सामान विमला विभिन्न मेला, महोत्सवमा स्टल राखेर विक्री गर्छिन् । कतिपय सामान विदेश जाने मान्छेले आफन्तलाई उपहारको रूपमा लैजान्छन् । स्वदेशी वस्तुको प्रयोगमा गर्व गरौं, हामी बनाऔं, हामीनै  किनौं, सृजनशील बनौं, सृजनशीलताको विकास गरौं, देशलाई समृद्ध बनाऔं भन्ने मन्त्र लिएर अघि बढ्दा सफल भएको उनको अनुभव छ । काम सानो–ठूलो हुँदैन भनेर अघि बढेकाले सफलता मिलेको उनको विश्वास छ । हेर्दा काम सानो देखिए पनि उनले यसबाट घरको सम्पूर्ण खर्च धानेकी छिन् । समाजमा उदाहरणीय महिला उद्यमीको रूपमा चिनिएकी छन् । पछिल्लो समय उनको यात्रा वस्तु उत्पादनबाट प्रशिक्षणसम्म पुगेको छ । छिमेक, टोलदेखि काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, काभ्रे, सुर्खेत, धनगढी लगायत एक दर्जनभन्दा बढी जिल्लामा उनी अचार बनाउनेदेखि कागज, प्लास्टिक र पुराना सिसाका बोतल आदिबाट सजावटका सामग्री बनाउने शीप र नेतृत्व विकासको तालीम दिन प्रशिक्षकको रूपमा जाने गर्छिन् ।  उद्यम शुरू गरेको १० वर्षभित्र विभिन्न जिल्लाका ३/४ सय महिलालाई तालीम दिएको बिमलाले सुनाइन् । तालीम लिएकामध्ये अधिकांश महिला अहिले उनी जस्तै उद्यमी बनेर आफ्नो खुट्टामा उभिएका छन् । त्यो देख्दा उनलाई जीवन सार्थक भएको अनुभूति हुन्छ । ‘मलाई मेरो पेशाले दिएको सन्तुष्टि आफ्नै ठाउँमा छ,’ उनी भन्छिन्, ‘मसँग तालीम लिएका महिला आफ्नै खुट्टामा उभिएको देख्दा गर्वको अनुभूति हुन्छ । आफ्नो र परिवारको लागि मात्र नभएर समाज र देशका लागि पनि केही योगदान गरेछु जस्तो लाग्छ ।’ केही गर्ने हुटहुटी, मेहनत र इमान्दार प्रयासले उनलाई सरकारले सफल उद्यमी महिलालाई प्रदान गर्ने पुरस्कार पनि दिलाएको छ । कोरोना महामारीपछि भने उनको व्यवसाय केही सुस्ताएको छ । तर, व्यस्ततामा खासै कमी नभएको उनले बताइन् । अचेल अनलाइनमार्फत बेलायती बालबालिकालाई सालको पातको टपरी बनाउने तालीम दिइरहेको बिमलाले जानकारी दिइन् । यो काममा उनलाई ग्यालेक्सी पब्लिक स्कुलले सहयोग गरिरहेको छ ।

महिला उद्यमीका समस्या

तथ्यांक विभागले केही समयअघि सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक विश्लेषणअनुसार नेपालमा पुरुषको भन्दा महिलाको संख्या बढी छ । तर, उद्यमीका हिसाबले हेर्ने हो भने महिलाको संख्या निकै कम छ । यसो हुनुमा महिलाहरू उद्यमी बन्न नचाहेर, क्षमता नभएर होइन, अवसर र समर्थन नपाएर हो । लैंगिक विभेदले जरो गाडेको समाजमा महिला उद्यमशीलता आफैमा ठूलो चुनौती हो । यही चुनौतीसँग जुधेर केही महिला उद्यमी आफू स्थापित हुँदै अन्यलाई पनि उद्यमी बन्न प्रेरित गरिरहेका छन् । उद्यमशीलताका लागि महिलाहरूले भोगेका समस्यामा सरोकार निकायले गम्भीरतापूर्वक चासो राखेको पाइँदैन । सामाजिक विभेद त वर्षौंदेखिको समस्या भइहाल्यो जसले गर्दा महिलाहरूलाई उद्यमशील बनाउनका लागि तय गरिएका कार्यक्रममा