स्वास्थ्य सामग्रीसहित अनुगमनमा निस्कियो प्रदेश स्तरीय टोली

रुकुम । कर्णाली प्रदेश स्तरीय अनुमगन टोली स्वास्थ्य सामग्रीसहित अनुगमनका लागि रुकुम पश्चिम पुगेको छ । टोलीले जिल्लाका ६ वटै स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन वार्ड, जिल्ला अस्पताल र चौरजहारी अस्पतालको अनुगमन गरेको हो । टोलीले ९ हजार ७ सय ७५ थान एन्टिजेन किट र १२ वटा अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री विमला केसी नेतृत्वको टोलीमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्का सहभागी छन् । टोलीले विभिन्न प्रकारका औषधी, मास्क, झुल र कम्बललगायत सामग्री वितरण गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । टोलीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा जिल्लाको प्रयास उत्कृष्ट रहेको बताएको उनको भनाइ छ । अनुगमनका क्रममा जिल्लामा महामारी नियन्त्रणमा गरिएको प्रयास र व्यवस्थापन राम्रो भएको टोलीको निष्कर्ष छ । कर्णाली प्रदेशमा रुकुम पश्चिममा मृत्यु दर तेस्रोमा छ । पहिलो सुर्खेत, दोस्रो सल्यान र तेस्रोमा रुकुम पश्चिम छ । हालसम्म जिल्ला अस्पतालमा उपचारको क्रममा २१ जनाको मृत्यु भएको छ । जिल्लाभरि २४ जनाले ज्यान गुमाएका छन् । ग्रामीण क्षेत्रमा कोरोनाका लक्षण देखिँदा पनि परीक्षण नगर्ने समस्या रहेको जिल्ला अस्पतालका डा. राजकुमार भुजेलले जानकारी दिए । ‘अरू नै औषधी सेवन गरेर स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै अस्पताल आउने चलन छ,’ उनले भने, ‘अधिकांश बिरामी निमोनियाले ग्रस्त भएपछि र अक्सिजनको मात्रा घटेपछि मात्र अस्पताल आउने गरेका छन् ।’ पूर्वसामाजिक विकासमन्त्री केसीले रुकुम पश्चिममा सबैको सहकार्यमा राम्रो व्यवस्थापनका साथ कोभिड रोकथाम, नियन्त्रण र उपचार भइरहेको बताइन् ।