नाफा बुकको असर शेयर बजारमा : एकै दिन कुल बजार पूँजीकरण १ खर्ब ४१ अर्बले घट्यो

माघ १०, काठमाडौं । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । अघिल्लो कारोबार दिन आइतवारको तुलनामा बजार ३ दशमलव ४२ प्रतिशत अर्थात् ९९ दशमलव ८६ अंकले घटेर २ हजार ८२० दशमलव ६५ विन्दुमा झरेको हो ।  आइतवार पनि बजार १० दशमलव ८३ अंकले बजार घटेको थियो । सोमवार उच्च अंकले बजार घट्दा एकै दिन लगानीकर्ताहरुको सम्पत्तिको मूल्य रू. १ खर्ब ४१ अर्ब १२ करोडले घटेको छ । आइतवार रू. ४१ खर्ब २७ अर्ब २३ करोड ३२ लाख रहेको कुल बजार पूँजीकरण सोमवार रू. ३९ खर्ब ८६ अर्ब ११ करोड २८ लाखमा झरेको हो । सोमवार विकास बैंक, जलविदुत र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् । यो दिन विकास बैंक समूहको परिसूचक ४ दशमलव ५० प्रतिशत, जलविद्युतको ४ दशमलव ५० प्रतिशत र वित्त समूहको ४ दशमलव ३० प्रतिशत घटेको हो ।  सोमवार बजार घटेपनि कारोबार रकम भने बढेको छ । आइतवार रू. ७ अर्ब ३ करोड ५ लाख बराबरको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ८ अर्ब ८८ करोड ५१ लाख बराबरको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर कारोबार भएको हो ।  नेपालको इतिहासमा भदौ २ गते नेप्से परिसूचक ३ हजार १९८ दशमलव ६० को विन्दुमा पुगेर बन्द भएको थियो । त्यस पछि घट्न थालेको नेप्से परिसूचक मंसिर २७ गते २ हजार २५९ दशमलव ५१ विन्दुसम्म झरेको थियो । त्यसपछि बढ्न थालेको बजार माघ ६ गते बिहीवार २ हजार ९३१ दशमलव ३४ विन्दुमा बन्द भएको थियो । त्यसपछिको दुई कारोबार दिन बजार निरन्तर घटेको हो । करीब दुई महीनामा बजार ६७१ दशमलव ८३ अंकले बजार बढेको छ ।  छोटो समयमै उच्च अंकले बढेको बजारबाट नाफा बुक गर्नेहरुले सोमवारको बजारमा असर परेको टिप्पणी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले गरेका छन् । बजार घट्नुपर्ने कुनै कारण नदेखेका उनले यो बीचमा उच्च करेक्सन आवश्यक थियो त्यो सोमवार भएको छ अब फेरि नदोहोरिने विश्वाससमेत व्यक्त गरे ।  बजार उकालो लाग्दा जुन स्थिति थियो हालको स्थितिमा पनि कुनै परिवर्तन नभएकाले नाफा बुक गर्नेहरु भन्दा बाहेक बजार घट्नुको अन्य कारण नभएको ढकाल बताउँछन् ।  बजारलाई थप गतिका लागि आगामी चुनाबले पनि सकारात्मक माहोल बनाईरहेका बेला त्यसको मिति तय नहुनु र चुनावी प्रकृया पछि धकेलिने सम्भावनाका कारण पनि नाफा बुक गर्नेहरु सक्रिय भएको उनी बताउँछन् ।