उनीहरूको सहभागिता न्यून छ । उद्यमी बन्नु भनेको जोखीम लिनु पनि हो । जोखीम लिएर लगानी गर्नु र त्यसबाट प्रतिफल लिन सक्नु महिलाहरूका लागि नेपालमा त्यति सहज वातावरण छैन । केही महिला उद्यमीले पारिवारिक भूमिका निर्वाह गरेर पनि सफल उद्यमीको पहिचान बनाउँदै छन् । तर, उनीहरूलाई उद्यमी बन्न पुरुषलाई भन्दा बढी चुनौती देखिन्छ । महिला उद्यमीलाई अविश्वास गर्ने, बैंकहरूले कर्जा दिन आनाकानी गर्ने, कच्चा पदार्थको जोहो गर्न कठिन हुने आदि समस्या छन् । महिलाहरूले उद्योग सञ्चालनको राम्रो प्रस्ताव लिएर गए पनि बैंकहरूले नपत्याएको गुनासो धेरैजसो महिला उद्यमीहरूको हुने गरेको छ । महिलाका नाममा घरजग्गा नहुँदा उनीहरूले बैंकमा धितो राखेर कर्जा लिन नसकेको अवस्था छ । हुन त राष्ट्र बैंकले महिला उद्यमीका लागि पनि ब्याज अनुदानको सहुलियत कर्जा दिने व्यवस्था गरेको छ । यस शीर्षकमा पर्याप्त कर्जा प्रवाह भएको पनि पाइन्छ । तर, यस्तो कर्जा साना उद्योगहरूमा धेरै प्रवाह भएको छ । तैपनि उद्योग खोल्न खोज्ने महिलाहरूलाई बैंकले पत्याउन गाह्रो मानेको देखिन्छ । सफल महिला उद्यमीहरूले आफ्नो अनुभव सुनाउँदा यही तथ्यलाई भन्ने गरेकोबाट पनि यो पुष्टि हुन्छ । महिलाहरूमा पुरुष समान नै शीप, तालिम, शिक्षा, निपुणता तथा निर्णय क्षमता हुन्छ र उनीहरू पनि पुरुषहरूले चाहेजस्तै उद्यमबाट स्वतन्त्रता, उपलब्धि र पहिचान चाहन्छन् । त्यसैले महिला उद्यमशीलताबाट अर्थतन्त्रको विस्तार गर्न सकिन्छ । महिला उद्यमीहरू तुलनात्मक रूपमा परिणामप्रति विशेष ध्यान राख्ने हुन्छन् । क्षमता र समर्पणका हिसाबले पुरुषभन्दा कमजोर छैनन् । अझ नवप्रवर्तन गर्न र आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउन महिला उद्यमीमा विशेष खुबी हुने गरेको पनि पाइन्छ । तैपनि नेपालजस्तो मुलुकमा महिला उद्यमीको संख्या न्यून छ । सरकारले महिला उद्यमीलाई सहजीकरण गर्न विभिन्न संयन्त्र खडा गर्नुका साथै प्रोत्साहनका कार्यक्रम नल्याएको भने होइन । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच टेवा, पूँजी र प्रविधि सहयोग कार्यक्रम सञ्चालन भएको पाइन्छ । सरकारले अघि सारेका यस्ता प्रोत्साहनका कार्यक्रमको कार्यान्वयन पक्ष भने फितलो छ । घोषणा गरिएका कार्यक्रमबाट महिला उद्यमशीलता बढ्यो वा बढेन भन्नेबारे लेखाजोखा हुने गरेको छैन । उद्यमशीलताका लागि महिलाहरूले भोगेका समस्यामा सरोकार निकायले गम्भीरतापूर्वक चासो राखेको पाइँदैन । सामाजिक विभेद त वर्षौंदेखिको समस्या भइहाल्यो जसले गर्दा महिलाहरूलाई उद्यमशील बनाउनका लागि तय गरिएका कार्यक्रममा उनीहरूको सहभागिता न्यून छ । पारिवारिक सहयोग नपाउँदा महिलाहरू उद्यमशील बन्न नसकिरहेको अवस्था छ । शीप भएका महिला उद्यमीहरूले बैंकमा प्रस्तुत गर्नुपर्ने आवश्यक कागजात बनाउन नजान्दा कर्जा लिन नसकेर पनिप समस्या सृजना गरेको