त्यो सम्पन्न अमेरिका, यो विपन्न नेपाल  : अमेरिकामा पनि छन् प्रशस्त मगन्ते

संयुक्त राज्य अमेरिका (यूएसए) विश्वको एक ठूलो, शक्तिशाली, विकसित र धनी राष्ट्र हो । करीब वर्षको एकपटक म यूएसएको भ्रमण गर्ने गर्छु । भ्रमणको उद्देश्य विशेषगरेर परिवारसँगको भेटघाटका लागि हुन्छ । यसपालिको भ्रमणमा मेरो बसाइ बोस्टनमा रह्यो ।  मेरो नातिको नाम आदि हो । म उसलाई विद्यालय लैजाने र ल्याउने गर्छु । विद्यालयको नजिकै कार मर्मत गर्ने व्यापारिक केन्द्र छ । उक्त केन्द्रमा धेरै मान्छे कार्यरत छन् । तीमध्ये एकजना कामदार बिहान बेलुका आदिलाई भेट्न चाहन्छ । त्यस्तैगरेर आदि पनि उसलाई भेट्न चाहन्छ । आदि उसलाई बिग जर्ज भन्ने गर्छ । जब आदिले उसलाई देख्छ मेरो साथ छोडेर उसलाई भेट्न दौडेर पुग्छ । दुवै अत्यन्त खुशी हुन्छन् । एकअर्काले फिस्ट बम्प गरेर हात मिलाउँछन् । विद्यालयबाट घर फर्कंदा आदि उसलाई भेट्न अत्यन्त उत्साहित हुन्छ । यसको कारण उसले आदिलाई क्यान्डी वा आइसक्रिम दिने गर्छ ।  तर, यो संयोग मात्र हो । ऊ सधंै आफ्नो काममा व्यस्त हुन्छ । जे होस् आदि र बिग जर्ज एकअर्काका मिल्ने साथीका रूपमा परिचित छन् । कहिलेकाहीँ बाटोमा जमैका प्लेनमा अवस्थित बोस्टन हाइ स्कूलअगाडिको खेल मैदानमा खेल्ने गर्छ । खेल मैदानमा अरू बच्चाबच्ची पनि हुन्छन् । त्यसैले आदि कहिलेकाहीँ त्यहाँ गएर खेल्न चाहन्छ । जे चाहन्छ, उसको इच्छा पुर्‍याउनु मेरो कर्तव्य हो । यसै सिलसिलामा अमेरिकी समाजको नजिकबाट अध्ययन गर्नेभन्दा पनि बाटोमा आउँदा जाँदाका दृश्यहरूको अवलोकन गर्ने मौका पाएँ जसको केही अंश तलका हरफमा प्रस्तुत गर्ने जमर्को गरेको छु । धनी मुलुकहरूमा धनी र गरीबको संसार नै फरक हुँदो रहेछ । गरीबहरू मगन्ते हुँदा रहेछन् भने धनीहरूको गल्फ क्लब, आफ्नै हवाईजहाज, याच आदि हुनेरहेछन् । सीमित आम्दानीमा निर्भर रहने मानिसहरूका लागि भने यी सबै सपना मात्र हुन् । खानकै लागि रेन्टुराँमा माग्न जानेको संख्या पनि अमेरिकामा प्रशस्त रहेछ ।  नातिको विद्यालयपछाडि एउटा चारओटा सटर भएको घर देखिन्छ । मानिसहरू कार सवारमा कुकुर लिएर आउने जाने गरेको दैनिक रूपले देखिरहन्थेँ । किन कुकुर त्यहाँ ल्याइन्छ लगिन्छ के हो त्यसको उद्देश्यको आदिबारेमा म अनभिज्ञ थिएँ । म जस्तै बच्चा विद्यालयमा लैजाने ल्याउने एक जना भलाद्मीसँग मैले प्रश्न गरेँ, उनले जवाफ दिए, यो घरमा कुकुरको रेखदेख गरिन्छ । अनि मलाई जानकारी भयो मानिसहरू काममा जानका लागि कुकुर रेखदेखका लागि पैसा तिरेर त्यहाँ ल्याउने लैजाने गर्दा रहेछन् । कुकुर हेर्नका लागि यो भवन भाडामा लिइएको रहेछ । कारमा कुकुर सवार गरेर ल्याउने मानिसहरूका लागि पर्याप्त पार्किङ नभएका कारण उनीहरू पालो पर्खेर बसिरहेका हुन्छन् । उनीहरू कुकुर हेर्ने मानिसलाई जिम्मा लगाउँछन् र आआफ्नो बाटो लाग्छन् । त्यस्तैगरेर तिनै मानिस बेलुका कुकुर लिन आउने गर्छन् । विद्यालयबाट नाति लिएर घर फर्कंदा बाटोको दायाँबायाँमा रहेको खाली चौरमा कुकुर लिएर वरिपरि बस्तीका धनी मानिसहरू कुकुरसँग भकुन्डो खेलेर रमाइरहेका हुन्छन् । अमेरिकाका सापेक्षित धनी मानिसहरूको यो एक प्रकारको जीवनशैली रहेछ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । अझ धनाढ्य परिवार वा मानिसहरूको साथमा कुकुर त नहुने कुरै भएन । उनीहरूको जीवनशैली र रहनसहनका बारेमा कल्पनासम्म पनि गर्न सकिँदैन । नेपालमा पनि कुकुरका शौखिनहरू छन् तर यसरी कुकुरको हेरचाह गर्ने प्रवृत्ति भने छैन । बूढो भएपछि छाडिदिने र सार्वजनिक ठाउँमा कुकुरलाई डुलाउने बानी नेपालमा छ ।  