वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ । उहाँलाई चितवन आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।
मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । उहा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार हुनु हुन्थियो ।
आमा पुतली कुँवर र बुबा ललितजंग कुँवरका ११ सन्तानमध्ये कान्छा काजीबाको जन्म १९८४ साल बैशाख १० गते लमजुङ जिल्लाको बाङ्ग्रे गाउँमा भएको थियो । २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका खम्बासिंहका सात जना दाजु र तीन जना दिदीको मृत्यु भैसकेको छ ।
पुराना कम्युनिष्ट नेता खम्बासिंहलाई २०६८ साल असोज २८ गते चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको विभूषण समितिले खम्बासिंहलाई सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरिसकेको छ । यसबाहेक विभिन्न समयमा विभिन्न संघसंस्थाले उहाँको अभिनन्दन र सम्मान गरेका छन् ।