देखिन्छ । यी समस्याको समाधानका लागि महिला उद्यमशीलता प्रवद्र्धनका व्यावहारिक कार्यक्रमहरू ल्याइनुपर्छ । उनीहरूलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, बजारीकरणका नीतिलगायतका विषयमा सहयोग गरिदिनु आवश्यक हुन्छ । बीउ पूँजी नै नभएर समस्यामा परेका महिलाहरूलाई लगानी जुटाइदिन सक्नुपर्छ । आफ्ना उत्पादनलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन कैयन् उद्यमी महिलाहरूलाई प्रशिक्षणको आवश्यकता हुन्छ । मुख्यतया महिलाहरूमा आत्मविश्वास जगाएर उद्यम गर्न आकर्षित गर्ने हो भने  महिला उद्यमीको संख्या बढ्दै जानेछ र मुलुकको अर्थतन्त्र पनि सबल र दिगो बन्दै जानेछ । अहिलेको जोड महिलाको आत्मविश्वास वृद्धि गर्नेतर्फ नै केन्द्रित हुन आवश्यक छ ।

महिला उद्यमशीलतामा विविधीकरणको खाँचो छ

नेपालमा महिला उद्यमीले थुप्रै समस्याको सामना गरिरहेका छन् । लगानीको जोहोदेखि शीप विकास र बजारीकरणमा समेत उनीहरूलाई सहज छैन । यस्तै, उद्यम र घरायसी जीवनबीचको तालमेल पनि अर्को चुनौतीको रूपमा रहेको छ । यद्यपि अनेकौं बाधा र चुनौतीकै बीच पछिल्लो समय महिला उद्यमशीलता बढ्दै गएको छ । यसैको एक उदाहरण हो– ‘सासु बुहारी टिकल पिकल’, जसलाई आफ्नै बुहारीसँगको सहकार्यमा अघि बढाइरहेकी छिन् पूर्वबैंकर एवं सिवेक अस्पतालका कार्यकारी निर्देशक अञ्जु शर्मा । नयाँ उद्यमको थालनी गर्ने क्रममा शर्माले जनवरी २०२१ मा नीता श्रेष्ठ थापासँग मिलेर ‘सुन्तली वाटिका कृषि फार्म स्थापना गरिन् । उक्त फार्मले थोरै जग्गा किनेर तनहुँमा कृषि गतिविधि शुरू गर्‍यो, जसको मूल नारा ‘अब गाउँको पालो’ भन्ने थियो । फार्ममा कफीका १ हजार बिरुवा रोपिएका छन् भने सन् २०२१ मा कफीको पहिलो बाली टिपिएको छ । प्रस्तुत छ, महिला उद्यमशीलता, महिला उद्यमीका चुनौती, अवसरलगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले शर्मासँग गरेको कुराकानीको सम्पादित अंश : तपाईंको बैंकिङ क्षेत्रबाट उद्यमशीलतासम्मको यात्राबारे केही बताइदिनुहोस् न । म ख्यालख्यालमा बैंकिङ क्षेत्रमा आबद्ध भएको हुँ । सन् १९८४ मा विदेशी संयुक्त लगानीकोे पहिलो बैंक नबिलमा साथीभाइको लहलहैमा लागेर छिरेको हुँ । तर काम गर्दै जाँदा मलाई यो क्षेत्र निकै मन पर्‍यो । काम गर्ने कि पढ्ने भन्ने अस्थिर मनस्थितिका बीच म बैंकमा छिरेको थिएँ । यस क्षेत्रमा काम गर्न थालेपछि आफ्नो मूल्य थाहा भयो, अरूले पनि मलाई महत्व दिन थालेपछि काम गर्ने ऊर्जा मिल्यो । मलाई ऊर्जा दिने थ्री पी अर्थात् प्यासन (लगाव/ तृष्णा), पेसेन्स (धैर्य) र पोजिटिभिटी (सकारात्मकता) चिन्ने मौका मिल्यो । अनि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कसरी पुग्नुभयो ? मैले नबिल बैंकमा ६ वर्ष जति काम गरें । त्यसैबीच नेपाल ग्रिन्डलेज ( आजको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल) ले