धनी मुलुकहरूमा धनी र गरीबको संसार नै फरक हुँदो रहेछ । गरीबहरू मगन्ते हुँदा रहेछन् भने धनीहरूको गल्फ क्लब हुँदो रहेछ जहाँ धनाढ्यहरू खेल्ने गर्छन् । धनीहरूको आफ्नै हवाईजहाज, याच आदि छन् जसबाट उनीहरू यात्रा गरिरहेका हुन्छन् । तर, सीमित आम्दानीमा निर्भर रहने मानिसहरूका लागि भने यी सबै सपना मात्र हुन् । खानकै लागि रेन्टुराँमा माग्न जानेको संख्या पनि अमेरिकामा प्रशस्त रहेछ ।  नेपालजस्तो निर्धन मुलुकमा मानिसहरूको जीविकोपार्जनका लागि अवसरहरू सीमित हुन्छन् । मानिसहरूले गरिखाने ठाउँहरू जस्तै जग्गाजमीन, रोजगार आदिको अभाव हुन्छ । अर्थात् धेरै मानिस बेरोजगार हुन्छन् । फलस्वरूप मानिसहरूको जीविकोपार्जन मागेर हुने गर्छ । अधिकांश निर्धन मुलुकहरूमा गरीबी हुने हुनाले केही मानिस मागेर निर्वाह गरिरहेका हुन्छन् । सडकका दायाँबायाँका किनारहरू, सडक क्रसिङका ठाउँहरू, धार्मिक स्थलहरूमा गरीब र असहाय मानिसहरूको जीविकोपार्जन मागेर नै हुने गर्छ । यसो हुनुको कारण सबै मानिसहरूका लागि सामाजिक सुरक्षा भत्ता आदिको अभाव रहेको हुन्छ । तर, विकसित मुलुकहरूमा सामाजिक सुरक्षामा अधिकांश नागरिकलाई समेट्ने गरी प्रवाह गरिएको हुन्छ । तैपनि यसले सबै नागरिकलाई नसमेट्ने रहेछ क्यार । समेट्ने भए त सडकमा मगन्तेहरू नदेखिनुपर्ने हो ।  मेरो दैनिकीको क्रममा फुटपाथको कुनै एक कुनामा एक जना वृद्धा उभिएकी थिइन् । उनको नजिकबाट जाने आउने मानिसहरूको लावालस्कर नै थियो । सबैसँग पैसा मागिरहेकी थिइन् । जब म उनको नजिक पुगें उनले मसँग पनि एक कप कफी खानका लागि पैसा मागेकी थिइन् । तर, मसँग पैसा थिएन । अर्को कुनै दिन म केही आवश्यक सामान किनमेल गर्न जमइका प्लेनबाट रक्सबरीतर्फ गाडीमा गइरहेको थिएँ । जमइका प्लेन र रक्सबरीको बीचमा धेरै चौबाटा छन् । यसमध्ये कुनै एउटा चौबाटोमा म चढेको सवारीलगायत सबै त्यसतर्फ जाने सवारीसाधन रोकिएका थिए । बाटोमा ट्राफिक जाम थियो । दुईतीन जना काम गर्ने उमेरका मानिस प्रत्येक सवारीसाधनका शिशाका झ्याल–झ्यालबाट पैसा मागिरहेका थिए ।  कुनै एउटा कामको सिलसिलामा म क्यालिफोर्नियाको लस एन्जलस पुगेको थिएँ । त्यहाँ पनि घरविहीन मानिसहरू पर्याप्त हुँदा रहेछन् । यस प्रकारका मानिसहरूको छहारी आकाश नै रहेछ । मानिसहरू फुटपाथका रूखका फेदहरूमा खाने, बस्ने र सुत्ने दृश्यहरू देख्ने मौका पाएँ । सान्तमोनिकाको कुनै एउटा रूखको फेदमा खाना पकाउने, खाने र सुत्ने मानिसहरूको एउटा समूह नै देख्न सकिन्छ । यो अमेरिकाको एउटा शहरको मात्र दृश्य होइन । यस प्रकारका दृश्यहरू जुनसुकै शहरहरूमा पाउन वा देख्न सकिन्छ । यसको तात्पर्य के हो भने विश्वको धनाढ्य देश जहाँ सामाजिक सुरक्षाको व्यवस्था छ त्यहाँ पनि माग्ने र घरबारविहीन मानिसहरू पर्याप्त मात्रामा हुँदा रहेछन् । यस प्रकारका मानिसहरू अमेरिकामा हुन्छन् भन्ने कुरा मेरो मस्तिष्कमा थिएन । कल्पना थियो, अमेरिका सबैका लागि स्वर्ग हो । सबै मानिस धनी र घरबारयुक्त हुन्छन् भन्ने कल्पना झूटो सबित हुन पुग्यो । तर, कर्ममा दत्तचित्त भएर लागेकाहरू भने प्राय: सबै धनी नै हुने रहेछन् ।  लेखक अर्थशास्त्री हुन् ।