काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सहुलियतपूर्ण कर्जा प्रवाहमा उच्च वृद्धि देखिएको छ । उक्त प्रदेशमा गत आवमा २०७७/७८ यस्तो कर्जाको वृद्धि २८६ प्रतिशतले भएको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको हो ।
केन्द्रीय बैंकका अनुसार गत आवमा सुदूरपश्चिममा सहुलियतपूर्ण कर्जा ७ अर्ब ५३ करोड प्रवाह भएको छ । अघिल्लो आव २०७६÷७७ मा भने उक्त प्रदेशमा १ अर्ब ९५ करोड यस्तो कर्जा प्रवाह भएको थियो ।
सुदूरपश्चिमका ९ जिल्लामा उक्त परिमाणमा सहुलियतपूर्ण कर्जा परिचालन भएको हो । समीक्षा अवधिमा दार्चुलामा १३ करोड ६० लाख, बैतडीमा १३ करोड ४९ लाख, डँडेलधुरामा २७ करोड कर्जा प्रवाह भएको छ । यस्तै, कञ्चनपुरमा १ अर्ब ६४ करोड ३० लाख, बझाङमा १५ करोड २० लाख, बाजुरामा ३ करोड ६० लाख, डोटीमा २५ करोड ९० लाख, अछाममा ९ करोड १० लाख र कैलालीमा अर्ब ८० करोड ९० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकले सुदूरपश्चिममा सहुलियतपूर्ण कर्जा प्रवाह सन्तोषजनक देखिएको बताएको छ । सर्वसाधारण यसबारे जानकार हुनु, कर्जाको शीर्षकमा भएको वृद्धि लगायत कारण सहुलियतपूर्ण कर्जा प्रवाह बढेको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।