ल्याटरल इन्ट्रीमा (सोझै माथिल्लो पदमा) मार्केटिङ रिलेशन म्यानेजर माग्योे । म त्यसपछि ग्रिन्डलेजमा आबद्ध भएँ । त्यहाँ शाखा प्रबन्धक भएँ । ललितपुरमा शाखा स्थापना गरेँ । २–३ वर्ष त्यहाँ बसेपछि कान्तिपथ शाखाको जिम्मा पाएँ । त्यसपछि क्रेडिट कन्ट्र«ोलरको काम गर्न थालेँ । कञ्जुमर बैंकिङ भर्खरै शुरू भएको थियो । कञ्जुमर बैंकिङको क्रेडिट हेड भएर काम गरेँ । हेड अफ कन्जुमर बैंकिङको अवसर खुल्यो । खुला प्रतिस्पर्धाबाट त्यहाँ पुगेँ । मेरो शैक्षिक पृष्ठभूमि गर्व गर्न लायक थिएन । तर मैले कडा मेहनत गरेर सिक्दै अनि पढ्दै गएँ । सन् २००४ देखि सन् २०१२ को जुलाईसम्म मैले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा हेड अफ कन्जुमर बैंकिङ बनेर काम गरेकी थिएँ । मैले त्यहाँ ८ वर्ष काम गरें । म सो संस्थामा पुग्न सक्ने सबैभन्दा माथिल्लो पदमा पुगिसकेको थिएँ । मभन्दा सक्षम अरू लिडरहरू पनि तयार भइसकेका थिए । त्यसैले अर्को क्षेत्रमा किन नजाने भनेर सोचिरहेकै समयमा मैले स्वास्थ्य क्षेत्रमा काम गर्ने मौका पाएँ । बैंकिङ क्षेत्रमा काम गर्न थालेपछि आफ्नो मूल्य थाहा भयो । मलाई ऊर्जा दिने थ्री पी अर्थात् प्यासन, पेसेन्स र पोजिटिभिटी चिन्ने मौका मिल्यो । बैंकिङ क्षेत्रबाट सिकेका मुख्य कुराहरू के के हुन् ? मैले बैंकिङ क्षेत्रमा सिकेको पहिलो– वित्तीय अनुशासन हो । दोस्रो, आत्म–नियमन हो । ग्राहकलाई कर्जा दिँदा आफ्नो पैसा भएको भए दिन्थ्यौं कि दिंदैनथ्यौं भनेर सिकाइएको हुन्छ । संस्थागत नियमन त हुन्छ नै, तर मैले आत्म–नियमन पनि सिकें । नेपालमा कन्जुमर क्रेडिटको अवधारणा नै थिएन । सोच परिवर्तन गर्न पनि समय लाग्यो । सीधै ग्राहकहरूसँग व्यवहार गर्न नपरे पनि कर्जा वा व्यवसाय सहजीकरण कसरी गर्ने भन्नेतिर लागेँ । सानो पसलबाट ठूलो डिपार्टमेन्ट स्टोरहरू बने । ऋण लिएर मोटरसाइकल लिनेहरूले घर पनि बनाउन थाले । निर्माण गतिविधिहरू फस्टाए । रोजगारी सृजनामा टेवा मिल्यो । नेपालमा महिला उद्यमशीलतामा देखिएका समस्याबारे तपाईंको अनुभव के छ ? महिलाले बैंकबाट फाइदा लिन सकेका उदाहरणहरू छन् । तर महिलाहरू व्यावसायिक पक्षमा सक्षम भए पनि कागजपत्र वा व्यावसायिक प्रस्ताव बनाउने विषयमा उनीहरू अलि कमजोर रहेको मैले पाएँ । मैले उनीहरूलाई यस विषयमा पनि मार्ग निर्देशन गरेँ । विस्तारै उनीहरूको क्षमता बढेर बैंकहरूसँग ब्याजदरमा ‘बार्गेनिङ’ गर्ने तहसम्म पुगेको मेरो अनुभव छ । बैंकमा एउटा राम्रो पदमा रहेर काम गर्दागर्दै अनुभव नै नभएको स्वास्थ्य क्षेत्रमा कसरी आइपुग्नु भयो ? बैंकिङ होस् वा स्वास्थ्य क्षेत्र, निजीक्षेत्रमा सबैको भिजन एउटै हुन्छ– निश्चित तहमा पुगेको संस्थालाई विस्तार गरेर अगाडि बढाउने । व्यवस्थापन तहमा काम गरिसकेको व्यक्तिमा क्षेत्र फरक भए पनि शीप भने एउटै हुन्छ । कर्मचारी व्यवस्थापन, मानव संसाधनको विस्तारलगायत सबै आधारभूत काम एउटै हुन्छ । बैंकमा ग्राहकको पीडा थाहा हुन्थ्यो भने अस्पतालमा बिरामीको पीडा बोध भइरहेको छ । परिभाषा मात्रै फरक हो । डाक्टर र नर्सहरूलाई बिरामीको हेरचाह गर्न के चाहिन्छ, त्यो बुझेर प्रशासनले काम गर्ने हो । बिरामीको उपचार गर्ने क्रममा धेरै खालको उपकरण चाहिन्छ । प्रशासनमा कार्यकारी भूमिका रहेर त्यसलाई नियन्त्रण गर्ने होइन । बिरामीमुखी (पेसेन्ट सेन्ट्रिक) भएर काम गर्नुपर्छ । बिरामीलाई कसरी उत्तम खालको उपचार दिन सकिन्छ भनेर काम गर्ने हो । डाक्टरहरूको शीप, नर्सहरूको योग्यता र उपकरण पनि चाहिन्छ । उपकरण पनि भनेको वा चाहिएको बेलामा उपलब्ध गराउनुपर्ने हुन्छ । बैंकले महिला उद्यमीहरूको प्रतिस्पर्धी क्षमता विकास गराउनुपर्छ । उनीहरूलाई कर्जा सहजीकरणको खाँचो छ । सिवेक अस्पतालबारे थोरै जानकारी दिनुहोस् न । म सिवेक प्रवेश गरेको १० वर्ष पूरा हुँदै छ । नेपालमा रहेका क्यानडेलीहरूको उपचारका लागि पश्चिमी मापदण्डको क्लिनिक चाहिएपछि एउटा क्लिनिकको रूपमा यो खोलिएको हो । शुरूमा यसमा क्यानडेलीहरूको मात्रै उपचार हुन्थ्यो । तर सन् १९९६ मा क्यानडा सरकारले निरन्तर टेवा दिन नसकिने भन्दै तत्कालीन सञ्चालकहरूलाई नै क्लिनिक सञ्चालनको जिम्मा दिएको थियो । त्यति बेला स्वास्थ्य क्षेत्रको पहिलो ज्वाइन्ट भेन्चर अस्पतालको रूपमा १९९६ को जुनमा सिवेक क्लिनिक दर्ता भएको हो । अस्पतालको विस्तार, सघन उपचार कक्ष (आईसीयू) खोल्ने, पोखरामा शाखा खोल्ने, अपरेशन थिएटर खोल्ने र अन्य सेवाहरू ल्याउने भनेर मलाई ल्याइएको हो । यो काम अहिलेसम्म पनि चलिरहेको छ । अस्पतालमा लगानीको रूपरेखा कस्तो छ ? नेपाली र अमेरिकी डाक्टरले खोलेको प्राइभेट लिमिटेड कम्पनी हो । ग्राहकमा आधारित छ । ट्राभल मेडिसिन सेन्टर र अनुसन्धानमा ठूलो योगदान छ । शुरुआतमा प्रवासीहरूलाई लक्षित गरेर खोलिएको भए पनि अहिले यसले सबै नेपालीलाई सेवा दिइरहेको छ । झन्डै सयको हाराहारीमा रोजगारी दिइरहेको छ । यो २५ शय्या भएको सानो अस्पताल हो । बहुआयामिक अस्पताल होइन । फेमिली मेडिसिनका लागि ‘फस्र्ट लाइन’ अस्पताल हो । विदेशीका लागि मात्रै होइन, नेपालीका लागि पनि शुल्क अन्य अस्पतालको जस्तै छ । ‘सासु बुहारी टिकल पिकल’ किन र कसरी शुरू गर्नुभयो ? २०२० मा कोरोना महामारी शुरू भएपछि अस्पतालमा बिरामीहरूको चाप कम भयो । मैले अस्पतालमा गर्ने कामहरू घरबाटै पनि गर्न थालें । घरमा बसेर काम गर्न थालेपछि एक दिन घरमा खानका लागि भनेर बनाएको अचारको फोटो खिचेर जिस्क्याउँदै फेसबुकमा हालें । सो पोस्टमा धेरै साथीभाइले कतिमा बेच्ने ? बेच्ने हो ? भनेर प्रश्न सोधे । १२ ओटा बट्टा अचार बनाएकोमा ७ ओटा बाँडेर सकें, ५ बट्टा बेचें । यसरी बनाएर अचार नै बेच्न पनि सकिने रहेछ भन्ने लागेपछि सासु बुहारी मिलेर अचार व्यवसाय दर्ता गर्‍यौं । हामी घरमा, आफ्नै भान्सामा अचार बनाउँछौं । बुहारी निकै सिपालु छिन् । फुर्सद भएको समयमा उनले अचारसम्बन्धी धेरै काम गर्छिन् । मेरो फुर्सद अनुसार म थोरै काम गर्छु । बुटिक स्टाइलले, ग्राहकको माग अनुसारको थोरै थोरै सामान बनाउँछौं । एक पटकमा २०/ २५ बट्टा मात्र बनाउँछौं । एकदमै पिरो, खासै पिरो नभएको, मासु धेरै भएको, पूर्णतः शाकाहारी आदि गरेर ४०–४५ प्रकारको अचार बनाउँछौं । यी अचार हामीले घरबाटै फेसबूकमार्फत बेचिरहेका छौं ।  सासु बुहारी पनि मिलेर बस्न, मिलेर केही गर्न सक्छन् भन्ने उदाहरण देखाउन ‘सासु बुहारी पिकल टिकल’ ब्रान्डमा अचार बनाएका हौं ।  विक्रीको आकार कस्तो छ ? व्यवसायबाट कतिलाई रोजगारी दिइरहनु भएको छ ? दैनिक सरदर १० हजार रुपैयाँको अचार बेचिरहेका छौं । हामी सासु र बुहारी बाहेक अचार डेलिभरी गर्न छोरा र श्रीमान् पनि खटिनुहुन्छ । घरमा सहयोगी दुई बहिनीहरूले पनि साथ दिन्छन् । पारिवारिक व्यवसाय हो । बैंक र अस्पतालमा काम गर्ने व्यक्ति भए पनि अचार डेलिभरी गर्न बाटो पर्दा म आफै पनि जान्छु । व्यवसायलाई ई–प्लेटफर्ममा लैजानेबारे सोच्नु भएको छैन ? वडामा दर्ता गरेर चलाएको व्यवसाय हो । गुणस्तरका लागि बबरमहलबाट अनुमति लिनुपर्छ । यसका लागि तीन/ चारपटक धाइसकेँ । तर गुणस्तर प्रमाणीकरणका लागि घरेलुमा दर्ता हुनुपर्ने र यसका लागि १० लाखको प्रोजेक्ट देखाउनुपर्ने रहेछ । म बैंकमा काम गरेको मान्छे । ५० लाख रुपैयाँकै प्रोजेक्ट बनाउन सक्छु । तर यो व्यवसाय मैले एक–दुई हजारबाट शुरू गरेको हो । मैले घरबाटै गर्ने हो । तर वडामा दर्ता भएकोलाई गुणस्तर मान्यता दिइँदैन । घरेलुमा दर्ता भए गुणस्तर मापन गर्न सम्बन्धित अधिकारी आउने र परीक्षणपछि गुणस्तरको प्रमाणपत्र दिने अफ्ठयारो प्रक्रियाका कारण व्यवसाय विस्तारबारे सोचेको छैन । यो प्रमाणपत्र नै नभएपछि मैले ई–प्लेटफर्म वा अन्य डेलिभरी मञ्चको प्रयोग गर्न असुरक्षित महसुस गरेको हुँ । थोरै परिमाणमा बनाउने भएपछि उत्पादन लागत पनि अलि धेरै छ । त्यसैले पनि अनलाइनमा नगएको हो । अचार व्यवसायमा प्रतिस्पर्धा कत्तिको छ ? व्यवसाय कस्तो छ ? नेपालमा अचार व्यवसाय सफलताको धेरै कथा सुन्न र देख्न पाइन्छ । ‘आमाको अचार’, ‘नवरस यसैका’ उदाहरण हुन् । नेपालमा स्वदेशी खपत मात्रै होइन, निर्यात गर्नेहरू पनि थुप्रै छन् । हामीलाई पनि निर्यातका लागि अफर आएको थियो । यहाँबाट उनीहरूले भनेको जति अचार बनाएर पठाएर उनीहरूको ब्रान्ड नाममा बेच्न भनेर केहीले प्रस्ताव गर्नुभएको पनि थियो । तर किलोका किलो अचार बनाएर पठाउने क्षमता अहिले हाम्रो व्यवसायको छैन । सासु बुहारी भनेर आफ्नो ब्रान्डका लागि अचार बनाएका हौं । सासु बुहारी पनि मिलेर बस्न, मिलेर केही गर्न सक्छन् भन्ने उदाहरण देखाउन गरिएको हो ।  करोड कमाउने सपना देख्नुअघि १ रुपैयाँ वा १ हजार कमाउनुपर्‍यो । त्यहींबाट बढ्दै जाने हो ।  काम र घरेलु जीवनबीचको सन्तुलन तथा समय व्यवस्थापनबारे महिला उद्यमीलाई के भन्न भन्नुहुन्छ ? कतिपय कुरा चुनौतीपूर्ण र गाह्रो पनि छ । कहिलेकाहीँ हामी आफ्नो जीवनलाई अलि जटिल बनाइरहेका हुन्छौं । तर लगाव, धैर्य र सकारात्मकता अर्थात् थ्री पीले मेरो जीवनमा निकै काम गरेको छ । अरूका लागि पनि यस्तै खालको केही कुरा हुन सक्छ । उद्यम गर्न चाहने महिला वा महिला उद्यमीलाई के कस्तो सुझाव दिनुहुन्छ ? मैले बैंकिङ क्षेत्रमा अरूलाई गरेको सहयोगका आधारमा भन्ने हो भने शुरूमा हामी करोडौंको सपना देख्छौं । देख्नु पनि पर्छ । तर करोड कमाउने सपना देख्नुअघि एक रुपैयाँ वा एक हजार (प्रतीक मात्र हो) कमाउनुपर्‍यो । त्यहीँबाट बढ्दै जाने हो । दोस्रो, आधारभूत हिसाबकिताब गर्न, रिपोर्ट बनाउन पनि सिक्नुपर्‍यो । नेपाल राष्ट्र« बैंकले नै सहुलियत दर अर्थात् ३ दशमलव ५ प्रतिशत ब्याजमा १५ लाखसम्मको कर्जा दिइरहेको छ । यसबारे धेरै महिलालाई थाहै छैन । उनीहरूले आफ्नो व्यवसायमा मुनाफा पनि कमाइरहेका छन् । तर बैंकलाई बुझाउने रिपोर्ट राम्ररी बनाउन आउँदैन । झर्को लाग्दो, झन्झटिलो भनेर छोडिदिन्छन् । तेस्रो चाहिँ बजार । गाउँघरमै पनि महिलामा उद्यमशीलताबारे सचेतना राम्रो छ । तालीम छ । तर एउटाले गरेको काम त्यहीँ अरू १० जनाले गरिरहेका हुन्छन् । व्यवसाय विविधीकरणको अभाव छ । यसमा विशिष्टीकरण गर्न आवश्यक छ । पर्याप्त तालीमका कारण उद्यमशीलता त बढेको छ । तर बजारको पहुँचमा भने समस्या र चुनौती छन् । सरोकारवाला निकायहरू राष्ट्र बैंक, वाणिज्य बैंक, लघुवित्त, सहकारीलगायत सबैले वित्तीय साक्षरतामा लगानी बढाउनुपर्‍यो ।  जिल्ला चेम्बर, लघुवित्त, सहकारीलगायत  विविध निकायले महिलालाई उद्यमशीलतामा सघाउन ले के गर्न सक्लान् ? १० वर्षअघि र अहिले महिलाको उद्यमशीलता र शीपमा धेरै परिवर्तन आइसकेको छ । तर यसमै सन्तुष्ट भएर बस्नु भने हुँदैन । यसका लागि शिक्षा (शीप तिखार्ने) र बजार चाहियो । प्रतिस्पर्धा चर्किंदै जान्छ । प्रतिस्पर्धी क्षमता विकास गराउनुपर्‍यो, कर्जा सहजीकरण गर्नुपर्‍यो । कागजपत्रमा बैंकले अड्को थाप्नु भएन, यसमा उनीहरूलाई सघाउनुपर्‍यो । कृषि क्षेत्रमा जुनिएर टेक्निकल असिस्टेन्ट (जेटीए) भने जस्तै बैंकमा पनि त्यही मोडालिटी अपनाउनुपर्‍यो । राष्ट्र  बैंकले महिला उद्यमीले विनाधितो १५ लाखसम्म कर्जा पाउने व्यवस्था गरेको छ । तर बैंकहरूले दिन मानिरहेका छैनन् भन्ने उद्यमीहरूका गुनासा छन् । यो समस्या कसरी समाधान गर्न सकिएला ?  राष्ट्र बैंकले व्यवस्था गरेपछि त दिनैपर्‍यो । बैंकहरूले दिई पनि रहेका छन् । तर अहिले तरलता अभावको समस्या छ । बैंकहरूमा मुद्दती निक्षेपमै १०–११ प्रतिशत ब्याजदर छ । महिलालाई ४ प्रतिशत ब्याजदरमा कर्जा दिन कठिन नै हुन्छ । यो समस्या समाधान गर्न राष्ट्र बैंकले बाँकीको ३–४ प्रतिशत बेहोरिदिनुपर्‍यो । घाटा हुने ४ प्रतिशतको ब्याजदर सीएसआर गतिविधि अन्तर्गत पनि बैंकहरूले मिनाहा गरिदिनेबारे विचार गरिदिन सक्छन् । यो त उदाहरण मात्रै हो । समग्रमा सरोकारवाला निकायहरू राष्ट्र बैंक, वाणिज्य बैंक, लघुवित्त, सहकारी लगायत सबैले वित्तीय साक्षरतामा लगानी बढाउनुपर्‍यो । (विस्तृत अन्तरवार्ताका लागि youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

वीरगञ्जमा पहिलो पटक महिला उद्यमी सम्मेलन हुँदै

कात्तिक ३, वीरगञ्ज  । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले आउँदो शुक्रवार युवा महिला उद्यमी सम्मेलन गर्ने भएको छ ।   बुधवार वीरगञ्जमा आयोजित पत्रकार सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले बताएको छ । मोफसलमै पहिलो पटक वीरगञ्जमा हुन गइरहेको महिला उद्यमी सम्मेलनमा १०० भन्दा बढी उद्यमीको सहभागिता रहने एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए ।  सम्मेलनबाट महिला उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास आयोजकको छ । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्षमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने सम्मेलन संयोजक मनीषा सुनुवारले बताइन् । ‘उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुने छन्,’ सुनुवारले भनिन् ।  जनसंख्यामा आधाभन्दा बढी अंश समेटेका महिलाको सशक्तीकरणविना सापेक्ष विकास सम्भव नभएकाले आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउन आवश्यक रहेको आयोजकको भनाइ छ ।  ‘महिला उद्यमशीलता प्रवद्र्धनका लागि सम्मेलन आयोजना हुन गइरहेको छ । सम्मेलनबाट उद्यमशीलतासँगै आइपर्ने चुनौतीको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ,’ अध्यक्ष अग्रवालले बताए ।  सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया हुने छन् ।  उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको अनुभव आदानप्रदानबाट उद्यम व्यवासयका क्रममा देखा पर्ने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने क्षमता विकास हुने आयोजकको भनाइ छ ।  सम्मेलनका सहभागीले उद्यमका लागि उपयोगी ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिका दृष्टिले लाभ लिन सक्ने छन् । उद्यमका क्षेत्रमा सफल महिला उद्यमीका संघर्ष र धैर्यताका अनुभव नयाँ उद्यमीका लागि उद्यमयात्राका क्रममा सन्दर्भ सामग्री बन्न सक्ने र स्टार्टअपका समस्या आगामी दिनमा चाल्नुपर्ने कदम र त्यसको प्रस्थानबिन्दु बन्न सक्ने बताइएको छ ।  सम्मेलनमा महिला उद्यमशीलताका समस्या र त्यसको निराकरणका उपायहरूमा छलफल गरी आएका निष्कर्षलाई सरोकारका पक्ष तथा निकायहरुमा पहल गरिने आयोजकको उद्देश्य छ । ‘यसका निम्ति रचनात्मक पहल गरिने पनि एनवाईईएफको विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा लेडिज सर्कल नेपाल (एलसीएन) को सहकार्य रहेको बताइएको छ ।